कुरा त्यस्तै २०४८, ४९ साल तिरको हो । पाल्पा बसपार्कमा मेरो बुवा र मामा मिलेर शर्मा होटल चलाउनुहुन्थ्यो । त्यतिबेला म कक्षा २ मा पढ्थे । मेरो दाइले पांच कक्षामा । तिनताक विद्यालयहरुमा मंसिरमा परीक्षा भएर रिजल्टसम्म एक डेढ महिना बिदा हुन्थ्यो । त्यहि बिदामा दाइ र म पाल्पा गयौं । पाल्पा जांदा माझघर माईला बा र दाजु करुणाकर संगै गएका थियौ । गुल्मी आंपचौरको खर्बाङबाट पाल्पाको गन्तव्यलाई निशाना बनाएर यात्रा शुरु भयो । बिचबिचमा भेटिने सबै बजार कति रमाईला ।
म सानो भएर होला खैरेनीदेखि हिड्नै सकिन । सुक्क सुक्क गर्दै जेनतेन लतारिएको थिए । माईला बा’ले थाहा पाईहाल्नुभो । बिचरा उहां कति मोटो हुनुहुन्थ्यो ।आसाम हिड्नु भएकोले झोला पनि थियो । तर पनि मलाई डेढ्दुइ घण्टा त्यहि झोलामाथि राखेर बोक्नुभो । उहाँले लगाएको त्यो गुण भुल्न पनि सकेको छैन, तिर्न पनि सकेको छैन । उहां मेरो दिलमा सँधै आदरणीय बनेर रहिरहनु भएको छ ।
घरदेखि पाल्पासम्म जताततै अनौठो मात्र लाग्यो । गण्डकी नदी देखेर उडेको सातो रिणीको पक्की पुल देखेपछि बल्ल अलिकति शान्त भएको थियो । डेढ दिन लगाएर रिडी पुग्यौं । रिडीबाट पाल्पाको बस चढेर जानुपर्ने रैछ । अब हामी हिड्न नपर्ने भयो । बसमा चढेर बसिदिए उसैले बोकेर लैजाने रहेछ । आहा क्या मजा, कता कता मनले पत्याएन, त्यस्तो पनि हुन्छ र ? छोटो उमेरको पहिलो अनुभव बसमा खुट्टा राख्दा हर्षको सिमा रहेन ।
झ्यालतिर को बस्ने भन्नेमा करुणाकर दाइ र भानु दाइको बिबाद भयो । पछि माईला बाले पछिल्लो सिटमा बसेको मान्छेसंग कुरा मिलाएर दुवैलाई झयालतिर बस्ने ब्यवस्था गरिदिनु भएपछि विबाद साम्य भएको थियो । उनिहरु झयालबाट बाहिरका देखिने दृश्य हेरेर रमाईरहेका थिए । म भने माईलाबाको काखमा कति बेला निदाएछु पत्तै पाईन । दाइहरु भने भैरवथान भैरवथान भन्दै शिसाबाट मुन्टो बाहिर निकालेर जोड जोडले कराउँदै थिए । खलासी दाइले मुन्टोभित्र भनेर जोडले चिच्याउँदा पो बल्ल ब्युँझे । मैले पनि भैरव बाबालाई हेर्ने इच्छा गरे तर बस धेरै वर आईसकेको रहेछ । इच्छा अधूरै रह्यो । पाल्पा पुगेपछि टुंडिखेलका नबोल्ने राजाले साह्रै मन लोभ्याए । पाउरोटी, समोसा खान कुनै आइतवार कुर्नुपरेन । चना, दुनोट र चाउचाउका नास्ता हुन थाले ।
