सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – मोदीको जनकपुर भ्रमणको व्यवस्थापनको जिम्मा पाएका मन्त्री विमलेन्द्र निधिले उक्त भ्रमण रद्द भएको भन्दै विज्ञप्ति प्रकाशित गरेपछि नेपाल सरकारकै तर्फबाट परराष्ट्र मन्त्रीले उनको भनाई खण्डन गरेका छन्।

त्यस्तै भारतीय राजदूतले पनि भ्रमण रद्द भएको कुनै जानकारी प्राप्त नभएको जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सरकारले जानकी मन्दिर परिसरमा सम्बोधनको कार्यक्रम तय गरेको विरुद्ध विपक्षी दलका स्थानिय नेताहरुले विरोध गरेपछि चर्किएको तनावका माझ हिजो एक्कासी आएको मन्त्री निधिको वक्तव्यले दिल्लीदेखि काठमाडौंसम्म तरंग ल्याइदिएको छ।

उनी जनकपुर आउने हुन् वा होइनन् ? आएभने सम्बोधन कहाँ गर्ने हुन् ? भन्ने जस्ता प्रश्नहरु अनुत्तरित रहेका बेला आज दुवै देशका परराष्ट्र अधिकारीहरुले चाहीं अहिलेसम्म उनको भ्रमण कार्यक्रममा कुनै फेरबदल भएको जानकारी नआएको बताएका छन्।
‘हामी सबै तयारीमा छौं। उहाँ आउँदाखेरि स्वागत गर्ने देखि लिएर सबै व्यवस्था भएका छन्। सो भ्रमण रद्द भएकोबारे आधिकारिक जानकारी हामीलाई आएको छैन। सुनेकै आधारमा यस्ता कुरालाई आधिकारिक मान्नपनि सकिन्न,” परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले भने।

यसअघि शुक्रबार बिहान काठमाण्डौंमा भएको एक छुट्टै कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै भारतीय राजदूत रञ्जीत रे ले पनि मोदीको जनकपुर भ्रमण रद्द भएको कुनै जानकारी नआएको जनाए।
‘तपाईंलाई बताउन मसंग यतिखेर कुनै आधिकारिक सूचना छैन। कार्यक्रमका विस्तृत खाका टुंगो लाग्ने वित्तिकै त्यो सार्वजनिक गरिनेछ। म फेरि पनि भन्छु अहिलेसम्म प्रधानमन्त्रीको औपचारिक कार्यक्रम आइसकेको छैन। आउने वित्तिकै त्यो सार्वजनिक गरिनेछ,’ –  राजदूत रे ले बताए।
हामी सबै तयारीमा छौं। उहाँ आउँदाखेरि स्वागत गर्ने देखि लिएर सबै व्यवस्था भएका छन्। सो भ्रमण रद्द भएकोबारे आधिकारिक जानकारी हामीलाई आएको छैन।

अनौपचारिक रुपमा उठेका कुरालाई आधिकारिक मान्यता दिए जस्तो गरेर मन्त्री निधिले वक्तव्य जारी गरेको भन्दै परराष्ट्र मन्त्री पाण्डेले आफ्नै क्याबिनेट सहयोगीप्रति चर्को असन्तुष्टि प्रकट गरेका छन्।

‘कतै कुनै प्रशासनिक तहमा केही कुरा भएको हुनसक्छ। तर विदेश मन्त्रालयको जे भनाई हुन्छ त्यही आधिकारिक हुन्छ। हिजो वक्तव्य आएपछि मैलेपनि निधिजीसंग सम्पर्क गरेर बुझ्ने प्रयास गरें। उहाँले जनकपुरको कुरा मैले बुझ्न बाँकी नै छ भन्नुभयो। त्यसोभए म बुझ्दिन भनेर मैले भन्दिएं’ – मन्त्री पाण्डेको भनाई थियो।

नेपालमा मोदीको जनकपुर भ्रमणलाई लिएर थरी थरी चर्चा चलिरहँदा दिल्लीस्थित भारतीय विदेश मन्त्रालयबाट यसबारे प्रष्ट जानकारी अझै नआउनुले नेपालमा शंका उपशंका बढ्दै गएको देखिएको छ। अझ कतिपयले यसलाई रहस्यपूर्णरुपमा हेरिरहेका पाइन्छ । ***

तपाईको प्रतिक्रिया