Deneme Bonusu Veren Siteler
बिहिबार, मंसिर ०६, २०८१
Thursday, November 21, 2024

‘वनमा कांडा छ, तिमी उता म यता ज्यान त टाढा छ, तर बिरानो नसम्झ माया गाढा छ’ जस्ता कैयन लोकप्रिय गीत गाउने एक समयकी चर्चित गायिका लक्ष्मी न्यौपाने हिजो आज कंहा के गर्दैछिन् – यसबारे उनका श्रोताहरु बेखबर छन् ।

एउटा त्यस्तो समय थियो, जुनबेला गायिका न्यौपानेको स्वरविना बजारमा लोकदोहोरी गीतहरु प्रायः निस्कदैनथे या निस्कीहाले पनि उति सारो सफल हुंदैनथे । रेडियो स्टेशनदेखि टेलिभिजनका सेटहरुमा उनकै आवाजमा सजिएका गीतहरु बजिरहेका हुन्थे । सामान्य चिया पसलदेखि पांचतारे होटलसम्म उनको स्वरले गुञ्जिएका हुन्थे । तर पछिल्ला समय उनको उपस्थिति लोकसंगीतको दुनियांमा कम हु“दै गएको मात्र छैन, लोकगीत क्षेत्रले उनको अभावको समेत अनुभूति गरिरहेको छ । अघिल्ला पुस्ताका लागि लक्ष्मी न्यौपाने एउटा चर्चित नाम बन्न सफल भए पनि उनले पछिल्लो समयमा लोक गीत संगितबाट दुरी तन्काएपछि पछिल्लो पुस्तामाझ उनी कम चिनिएकी छिन् ।

अखिर कंहा र केमा ब्यस्त छिन् त न्यौपाने ? उनी लोकगीत संगितबाट टाढिएकी होइनन्, घरगृहस्थीमै समय दिनुपर्ने भएकाले केही टाढिए जस्तो देखिएकी मात्र हुन् । काठमाडौं बबरमहलमा रहेकी न्यौपाने श्रीमान झलक रेग्मी र तीन सन्तानलाई समय दि“दैमा ब्यस्त छिन् । अहिले उनको दैनिकी बिहान बेलुकी खाना बनाउने, छोराछोरीलाई स्कुल पठाउने अनि श्रीमानको रेखदेख गर्नमै बित्ने गरेको छ । घरगृहस्थीबाट बचेको समयलाई संगितमा लगाउने गरेको उनले बताइन । ‘पहिले जस्तै सक्रिय रुपमा संगीतमा लाग्न नसके पनि फाट्फुट रुपमा गीतहरु गरिरहेको छु’ – न्यौपानेले भनिन् ।

धेरैले गायिका न्यौपाने विवाह गरेपछि परिवारको असहयोगका कारण विस्तारै गायन क्षेत्रबाट विस्थापित हुंदै गएको बताए पनि उनी यस्तो हल्लामा सत्यको अंश नभएको बताउंछिन् । उनी भन्छिन्,-‘विवाह पछि मैले झन् बढी गीत गाएको छु । श्रीमानको सहयोग नपाएको भए कसरी विवाहपछि दुई हजार भन्दा बढी गीतमा आवाज दिन सक्थे“ र ?’

परिवारलाई समय दिनुपर्ने भएकाले मनमा इच्छा भएर पनि संगीतमा समय दिन नसकेको उनले बताइन् । न्यौपाने ५ वर्षअघि जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् । ‘मेरो छोरा र छोरी एकैपटक जन्मिए, उनीहरुको स्याहार गर्दैमा ब्यस्त रहे“’,उनले भनिन्, ‘आफूले जन्म दिएका छोराछोरीको माया धेरै नै लाग्दोरहेछ ।’ परिवारलाई समय दिएकाले हिजो जस्तो सक्रिय तरिकाले संगीतमा लाग्न नसकेको न्यौपानेको भनाई छ । अहिले बालबच्चा पनि विस्तारै हुर्कदै गएकाले फेरी लोकसंगीतमा आफ़्नो उपस्थिति बढ्दै जानेमा श्रोताहरुलाई विश्वस्त रहन आग्रह गरिन् । ‘दर्शक, श्रोताहरुले चांडै नै लक्ष्मी न्यौपानेको गीत सुन्न पाउने छन, हिजो मलाई गरेको माया फेरी पाउने आशमा छु ।’

