Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

anujएनआरएन बिश्वको विभिन्न मुलुकमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुको हितलाई पक्षपोषण गर्ने र नेपालको विकासमा टेवा पुर्याउने उदेश्यका साथ १० बर्ष पहिले गठन भएको थियो । विभिन्न मुलुकमा आफ्नो संगठनको विस्तार गर्ने क्रममा जापानमा  पनि २००४  फेब्रुअरी १२ मा एनआरएन जापान गठन भयो । आज जापानमा पनि गठनको ९ बर्ष बितिसकेको छ र नयाँ अधिबेशन नजिकिंदै गर्दा चहलपहल पनि बढ्दो छ ।
एनआरएन “नेपालीको लागि नेपाली” भन्ने मूल नारा  लिएर अगाडि बढिरहेको छ । यसको प्रस्तावनामा स्पष्ट उल्लेख गरिएको छ कि यो संघ गैर-नाफामुलक, गैर-राजनीतिक, गैर-सरकारी र स्वतन्त्र हुनेछ । अहिले यतिखेर एनआरएन सामु समयको गति सँगै विभिन्न प्रश्नहरू उभिएको छ । के एनआरएनले आफ्नो प्रस्तावनामा उल्लेख गरिएको कुराहरुलाई आत्मसाथ गर्दै अगाडि बढेको छ त ? के यो संघ गैर-राजनीतिक, गैर-नाफामुलक र स्वतन्त्र छ त ? यसको जवाफ सायद म जस्तो विदेशमा बस्ने साथीहरुलाई  दिइराख्नु नपर्ला। यसको आंकलन आजसम्मको हाम्रा अग्रजहरुको गतिबिधीबाटै पनि गर्न सकिन्छ । आदरणीय व्यक्तित्व डा. उपेन्द्र महतो र उहाँका साथीहरुले जुन बेला यो संघको परिकल्पना गर्नु भएको थियो सायद वहाँहरुलाई पनि लागेको थिएन होला कि आज यो संघ बिश्वब्यापी रुपमा यसरी विस्तार हुन्छ भनेर । तेसैले पनि यसको संगठानिक चुनौतीहरु थपिंदै गएको छ ।
कुरा गरौं एनआरएन जापानको । २००४ मा यसको गठन भए संगै अरु देशमा जस्तै जापानको एनआरएन पनि अल्मलिंदै अगाडि बढेको देखिन्छ । शुरूवातका वर्षदेखि जापानका वरिष्ठ व्यक्तित्वहरू राजन प्रधानांग, भवन भट्ट, रोशन केसीहरूको नेतृत्व पाइसकेको छ । आगामी अधिबेशनसम्मको लागि हाल ओम गुरुङले नेतृत्व गरिराख्नु भएको छ। वहाँहरुले स्थापना काल देखि आफुले सक्नेजति योगदान दिंदै आइराख्नु भएको छ । अब गुणात्मक तवरले अगाडि बढ्नुपर्ने आवश्यकता छ । आजसम्म एनआरएनको गतिबिधिलाई नियाल्ने हो भने निश्चित व्यक्ति अनि बर्गको पहुँचबाट बाहिर निस्कन नसकेको हो कि जस्तो देखिन्छ । त्यसबाट जापान पनि अछुतो रहन सकेको छैन । गैर-आवासीय नेपाली भन्नाले त्यसभित्र ब्यापारी, बिधार्थी, विभिन्न पेशामा आबद्ध  रहनुभएका जो कोही नेपाली र उहाँहरूसँगै बस्नुहुने परिवार पनि पर्नुहुन्छ । आजसम्म संघको प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने सायद ब्यापारी वर्ग भन्दा अरु नहोलान । भएमा पनि अत्यन्त न्यून संख्यामा होलान जसको काम ताली पिट्ने र टेबुल बजार्ने भन्दा अरु देखिंदैन । सायद ब्यापारी बर्ग बाहेक अरुको समय नहुने भएकोले पनि हुनसक्छ । बिधानमा स्पष्ट  भनिएको