सुपौल (भारत), असार २३ – सुनसरी झुम्कास्थित क्षेत्रीय कारागारको सुरुङ काण्डका मुख्य योजनाकार तथा आपराधिक गतिविधिमा बहुचर्चित धीरेन्द्र यादवले नेपालमा नाम चलेका राजनीतिक नेताले आफूलाई सहयोग रहेको दाबी गरेका छन् । गत १६ असारमा पक्राउ परी हाल भारतीय कारागारमा राखिएका धीरेन्द्रले नेपाली नेताहरूसित आफ्ना मान्छेमार्फत ‘राम्रो सम्बन्ध’ रहेको प्रहरीसँगको बयानमा दाबी गरेका हुन् ।
सम्बन्धित नेताहरूले भने उनको भनाइ सत्य नभई मनगढन्ते भएको दाबी गरेका छन् । केहीले आफूलाई बदनाम गराउने उद्देश्यले नाम लिन लगाएको हुन सक्ने आशंका पनि गरेका छन् भने केहीलेचाहिँ अप्रत्यक्ष सम्पर्क भए पनि सहयोगको कुरालाई अस्वीकार गरेका छन् ।
क्षेत्रीय कारागारबाट सुरुङ खनेर अन्य १२ कैदीसहित फरार भएको ८ महिनापछि बिहार प्रहरीद्वारा उनी पक्राउ परेका हुन् । उनले बयानमा उल्लेख गरेको विवरणसहितको भिडियो रेकर्ड भारतीय प्रहरीले नेपाल प्रहरीलाई समेत बुझाइसकेको छ । नेपाल प्रहरीले नेताहरूको नामबारे धीरेन्द्रले दिएको बयान सार्वजनिक भए ‘राजनीतिक समस्या’ आउने भन्दै बिहार प्रहरीलाई उक्त प्रसंग गोप्य राख्न अनुरोध गरेको वीरपुर प्रहरी स्रोतले बतायो । धीरेन्द्रले नेताहरूको सहयोगमा आफू कडा सुरक्षा भएको काठमाडौंस्थित केन्द्रीय कारागारबाट सरुवा हुँदै सीमानजिकको झुम्का कारागार आइपुगेको बयानमा बताएका छन् । त्यसका लागि ‘खर्च’ समेत गरेको उनको दाबी छ ।
बिहार सुपौल जिल्लाको वीरपुर प्रहरीका डीएसपी मनोज राम नेतृत्वको १८ जनाको टोलीले ‘झुम्का जेल ब्रेक’ का मुख्य योजनाकार धीरेन्द्रलाई सोही जिल्लाको कटैयास्थित एक घरबाट बिहानीपखको १ बजे नियन्त्रणमा लिएको थियो । डीएसपी रामका अनुसार धीरेन्द्रले नेपालमा पूर्वगृहमन्त्री विजयकुमार गच्छदार, पूर्वकृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, पूर्वशान्तिमन्त्री जनार्दन शर्मा र पूर्ववनमन्त्री मातृका यादवसँग ‘राम्रो सम्बन्ध’ रहेको बयान दिएका छन् । बिहार प्रहरीले लिएको बयानको भिडिओ रेकर्डमा धीरेन्द्रले गच्छदार, शर्मा र यादवद्वयसित आफ्ना चिनजानका ‘बीचका मान्छे’ मार्फत सम्बन्ध रहेको बताएका छन् । तत्कालीन गृहसचिव गोविन्द कुसुमको निर्देशनमा आफूलाई नख्खु कारागारमा सहनै नसक्ने गरी यातना दिइएकाले नेताहरूसम्म पहुँच बनाएर तथा ‘खर्च’ गरेर झुम्का कारागार आएको बयान क्रममा बताएका छन् । ‘जेलमा पनि मलाई चैन थिएन,’ बयानमा उनले भनेका छन्, ‘राति १२ बजे पनि टर्चर गर्न प्रहरी आउँथ्यो ।’ त्यतिबेला झुम्का कारागारमै रहेका बंगलादेशी नागरिक सुब्रत वेनले एमाओवादीकी तत्कालीन सभासद् उमा भुजेलमार्फत आफूमाथि जारी रेडकर्नर नोटिस हटाउन प्रयास गरेको उनले बताएका छन् । तर उक्त प्रयास सफल नभएको उनको भनाइ छ ।
स्रोतका अनुसार भुजेलमार्फत भएको प्रयास असफल भएपछि तत्कालीन गृहमन्त्री गच्छदार निकटस्थ सुनसरी दुहबीका सपन दास र लौकहीका सदानन्द मण्डललगायतको पहलमा सुब्रतको नाम रेडकर्नर नोटिसबाट हटाउने फाइल गच्छदारसम्म पुगेको थियो । तर उक्त प्रयास पनि सफल हुन सकेन । कृषि विकास बैंक राजविराजका तात्कालीन प्रबन्धक विक्रमप्रसाद साहको हत्या र राजविराजकै चिकित्सक मुरलीप्रसाद सिंहको अपरहण तथा नेपाली नागरिकता लिएकोसम्बन्धी मुद्दामा धीरेन्द्रलाई ०६४ मा इटहरीबाट प्रहरीले पक्राउ गरेको थियो । सप्तरी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपछि धीरेन्द्र राजविराजबाट राजधानीका विभिन्न कारागार हुँदै २९ कात्तिक ०६८ मा झुम्का कारागार सारिएका थिए । उनलाई झुम्का सार्न ठूलै रकमको चलखेल भएको स्रोतको दाबी छ । त्यस दाबीलाई धीरेन्द्रले बयान क्रममा दिएको ‘झुम्का आउन खर्च गर्नुपरेको’ भनाइले बल पुर्याएको छ । धीरेन्द्रको बयानका आधारमा नेपाल प्रहरीले ४ दिनअघि सप्तरीको पश्चिमकुसाहा घर भएका ठेकेदार मनोज यादवलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
