काठमाडौ – यस वर्षको पि्र-मनसुनयता दुई महिनामा मुलुकमा चट्याङबाट ५६ जनाको ज्यान गइसकेको छ । पोस्ट-मनसुनसम्ममा यो संख्या गत वर्ष (१ सय ३१) भन्दा नाघ्न सक्ने विज्ञहरू बताउँछन् ।
वैज्ञानिकहरूका अनुसार आगामी वर्षहरूमा यो तथ्यांक झन्-झन् बढिरहने छ । नेपाल केही वर्षमै चट्याङ पीडित राष्ट्रका रूपमा समेत चिनिने उनीहरू औंल्याउँछन् । लोककथनमा यमराजले हानेको बञ्चरो भनिने प्राकृतिक प्रकोपको यस उग्ररूप जलवायु परिवर्तनको असर भएको वैज्ञानिक शोधले प्रमाणित गरिसकेको छ । भौतिकशास्त्री श्रीराम शर्मा नेतृत्वको युवा वैज्ञानिकहरूको एउटा टोलीले उक्त शोधमाथि नेपालको परिप्रेक्ष्यमा अध्ययन सुरु गरेको छ । ‘आज हामीले चट्याङलाई जलवायु परिवर्तन एउटा पारामिटर मान्न सक्ने अवस्था छ,’ उनी भन्छन् । ‘हामीले जुन महिनामा तापक्रम घटबढी -टेम्प्रेचर भेरिएसन) एकदमै पायौं, सोही अनुपातमा चट्याङका घटना पनि बढी देखियो । यी दुई चिज एकआपसमा अन्तरसम्बन्धित भन्ने अमेरिकी वैज्ञानिक विलियम्सको टोलीले पत्ता लगाएका तथ्य स्थानीय रूपमै आत्मसात गरेका छौं ।’
चट्याङबाट एकैचोटि धेरै मानिस नमर्ने भएकाले यसको घातकपनबारे न्यून मूल्यांकन भइरहेको विज्ञहरू बताउँछन् । पीडादायक मृत्यु हुने यस प्रकोपमा सरकारको नजर नपरेको गुनासो उनीहरूको छ । मुलुकमा चट्याङबाट ज्यान गुमाउने मात्र होइन, अंगभंग हुनेको संख्या पनि बढिरहेको छ । २०६७ मा ८० जनाको मृत्यु भएको थियो । २०६८ मा यो संख्या १ सय ३ पुग्यो । विज्ञहरूका अनुसार यो प्रकोपको मात्रा र ज्यान जानेको संख्या वृद्धि सधैं समानुपातिक हुँदैन । चट्याङ एकदमै बढी परेर कम मानिसलाई लाग्न पनि सक्छ ।
चट्याङ धेरै परे पनि मानवीय क्षति रोक्न भने खासै कठिन र खर्चिलो नभएको विज्ञहरूको भनाइ छ । भौतिकशास्त्री शर्माले ग्लोबल लाइटेनिङ नेटवर्कबाट उपहारस्वरूप पाएको सेन्सर उपकरण राष्ट्रिय विज्ञान प्रविधि प्रतिष्ठानमा जडान गरेका छन् ।
तीन वर्षसम्म एक निजी कलेजमा राखिएको यो उपकरणबाट मुलुकभर कतै चट्याङ परे दुई मिनेटमै पत्ता लगाउन र आकाशमा चलिरहेको चट्याङ गतिविधि कता जाँदै छ भनेर तत्काल अनुमान (नाउ कास्टिङ) गर्न सकिन्छ ।
कहिले र कता बढी चट्याङ पर्न सक्छ भन्ने अनुमान गर्न स्वदेशी वैज्ञानिक नै सक्षम भइसकेका छन् । बादलभित्रका स-साना बरफ र चिसो पानीको घर्षणबाट विद्युतीय चार्ज उत्पन्न हुने र त्यो जमिनतर्फ आउने प्रक्रिया नै चट्याङ हो । जलवायु परिवर्तनका कारण जमिन छिटो तात्ने तथा सेलाउने गर्नाले चट्याङ उत्पत्तिको आवृत्ति बढाउने वैज्ञानिकहरूको ठहर छ ।
जलवायु परिवर्तनले बढी असर गर्ने नेपालमा पछिल्लो समय बढी चट्याङ पर्नेमा तीन ठाउँ देखिएका छन् । बंगालसँग नजिक झापाको पूर्वी भाग, नवलपरासीको नारायणी किनार क्षेत्र र हेटौंडा वरपरको चुरे क्षेत्रमा बढी चट्याङ परेको शर्माको अध्ययनले देखाएको छ ।
विश्वमा चट्याङका तीन मुख्य चिम्नी भनेर अपि|mकी सहारा मरुभूमि, मध्य अमेरिका र दक्षिण-पूर्वी एसिया मानिन्छन् ।