मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – पछिल्लो समय विश्वभर समस्याको रुपमा देखा परेका मृगौला फेलका बिरामी नेपालमा पनि हरेक वर्ष बढ्दै गएका छन् । नेपालमा वार्षिक करिव ३ हजार जनाको मृगौला फेल हुने गरेको चिकित्सकले दावी गर्दै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेको स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार अहिलेसम्म ४ सय ९० जनाको मृगौलामा प्रत्यारोप भइसकेको छ । मृगौला प्रत्यारोपण गरेका बिरामी मध्ये २ सय १५ जनाले भारतमा प्रत्यारोपण गरेका छन् ।

यस मध्ये २ सय ७५ जनाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रबाट मृगौला प्रत्यारोपण गरेका छन् । अहिले वीर अस्पतालमा मृगौला प्रत्यारोपण सेवा स्थगित छ । मृगौला फेल भएका बिरामीका लागि २ वटा विकल्प भनेको स्वस्थ व्यक्तिको मृगौला प्रत्यारोपण गर्ने र जीवनभर डायलासिस गर्ने हो । मृगौला फेल भएका बिरामीका लागि मुलुकभर विभिन्न १९ ठाउँमा डायलासिस केन्द्र सञ्चालनमा छन । त्यहाँ करिब ८ सय बिरामीले सेवा लिइरहेको विभागको अनुमान छ । सबैभन्दा धेरै डायलासिस भक्तपुरमा रहेकेा मानव अंग प्रत्यारापण केन्द्रमा हुन्छ ।

यहाँ दैनिक करिव साढे २ सयले सेवा लिने गरेका छन् । त्यस्तै किड्नी सेन्टर वनस्थलीले दैनिक १ सय जनालाई सेवा दिइरहेको छ । उपत्यकाभित्र १४ र उपत्यका बाहिर ५ वटा डायलासिस सेवा केन्द्र छन् । वार्षिक ३० लाख जना नेपालीलाई कुनै न कुनै रुपमा मृगौला सम्बन्धी रोग लाग्ने गरेको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । उच्च रक्तचाप र मधुमेहबाट ८० प्रतिशत मृगौला फेल हुने भएकाले यसलाई सँधै नियन्त्रणमा राख्नुपर्ने श्रेष्ठको सुझाव छ । मृगौला फेल वंशानुगत रोग, अनावश्यक औषधि सेवन, दुर्घटना, कडा रंग भएका खाद्य पदार्थ आदिबाट पनि हुन सक्छ ।

मृगौला फेल ठूलो समस्याको रुपमा देखा परेकाले हरेक वर्ष स्वास्थ्य परीक्षण गर्नु उत्तम हुने छ । मृगौला ८० प्रतिशत काम नलाग्ने भएपछि मात्र थाहा हुने उनको भनाई छ । सरकारले मृगौला प्रत्यारोपण गरेका बिरामीलाई औषधि खान १ लाख रुपैयाँ दिंदै आएको छ । त्यस्तै मृगौला फेल भएका बिरामीलाई प्रत्यारोपण गर्न २ लाख रुपैयाँ दिने व्यवस्था छ । मृगौला फेल भएका बिरामीले डायलासिस गर्न चाहे एकमुष्ट २ लाख ६० हजार रुपैयाँ पाउँछन् । डायलासिस गर्न निजी तथा सरकारी अस्पतालले २५ सयदेखि ७ हजार रुपैयाँसम्म लिने गरेको छ । ***

तपाईको प्रतिक्रिया