‘हामीले भारतमा धीरेन्द्रले गरेको अपराधका विषयमा केन्द्रीत भएर बयान लियौं,’ बीरपुर प्रहरीका डीएसपी रामले भने, ‘त्यही क्रममा उनले नेपाली नेतासहित अन्य केही व्यक्तिको नाम लिएका हुन्, नेपाल प्रहरीलाई त्यसको स्पष्ट जानकारी दिइसकेका छौं, छानबिन र कारबाही गर्ने काम नेपाल प्रहरीकै हो ।’ उनले भारतीय भूमिमा भएका अपराधमा नेपाली नेताहरूका विषयबारे बुझ्नु जरुरी नभएकाले त्यसबारे बिस्तारमा नबुझेको बताए । धीरेन्द्र पक्राउ परेको भोलिपल्टै वीरपुर पुगेका सुनसरी प्रहरीका डीएसपी लक्ष्मण गिरीले पनि धीरेन्द्रसित सोधपुछ गरेका थिए । उनले कारागार प्रकरणमा केन्द्रीत रहेर बयान लिएका थिए ।
थप अनुसन्धानका लागि धीरेन्द्रलाई केही दिन नेपाल सीमावर्ती वीरपुर कारागारमै राखिने छ । साविकबाहेकका अन्य ३ विशेष टोली कारागार सुरक्षार्थ खटाइएको छ । थप सोधपुछ र अनुसन्धानपछि सुरक्षित कारागारमा सारिने डीएसपी रामले बताए । धीरेन्द्रमाथि भारतमा हत्या, अपहरणलगायत गरी ३ दर्जनभन्दा बढी मुद्दा छन् ।
यसो भन्छन् नेताहरू
पूर्वगृहमन्त्री विजयकुमार गच्छदारले धीरेन्द्रसँग आफ्नो सम्बन्ध र सहयोगको कुरा मनगढन्ते भएको प्रतिक्रिया दिएका छन् । ‘देख्दै नदेखेको मान्छेसँग सम्बन्ध छ भन्नु कपोलकल्पित, मनगढन्ते र निराधार हो,’ उनले भने, ‘उसका लागि सिफारिस लिएर कोही आएको पनि होइन, सहयोग गर्ने भन्ने कुरै आउँदैन ।’ कैदी सरुवाको विषयमा मन्त्रालयको भूमिका नहुने उल्लेख गर्दै गच्छदारले कारागार महाशाखाले आवश्यकता अनुसार सरुवा गर्ने चलन रहेको बताए ।
एमाओवादी नेता तथा तत्कालीन शान्ति मन्त्री जनार्दन शर्माले कसैले आफ्नो बदनाम गराउन धीरेन्द्रलाई प्रयोग गरेको हुन सक्ने आशंका गरेका छन् । समाचारमा आएअनुसार मात्र धीरेन्द्र भागेको, पक्राउ परेकोजस्ता कुरा थाहा पाएको उल्लेख गर्दै उनले आफ्नो सम्बन्ध हुनै नसक्ने बताए । ‘न मेरो कुनै सरोकारको कुरा हो, न मैले केही सहयोग गर्ने भन्ने कुरा,’ शर्माले भने, ‘मलाई बदनाम गराउने उद्देश्यले कसैले मेरो नाम लिन लगाएको हुन सक्छ ।’
पूर्वमन्त्री तथा हाल नेकपा -माओवादी) का अध्यक्ष मातृका यादवले भने धीरेन्द्रले कुनै बेला आफूसँग सम्पर्क प्रयास गरेर सहयोग आग्रह गरेको स्वीकारेका छन् । ५ वर्षअघि यादवका निजी सवारी चालक विवेक एके ४७ राइफल, ५ लाख नगद र गाडीसहित जनकपुरबाट फरार भएका थिए । उनी हाल भारतीय जेलमा रहेको उल्लेख गर्दै पूर्वमन्त्री यादवले धीरेन्द्रले सुनसरीका एक सहयोगीमार्फत आफूसित सम्पर्क गरेको बताए । आफूलाई केन्द्रीय कारागारबाट सारिदिन आग्रह गर्दै धीरेन्द्रले सहयोगीमार्फत चालकले लगेको हतियार दिलाइदिने आफूलाई भनेको उनले सुनाए । ‘पहिला हतियार दिलाइदिनु अनि कुरा गरौंला’ भनेर आफूले त्यस बेला भनेको मातृकाले बताए । ‘त्यसबाहेक कुनै सम्पर्क र सरोकार छैन,’ उनले भने, ‘मैले उसलाई सार्न कसैलाई सिफारिस गरेको छैन, गर्ने कुरा पनि होइन ।’ फोरम लोकतान्त्रिकको राजनीतिक समिति सदस्य तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवले आफूले धीरेन्द्रलाई चिन्दै नचिनेको बताए । ‘उनले मेरो नाम किन लिए थाहा छैन,’ उनले भने । मधेसी जनअधिकार फोरम नेपालमा हुँदा सुनसरीका कार्यकर्ताले धीरेन्द्रका बारेमा अध्यक्ष तथा तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवसमेत रहेका समयमा ‘कुरा ल्याएको’ उनले बताए ।