चार हजार भन्दा बढी गीतमा स्वर दिएकी गायिका न्यौपानेले आफूले श्रोताहरुका लागि सकेसम्म सन्देशमुलक, नभए स्वच्छ मनोरञ्जन दिने खालका गीतहरु मात्र गाएको बताइन् । अहिलेका लोकसंगीतमा केही विकृतिहरु रहेकाले त्यसलाई सुधार्नु जरुरी रहेको न्यौपानेको भनाइ छ । पुराना गीतहरुलाई अहिलेका नयां कलाकारहरुले आफ़्नो सिर्जना भनेर बेच्ने काम भैरहेकोप्रति गायिका न्यौपाने निकै नै आक्रोशित देखिन्छन् । मेहनत बिनै छोटो समयमा चर्चामा आउने नयां कलाकारका सपनाले लोकसंगीतमा विकृति ल्याईरहेको उनको ठ्म्याई छ ।

न्यौपानेले आफ़्ना पुराना गीतहरु समेत चोरी भएको बताइन् । ‘मेरो गीत पनि चोरी भएको छ, शब्द मात्र परिर्वतन गरी अरु सबै हुबहु कपि गर्ने काम भएको छ ।’

न्यौपानेले अरुको सिर्जनालाई अनुमति बिनै आफ़्नो बनाएर श्रोतालाई झुक्याउने काम बन्द गर्न आग्रह गरिन् । यस्तो सिलसिला जारी रहेमा लोकसंगीतमा विकृति आउनुका साथै मानिसले यस पेशालाइ अमर्यादित ढंगबाट बुझ्न सक्ने न्यौपानेको बुझाई छ ।

पाल्पा यम्घामा जन्मेकी गायिका न्यौपानेले यहांसम्म आईपुग्दा कैयन बाधा अवरोधको सामना गरेकी छन् । २०५४ सालबाट उनले काठमाडौंमा बसेर संघर्ष शुरु गरेकी हुन् । त्यो समय उनका लागि ज्यादै पिडादायक थियो । केटी मान्छे त्यसमा पनि काठमाडौंको ठाउं । उनीसंग दुईवटा मात्र विकल्प थिए-की गर, की मर । तर न्यौपानेले हिम्मत हारिनन् र निरन्तर संघर्ष गरिनै रहिन । जसको फलस्वरुप उनले एकपछि अर्को सफलता हात पार्दै गइन् । २०५८ देखि लोकदोहारी क्षेत्रमा बाढी नै आयो । संघर्ष गर्दै गरेकी गायिका न्यौपानेका लागि त्यो समय फलिफापै सावित भयो । उनको ०५८ देखि ०६३ सालसम्म लोकदोहोरीमा बर्चस्व नै कायम भयो भन्दा पनि हुन्छ । बिमाकुमारी दुरा, शर्मिला गुरुङ लगायतका केही औंलामा गन्न सकिने लोक गायिकाहरु उनका प्रतिस्पर्धी मानिन्थे । यी लोकदोहोरी गायिकाहरु समेत विस्तारै हराउंदै जान थालेका छन् ।

गायिका न्यौपानेले आफ़्नो लगानीमा मात्रै कर्म, जुनेली रातमा, रेशमको पछ्यौरी, कता माया जोडौं लगायतका तीन दर्जन बढी एल्बमहरु बजारमा ल्याइसकेकी छन् । उनले पहिलो पटक २०५१ मा तिजको गितमा स्वर दिएकी थिइन । उनका फुलमा भमरा, कालीपारे दाई, लडाईको लाहुरे, चरी भए आंउथे उडेर, डोरी फुर्काले लगायतका लोकदोहोरी गीतहरु चर्चित मानिन्छन् । ***

 

तपाईको प्रतिक्रिया