छ नेपालीको हितको पक्षपोषण गर्ने भनेर तर यो शब्दको अर्थ नबुझेको जस्तो देखिन्छ । यसको अर्थ हो विभिन्न पेशामा लागेका नेपालीहरुको जीवनस्थर उठाउन  सहयोग गर्ने । तर त्यसो नभइकन यहाँको कुराहरुलाई चटक्क बिर्सेर नेपालको विकास गर्ने, हाइड्रो पावर खोल्ने, जलबिधुतमा लगानी गर्ने जस्ता ठूला-ठूला कुराहरु मात्र गरिन्छ । एक हिसावमा नेपालको विकासमा टेवा पुर्याउने भनेर बिधानमा उल्लेख गरिएको छ तर हामीले बुझ्नु पर्ने कुरा के छ भने कस्तो अवस्थामा हामीले दीर्घकालीन रुपमा हाम्रो मातृभूमिको विकासको लागि टेवा पुर्याउन सक्छौ ? के दुइ चार जना ब्यापारीहरुले लगानी गर्दैमा देश बन्छ त ?  अवश्य बन्दैन, बन्ने भए आजसम्म देशले मुहार फेरिसकेको हुने थियो । देशको विकास त्यो अवस्थामा नपुग्दासम्म सम्भब हुदैन जब त्यो देशको नागरिक दुइ छाक खानको लागि संघर्ष गर्नबाट मुक्त हुन्छ । सधैभरी के खाऊँ र के लाऊँ भनेर पिरिनु पर्ने अवस्था भएसम्म देशको विकासमा टेवा पुर्याउने कुरा सपना मात्र हुन्छ । त्यसकारण एनआरएन जापानका अगुवाहरुले पनि सहि क्षेत्रको पहिचान गरि मातृभूमिमा लगानी गर्ने र जापानमा रहेका लगभग २५ हजार  नेपाली जो विभिन्न पेशामा आबद्ध छन् तिनीहरुको आर्थिक र सामाजिक स्तर उकास्नको लागि हातमा हात मिलाएर अगाडि बढ्नुपर्छ । सबै नागरिक आर्थिक रुपमा सम्पन्न नभएसम्म ठूला-ठूला कुरा गर्नुको कुनै अर्थ हुँदैन। यसको मतलब कसैले कसैलाई आर्थिक सहयोग गर्नु पर्छ भन्ने पटक्कै होइन, आफ्नो नागरिकले पाउने समस्याहरुको पहिचान गरि त्यसको समाधानका उपायहरु पत्ता लगाइ सानो पहल गरिदिए पुग्छ । जस्तै जापानको हकमा कुरा गर्नु पर्दा धेरै भन्दा धेरै नेपालीहरुलाइ पर्ने प्रमुख समस्या भनेको भाषाको ज्ञान नहुनाले काम नपाउनु रहेको छ । यति धेरै बिधार्थी साथीहरु हुनुहुन्छ उहाँहरूसँग समन्वय गरेर हप्ता मा १-२ पटक भाषा सिकाइदिने वाताबरण बनाउन सकिंदैन र ? जापानमा नेपाली समुदायका यति धेरै सफल ब्यबसायीहरु हुनुहुन्छ के नयाँ ब्यबसाय गर्न चाहने बिधार्थी वा अरु नेपालीहरुसँग ब्यापार कसरी गर्ने भनेर विचार बाँड्ने फोरम तयार गर्न सकिदैन ?  त्यति मात्र गर्ने हो भने आज धेरै नेपालीहरुको समय र पैसाको बर्बादी कम हुनेछ । भाषा सिकाउने अनि सम्भावित बाटोहरु पहिल्याइदिने हो भने नेपालीहरुले काम पनि पाउँनेछन् अनि सफल पनि हुनेछन्। एक-एक जना सफल हुँदै जाने हो भने सम्पूर्ण समुदायको स्तर माथि उठ्न समय लाग्दैन । जब सबै माथि उठ्छन अनि बल्ल प्रस्तावनामा उल्लेख गरिए जस्तो देशको विकासमा दह्रो टेवा पुर्याउन सकिन्छ।
