बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – थकाली सेवा समिति जापानले मार्च ३० तारिख आइतवारका दिन थकाली जातिको महान चाड ‘तोरन्ल्ह’ को उपलक्ष्यमा बिधिपूर्वक थकाली देवताको पूजाआजा गर्ने कार्य तथा परम्परागत धनुषखेल एवं अन्तरचन ‘ताराखेल प्रतियोगिता’ तामझाँमका साथमा सम्पन्न गरेको छ ।

कानागावा प्रिफेक्चरस्थित तोचुका नामक आर्चरी खेल मैदानमा बिहानको ११:३० देखी बेलुका ४:३० बजे सम्म जापानमा दोस्रो पटक आयोजित उत्त कार्यक्रममा गौचन, तुलाचन,शेरचन र भट्टचन बिच प्रतिस्प्रधात्मक ताराखेल प्रतियोगिता अति नै सौहार्दपुर्ण बातावरणमा भब्यताका साथ आयोजना भएको हो ।

कार्यक्रमको शुरुआतमा थकालीको भेषभुषा नोकोनचोलोले सजिएका दिदीवहिनीहरुद्वारा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष खगेन्द्र भट्टचन र उहाकी धर्म पत्नी प्रसन्न भट्टचन, कार्यक्रमका सभापति थसेस जापानका अध्यक्षशरद कुमार गौचन, थसेस काठमाडौं क्षेत्रका पूर्व सल्लाहाकार रित्नु शेरचन, कार्यक्रम संयोजक हेमन्तकुमार शेरचनलाई खादार्पण (केल्च्याङ्ग) गरि शुरुआत गरिएको थियो ।

तत्पश्चात प्रमुख अतिथि श्री भट्टचनले थकालीहरुको चार देवता र ईष्ट देवी नरिझ्यवको धुब प्रजल तथा तारा हान्ने खोलमा विधिपूर्वक पूजाआजा गर्नुहुदै बाण प्रहार गरेर उदघाटन गर्नुभएको थियो । साथै थकाली पोशाक दौरा, सुरुवाल र टोपीमा सजिएका थकाली भाषाका बिज्ञ राजकुमार शेरचन, बिनोद भट्टचन र अनिल भट्टचनले यस ऐतिहासिक पर्वमा गाइने थकाली गीत गाउदै समुदघाटन कार्यमा सहभागि जनाउनु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै खगेन्द्र भट्टचनले धनुषबाण हानेर शिकार गर्ने पुख्यौली संस्कारको शुरुआत संगै बर्तमान परिस्थितिमा एउटा राष्ट्रिय खेलकोरुपमा परिणत भएको यस खेल हामी थकालीको चिनारी हो र सात समुद्रपारि जापानमा आफुलाई आमन्त्रण गरि आफ्नो संस्कृतिलाई निरन्तरता दिने यस्तो महान कार्यमा सहभागि, संलग्नता एवं एकबद्धता जनाउन पाउदा ज्यादै हर्षित भएको बिचार प्रकट गर्नुभएको थियो । साथै, नेपाल अधिराज्यभरिका थसेस तथा विदेशमा क्रियाशील थसेस मध्ये विशेष गरेर थसेस जापानको गतिबिधिहरुको बारेमा चर्चा गर्नुहुदै आउदो १२ औं अधिवेशनमा अझै बृहतरुपमा थकालीहरुको बारेमा धेरै कुरा बताउने कुराको पनि अबगत गराउनुभएको थियो ।

त्यसैगरि अन्य वक्ताहरुमा, निजीभ्रमणमा रहनुभएका थसेस काठमाडौं क्षेत्रका पूर्व सल्लाहाकार रित्नु शेरचन, संयोजक र सहसंयोजक क्रमश: हेमन्तकुमार शेरचन, राज कुमार शेरचनले पनि आफ्नो भनाई राख्नुभएको थियो ।