खानामा सँधै मासु । पढ्नु नपर्ने होमवर्क पनि गर्न नपर्ने । त्यहां भन्दा मजा अरु मजा पनि हुन्छ र ? होटलको छतबाट पाल्पा जिल्ला कारागार देखिन्थ्यो । कैदीहरु भलिबल खेलेको यताउता गरेको देखिन्थ्यो । साह्रै दया जाग्थ्यो । दुई भाइको एउटा टिम बन्यो । सबैकाम टिम मिलेर गर्दा सजिलो हुन्थ्यो । घुम्दा होस या चोर्दा वा अर्थोक उपद्रो गर्दा । बस पार्कका चटपटे र वदामवला भैया, छेवेको फलफुल पसल हाम्रो पहिलो निशानीमा पर्ने गर्थे । साँझमा लाईन गएको मौकामा दायां बायां हात मार्ने आदत बस्यो । आँट गर्न सके सबथोक थियो । हामी पनि के कम, सबैभन्दा क्षति बदामवला भैयालाई पुर्यायौं । तर फलफुलवाला भैयाले एकदिन जुल्फीमा समाएर दुई-तीन पटक जुरुक्क उचाल्यो । अनि च्चाप्प समायो र बालाई लगेर बुझाईदियो । बाले पनि रामधुलाई गर्नुभो । पैसा पनि चट भयो । अब भने नयाँ कामको खोजीमा थियौं दुवैभाइ । दुइ-तीन दिन टक्सारटोल, श्रीनगर डांडा भौतारियौ कत्ति मजा आएन । सहरां त बिहानबेलुका गाडि चढ्न पाईयोस र पो बल्ल हुन्छ । हो हामी त्यस्तै कामको खोजीमा थियौं ।
नखोजीकन पाउरोटी मिल्ने सहरमा खोजे के पाईन्न भन्ने मेरो मान्यता थियो, काम मिल्यो । भुसलडाँडा र बसपार्क गर्ने थोत्रो जिप ४,५ जनाले धक्का मारेपछि बल्ल स्टार्ट हुन्थ्यो । त्यसैलाई धक्का मार्न थाल्यौ, अनि भुसलडाँडा र बसपार्क दिनको दश पटक । विना पैसाको, यो भन्दा मजा अरु के मा हुन्छ ? तर भनेजस्तो भने भएन । जागिर खासै फापेन । एक दिन धक्का मारेर हामी चढ्न खोज्दा ड्राईभरले जिप सुईकाईहाल्यो । तर पनि म पछि पछि गईरहेको थिँए खलासीले मैतिर थुकिदियो । मलाई लाटो रिस उठ्यो । केहि उछारपाटो पाईन रुँदै गएर बालाई कुरा लगाईदिए । अर्कोंदिन खलासी चटपटे खाँदैथियो । चटपटेसंगै खलासीले बाको एक चड्कन पनि खायो । चटपटे उछिट्टएिर भुंइभरि भयो । अब हामीले जिपलाई धक्का नमारिकन चढ्न पाईने भयो ।
किन हो किन त्यो घटनापछि पेशा फेर्ने मन भयो । पेरि फाल्टु भईयो । केहि दिन हाम्रो पेशै भएन, पुरै बेरोजगार ।मनभित्रैबाट उन्मादले जोश आउँथ्यो । बेकम्मा हुँदा केही सीप लागेन । दुवै भाइले भन्यौ काम त गर्नुपर्यो क्यारे, त्यही बेकम्मा समयमा आँपचौरका राजुदाइले एक दुइवटा फिल्म देखाउन लैजानु भो । कुन फिल्म हो, कुरा के हो मैले केहि पत्तो पाईन । म त हलभित्र मस्त निदाउँदो रैछु । दाइलाई यो पेशा छोड्न मन थिएन । तर मैले साथ दिईन । त्यो पनि खासै नजम्ने देखेपछि अव नयाँ पेशाको खोजीमा थियौं दुईभाइ ।
सहर न हो पेसा हात लाईहाल्यो । नम्बर नभएर खाली बसेका बसहरु नुहाउन धुवाउन भनेर टाढा टाढा आउँथे । कोही कण्डक्टरहरु गाडि चलाउन सिक्नलाई पाल्पाको दोभानसम्म पुर्याउँथे । जुन सिटमा बसे पनि हुने । ति सबै बसवालाले होटल मालिकका छोरा हुन् भन्ने चिनेका थिए । हरेक दिन एउटा न एउटा बस हुन्थे । कहिले कता, कहिले कता बसमा फ़्री को सफर हुनुपर्ने मजा भयो । गाउँका अरु केटाहरुको याद आउँदा कठै बिचरा भन्ने हुन्थो । हुन पनि त हो के रे गाउँमा के को बस चढ्नु त्यो पनि फ़्रि मा, कतिवेला यि सबकुरा गाउँमा पुगेर बताउनुजस्तो खुल्दुली हुन्थ्यो ।