एनआरएन जापानको आगामी कार्यकालको लागि नागोयामा बसोबास गर्ने युवा व्यवसायी पारसमणि पोख्रेलले आफ्नो उमेद्वारी घोषणा गरिसकेको अबस्था छ ।  सायद अरु दाबेदारी पनि आउनै बाँकी होला। यो एउटा प्रजातान्त्रिक पद्धति मात्र हो। पोख्रेलजस्तो युवा व्यवसायी आज एनआरएन जापानको अगुवाई गर्छु भनेर अगाडि आउनुहुन्छ भने हामीहरुले पनि पुर्वाग्रहि भयर हेरिराख्नु पर्दैन र हुँदैन पनि । हामीले यस्तो व्यक्तिलाई अगुवाई गर्न दिनुपर्छ जसले आफ्नो राष्ट्रको साथ-साथै जापानमा बस्ने नेपालीजनको हित र विकासको लागि पहलकदमी लिन सकोस । अब पुलिसमा जस्तो म पहिला हवल्दार थिएँ अब असै हुन पाउनु पर्छ भन्ने जस्तो दाबेदारी छोड्नु पर्छ । पहिलेको कार्यकालमा बसेर सेवा गरिसकेको अग्रज साथीहरुले पनि मेरो गोरुको बाह्रै टक्का भनेजस्तो गर्नु हुँदैन । एनआरएन जापानका महासचिब डा. राजेन्द्र पराजुलीले भन्नु भएजस्तो “एकपटक इमान्दार प्रयास गर्ने हो कसैले पनि पद ओगटी रहनु हुँदैन।” डा. पराजुलीले भन्नु भएजस्तै यो कुरालाई सबैले मनन गर्ने हो भने प्रगतिको बाटोमा लम्किन सजिलो हुने थियो । कोहि गर्न सक्ने व्यक्ति आउँछ भने खुशी साथ उसलाई अगाडी सार्नु पर्छ । उदेश्य नेपालीजनको हितको लागि कम गर्ने र मातृभूमिको विकास गर्ने हो त्यसैले गर्न सक्नेलाइ हामी सबैले अगाडी ल्याउनै पर्छ नत्र फाली नभएको हलो जस्तो हुनेछ । जति गाडे पनि नाजोतिने।
त्यसैले अबको एनआरएनको पदाधिकारीहरुले पनि कार्यक्रममा आसन ग्रहण गर्ने अनि रिबन काटेर मंचमा ठूला-ठूला भाषण गर्ने होइन आफ्नो संजाल सबै वर्गमा फैलाउन अग्रसर हुनुपर्छ । जापानमा बस्ने सबै नेपालीहरुलाई एनआरएनमा आबद्ध हुनुपर्छ भन्ने विश्वास जगाउन सक्नुपर्छ। एनआरएनलाइ आफ्नो व्यापार विस्तार गर्ने भाँडोको रुपमा प्रयोग गरिनु हुँदैन । हरेक ठुलो कुरा सानो-सानो कुराहरु जोडिएर बन्छ भन्ने कुरा बुझ्नु जरूरी छ । अब देश विकासको अभिन्न अंग बन्ने हो र साँच्चिकै राष्ट्रको माया छ भने यो पार्टी र त्यो पार्टी भनेर भागबन्डा पनि गरिनु हुँदैन। व्यापारी बर्गलाई साथमै लिएर विभिन्न पेशामा आबद्ध व्यक्तिहरुलाई समाबेश गर्नु पर्छ। खुबी भएको गर्न सक्ने एजेन्डा बोकेर कोहि अगाडि आउँन चाहन्छ भने व्यापारी वर्गले त्यस्ता व्यक्तिहरुलाई साथ दिने हिम्मत र उदारता  देखाउन सक्नुपर्छ। आज एनआरएनप्रति जापानवासी नेपालीजनमा जुन निराशा छ त्यसलाई चिरेर धेरै भन्दा धेरै व्यक्तिलाई समाबेश गर्नुपर्छ। जब सबैमा आशा जागेर आउँछ अनि त्यो आशालाइ नेतृत्व बर्गले उर्जामा बदल्न सक्नुपर्छ । त्यो उर्जाले  अनि बल्ल देश विकासमा टेवा पुर्याउने छ । त्यसैले सिमित ब्यक्तिबाट माथि उठेर सबै नेपालीहरुको मुटुमा बस्न सक्नुपर्छ एनआरएन। नत्र एनआरएन पनि कुनै राजनीतिक पार्टीको भातृ संगठन भन्दा फरक हुने छैन।

 

तपाईको प्रतिक्रिया