त्यसैगरि कार्यक्रमका सभापति शरदकुमार गौचनले हाम्रो आफ्नो मौलिक संस्कारलाई जगेर्ना र संरक्षण गर्ने मुल उदेश्य तथा कर्तब्य भएको परिपेक्ष्यमा यस धनुषखेल प्रतियोगिता पनि त्यस मध्येको एक पाटो भएको बताउनुहुदै सहभागे सम्पूर्ण महानुभावहरुलाई भरपुर मनोरञ्जन लिन र स्वच्छ प्रतिस्प्रधा गर्न अनुरोध पनि गर्नुभएको थियो ।

त्यस पश्चात धनुष खेल प्रतियोगितामा भाग लिनुभएका चारचनका धाँपन (टिम क्याप्टेन) क्रमश: बुद्धि गौचन, गोविन्द तुलाचन, राजकुमार शेरचन र अनिल भट्टचन सहितका सहभागि खेलाडिहरुलाई महिलाले शुभकामना बढाई पूजा (केल्च्याङ) गरि प्रतियोगिताको शुरुआत गर्न लगाईएको थियो । उत्त प्रतियोगितामा प्रत्येक चनको टिमबाट ५, ५ जना खेलाडि दर्ता सहित २० जना खेलाडि सहभागि बिच पहिलो चरणको प्रतिस्प्रधामा शेरचन टिमले १७ पोईन्ट, भट्टचन टिमले १० पोईन्ट, गौचन टिमले ८ पोईन्ट र तुलाचन टिमले ७ पोइन्ट हासिल गर्दै क्रमश: प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो भने शेरचन टिमका खेलाडि गिरी शेरचन सर्वोकृष्ट (खोल) स्कोएर प्राप्त गर्नुभएको थियो ।

थकालीहरुको तोरन्ल्ह पर्वमा गरिने चलन बमोजिम बिजयी तथा उत्कृष्ठ शेरचन टिमका खेलाडि गिरि शेरचनलाई कन्या महिला चेलिहरुद्धारा शुभकामना (केल्च्याङ) अविरयात्रा गर्दै बढाई ज्ञापन गरिएको थियो भने खेलाडिले त्यसको बदलामा महिला चेलीहरुलाई भेटी स्वरुप दान दक्षिणा प्रदान गर्ने कार्य समेत सम्पन्न गर्दा यदाकदा नेपालमै भएको झझल्को दिएको थियो ।

दोस्रो चरण, तेस्रो चरण वा चौथो चरण गर्दै ३ दर्जन बढि खेलाडिहरुले पालैपालो धणुषखेल प्रतियोगितामा स्वच्छ प्रतिस्प्रधाका साथ सौहार्दपुर्ण बातावरण भरिपुर मनोरञ्जन सहित सहभागि जनाएको दृष्य अति नै रोचक र लोभलाग्दो थियो ।

शुरुआत देखि नै सम्पूर्ण कार्यक्रमलाई अति नै ब्यबस्थितका साथ संचालन गर्दै उपाध्यक्ष अनिल भट्टचन तथा अर्का उपाध्यक्ष दिपक गौचनले थकालीहरुको एकमात्र महान चाड तोरन्ल्हको बारेमा ज्यादै सरल भाषामा तोरन्ल्ह पर्वको महत्वको बारेमा समेत स्पष्ट पार्नुहुदै कार्यक्रमको अन्तमा समितिका अध्यक्षले सम्पूर्ण उपस्थिति तथा सहयोगी बन्धुहरुलाई हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

 स्मरण रहोस, यस कार्यक्रममा थसेस जापानले जापानमा पहिलोपटक बिशेष थकालीहरुको उत्कृष्ठ परिकारहरु सहित सिङ्गो खसीको ताजा मासु सँगै आफ्नो बिशिष्ट परिकार टुंङ्ग, काटुङ्ग (आन्द्रा भित्र रगत र पीठोले भरिएको एक प्रकारको ससेज) र भरिपुर खानपिनको समेत ब्यबस्थापन गरिको थियो । ***

0 1 2 3 4 5 6 7 8 9 10 11 12

 

तपाईको प्रतिक्रिया