दिन सँधै एकैनासे रहेनन् । त्यो दिन हामीहरु बिहानको खाना पनि खाएका थिएनौ । बसपार्कबाट पेट्रोल पम्पतिर पुगेपछि बस अकस्मात मोडियो । ड्राईभर पनि नचिनेको परेछ । पुलिस चौकीको सामुन्ने शर्मा होटल थियो । हामी त्यहि ओर्लन खोज्यौं । ड्राईभरले रोकेन, बसपार्कवाट बस उकालो लाग्यो । बसको स्पिड झन झन बढ्न थाल्यो । बस रोक्नका लागि गरिएको अनुरोध केहीगरे पनि ड्राईभरले सुनिदिएन । दाइले ड्राईभरका दुवै हात समाई दिनुभो तर पनि केही सिप लागेन । दाइले उसको कपाल बेस्कनी लुछ्नु भो अहँ रोक्ने छाँटकाँट गरेन । हामी अपहरणमा पर्यौं भन्ने पक्का भयो । दाइले उसलाई धेरै हरकत गर्नु भो, मुन्टो परक्क बटारिदिंदा पनि उ हलचल भएन । बस झनझन कुदायो । म त आत्तिएर होस हवास गुमाएँ । दाइले मलाई पछाडिको ढोकामा लगेर हामफाल्न भन्नुभयो । अरु विकल्प पनि थिएन । म एक्लै हाम्फाल्न आँट गर्न सकिनँ । दाइलाई आफु हाम्फाले भाइ हाम्फाल्न सक्दैन भन्ने चिन्ता थियो । आखिरीमा म हाम नफाली भएन गुडिरहेको बसबाट हामफालें । भगबानको कृपाले टायर मुनि परिनछु । जोरसित पछारिएँ । उठ्न पनि सकिनँ । जेनतेन उठेर हेर्दा बस वरिपरि छैन । मेरो दाई………. बेस्मारी चिच्याए, मन यसरी पोल्यो कि । म रुँदै र चिच्याउँदै मोटर बाटैबाटो दगुर्न थाले । त्यस्तै दश मिनेट दुगुरेको हुँदो हुँ उताबाट दाइ पनि रुँदै आउनुभएको थियो । दाइ त झन हिलोमा पछारिनुभएछ । दुवैभाइ हेराहेर गरेर खुब रोयौं । निसास्सिएको मनलाई मिलनले केहि शितल बनायो । त्यो बेला हामी दुइभाइ बीच भएको मिलन सुख मेरो जीवनकै अविस्मरणीय सुख बनेर रहीरह्यो । हामीहरु करिव पन्ध्रमिनेट हिडेपछि बतासे डांडा आईपुग्यौ । हालको नानीमैया मेमोरियल रहेको ठाउँबाट सिधै तल झरेपछि पानीको धारा छ । त्यति बेलाको पाल्पामा मैले बग्ने पानी त्यहिँ देखेको हो । पानीले बाहिरी हिलो र धुलो पखाले पनि भित्रि चोट र पीडा पखालिएन । ठोक्किएका कुहिना, घुंडो र टाउको तीन दिनसम्म दुख्यो । अपहरणमा परेर निसास्सिएको बाल मन र बाल मस्तिष्कमा परेको गहिरो चोट अहिलेसम्म ज्यूँको त्यूँ छ । सम्झिदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । घटनाको धेरैपछि त्यसरी अपहरण गरिएका बालबालिका भैरवलाई बली चढाईन्छ भनेको सुन्दा पुनर्जन्म भएको आभास हुने गर्दछ ।
बिदा पनि सकियो । पेशा गर्ने रहर पनि मरेर गयो । निराश भएर गाउँ फर्क्यौ । कसैले पाल्पाको बारेमा केहि नसोधोस जस्तो हुन्थ्यो । दाइले धेरै साथीहरुलाई यो घटना सुनाउनुभएको छ । त्यो बेलामा म डरले थुरथुर हुन्थे । अहिले पनि मलाई त्यो बेलाको घटना सम्झिदा तर्साउने गर्दछ। ***