काठमाडौ – चुनावलाई मध्यनजर गर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अरू पार्टीका असन्तुष्ट र स्वतन्त्र रहेका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याउन थालेका छन् । त्यसको सुरुआत उनले आफ्नै थर (यादव) भएकाबाट गरेका छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पनि आफ्नै थर भएका थारू/चौधरीलाई पार्टीमा प्रवेश गराइरहेकै बेला फोरम अध्यक्ष यादवले पनि मंगलबारदेखि उनको सिको गर्दै पहिलो चरणमा यादव थरका नेतालाई पार्टी प्रवेश गराउने अभियान नै चलाएका हुन् । उपेन्द्रले जनआन्दोलन २०६२/६३ मा सक्रिय भूमिका खेलेका आफ्नै थर भएका भरत विमललाई पार्टी प्रवेश गराएको करिब एक महिना भइसकेको छ ।
मंगलबार यादवले अनिलकुमार झा नेतृत्वको संघीय सद्भावनाका नेता तथा पूर्वसभासद महेशप्रसाद यादव, सोही पार्टीका नेता देवेन्द्र यादव, राप्रपा, तमलोपा हुँदै नेपाली जनता पार्टी (एनजेपी/कमल चिह्न) खोलेर निष्क्रिय रहेका रामचन्द्र राय यादवलाई पार्टी प्रवेश गराएका छन् ।
महेश गत संविधानसभा चुनावमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट उम्मेदवार भई सप्तरी-३ बाट निर्वाचित भएका थिए भने, देवेन्द्र पनि सद्भावना पार्टीबाटै महोत्तरी-६ मा चुनाव लडेका थिए । उनलाई त्यतिबेला फोरम नेपालबाट उम्मेदवार बनेका शरतसिंह भण्डारीले पराजित गरेका थिए । महेश र देवेन्द्र दुवैले २०६८ साउन २० मा अनिल झालाई पार्टी खोल्न विशेष सहयोग गरेका थिए । भण्डारीले संविधानसभा विघटनलगत्तै गत असारमा ‘राष्ट्रिय मधेस समाजवादी पार्टी’ (रामसपा) खोलेका छन् ।
रामचन्द्र संविधानसभा चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट सर्लाही-४ मा उम्मेदवार भएका थिए । उनलाई सद्भावना अध्यक्ष महतोले पराजित गरेका थिए । तमलोपा जानुअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका रामचन्द्र भूमिसुधार राज्यमन्त्रीसमेत बनेका थिए ।
यादवले मंगलबार नै पूर्वसभासद बबन सिंह, इन्जिनियर सीताराम शाह, मुहम्मद ग्यासुद्दिन मियाँ र ओमकृष्ण प्रसाईँलाई समेत पार्टी प्रवेश गराएका छन् । सिंह संविधानसभा चुनावमा रौतहट-१ बाट स्वतन्त्रबाट निर्वाचित भएका थिए भने शाह गैरराजनीतिक संस्था मधेसी राष्ट्रिय मञ्चका पूर्वउपाध्यक्ष, मियाँ राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पर्साका नेता र प्रसाईँ कराँते खेलाडी हुन् ।
अध्यक्ष यादव र वरिष्ठ नेता भरत विमलले नवप्रवेशीलाई मंगलबार राजधानीमा आयोजित कार्यक्रममा माला र टीका लगाएर स्वागत गर्नुका साथै लड्डु ख्वाएका थिए । कार्यक्रममा बोल्दै यादवले तीन राजनीतिक दलले मुलुकलाई बन्धक बनाएको भन्दै उनीहरूकै कारण देश नराम्रो दिशातिर गइरहेको टिप्पणी गरे ।
पार्टी प्रवेश गरेका सिंहलगायतले ‘फोरम नेपाल मधेसी, जनजाति, दलित, महिला, मुसलमानलगायत समुदायको समस्या समाधान गर्न सक्ने क्षमता राख्ने पार्टी भएकाले आफूहरू त्यसमा प्रवेश गरेको बताए ।
राजकिशोर र महेन्द्र पनि आउने विगतमा फोरम नेपालमै रहेका फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव तथा तमलोपाका नेताहरू महन्थ ठाकुर, हृदयेश त्रिपाठीलगायतसँग रुष्ट भएपछि तमलोपा नेपाल खोलेका महेन्द्रप्रसाद यादवको पार्टीसमेत चुनावी तालमेल गर्न उपेन्द्र नेतृत्वको फोरम नेपालमा पुग्ने विश्लेषकको विश्लेषण छ । ‘चुनावको मिति घोषणा भएपछि यादवहरू -जुनसुकै पार्टीका भए पनि) एकै ठाउँ आउने छन्,’ मधेसवादी दलका एक नेताले कान्तिपुरसित भने, ‘थारू/चौधरीहरू गच्छदारले समेट्ने छन्, यादवहरूलाई उपेन्द्रले बटुल्ने छन् ।’
जानकारहरूका अनुसार मधेसका साना पार्टीहरू रामसपा, रामनरेश रायको राष्ट्रिय सद्भावना, अनिल झा, सरिता गिरी, खुसीलाल मण्डल, देवेन्द्र मिश्र, जेपी गुप्ता, सद्भावना गजेन्द्रवादीका विकास तिवारी, मधेस तराई फोरमका अमर यादवलगायत भने तमलोपाका ठाकुर नेतृत्वको पार्टीमा समेटिने छन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना र गच्छदारको फोरम (लोकतान्त्रिक) पनि अन्ततः ठाकुरसँगै पार्टी एकीकरण नभई चुनावी मोर्चाबन्दी गर्न बाध्य हुने मधेस विश्लेषकहरूको विश्लेषण छ ।