नेपालीहरुको आ-आफ्नै पीडा परिस्थिति र बेदनाले नेपाल जननी भूमिलाई चटक्कै बिर्सेर विदेशिनु परेको छ । नेपालको राजनैतिक अस्थिरता राजनैतिक बिकृती र बिसंगतीका कारण देशमा रोजगारीका अवसरहरू नहुनुले हातमुख जोर्नको निम्ति, बालबच्चाको लेखन, पढन र स्वास्थ्य उपचार लगायत दैनिक जीवन यापन गर्नको लागी नचाहँदा नचाहँदै पनि विदेशिनु हाम्रो बाध्यता हो। हामी नेपालीलाई मातृभूमिको अगाध माया हुन्छ । अझ प्रदेशी भएपछि त झन् परदेशको हरेक पाईला पाईलामा मातृभूमिको माया हुन्छ। सुन्दर सपनाहरु सजाएर देश र समाजकै विकासको कल्पनामा सीमित हुन पुग्छौ, अनि सुन्दर सपना कै माला बुन्न पुग्छौ। देशको राजनैतिक अवस्था, आर्थिक अवस्था देख्दा सुन्दा अनि कुनै विदेशीले नेपालीको कुरा काट्दा मनमा असैह्य पीडा अनि दुःख हुन्छ । त्यसैले त विदेशिए पनि आफ्नो पहिचान र मातृत्वको रक्षार्थ एनआरएन लगायत विभिन्न संस्थाहरु स्थापना गरेर नेपाली एकताको संदेश प्रवाह गरी रहेका हुन्छौँ। बिभिन्न नेपाली कार्यक्रमहरुको आयोजना गरेर केन्द्रित हुने र नेपालको झल्को मोटाउने प्रयत्न गर्ने गर्छौँ तर अब हामी एनआरएनहरुले यति मात्र गरेर हाम्रो मातृत्वकोको कर्तब्य पूरा हुनेछैन। बिदेशमा देशको पहिचान उचो राख्ने प्रयत्न सबै एनआरएन मिलेर गर्नुपर्दछ। हामी प्रत्यक्ष त्यहाँको वस्तुस्थिति र वातावरणासँगै देशको प्राविधिक विकासमा आफ्नो ठाउँबाट हातोमालो गर्दै योगदान गर्ने, देशको अस्तब्यस्त र बिकृतीहरु बिरुद्ध हस्तक्षेपकारी रचनात्मक अभियान संचालन गरेर, सम्बन्धित बिदेशका र त्यहाँका स्थानीय समाजसँग मिलेर सिकेका सीप, शिक्षा, अनुशासन स्वदेशमा सिकाउने, लगानी गर्ने अनि नयाँ-नयाँ योजना र रणनीतिसँगै अघि बढ्नु पर्छ । सँधै आफ्नो देश अनि राजनेताहरुलाई गाली गर्दै, विकसित देशका सुन्दर संरचनाहरुमा अनि रिबन र पानसको अगाडि फोटो खिचेर रमाएर अनि गर्व गरेर मात्र हाम्रो र हाम्रा भावी सन्ततिहरु प्रतिको कर्तब्य पूरा हुने छैन। हाम्रो लथालिंग मातृभूमिको ब्यबस्थापन र बिकासमा हाम्रो हस्तक्षेपकारी योगदान हुन जरुरी छ। हुनत हामी नेपालीले जति कराए पनि जति बोले पनि जे सिक्छौ जे देख्छौ त्यही नै व्यवहारमा लागू गर्दछौ। नेपाली राजनीतिलाई नै कति दोष दिने ? हामी एनआरएन जो विकसित देशमा जति बसेपनि जति शिक्षा हासिल गरेपनि राम्रा कुरा जति सिकेपनि जब पद प्रतिष्ठाको लागि मैदानमा उत्रन्छौ अनि उही घिनलाग्दा ब्यबहार अनि तामसा देखाएर नै छोडछौ। सुकिला मुकिला कपडा लगाएर रिबन अनि पानसको अगाडीको फोटोले मात्र होइन एउटा सफा मन अनि फराकिलो दिल लिएर सोचौँ । परिबर्तन नै चाहने हो भने समय अनुसार अनि परिवर्तित एजेन्डा लिएर एक जुट भएर परिबर्तन हुन् सिकौ। अरूको विद्वतालाई जितेर आफू त्यसभन्दा विद्वान् बन्न सक्नु र अरूको कीर्तिमानलाई नाघेर आफू त्यसभन्दा माथि उठ्न सक्नु मानिसको प्राथमिकतामा हुनुपर्ने कुरा हुन् । दुर्लभ समय थोरैलाई मात्र आउँछ र ति उत्तिकै चुनौती पूर्ण पनि हुन्छ त्यसैले भनिन्छ कठीन समयमा ठूला मानिसको मात्र उदय हुन्छ। नजिकिदै गरेको एन आर एनको अधिवेशनले कस्ता कुशल ब्यक्तिको उदय गर्ने हो यसको उत्तर भने धमिलो पनिमा माछामारे जस्तै रमाइलो नै हुनेछ।
नेपाल सरकारले बिदेशी लागानी भित्राउन बिदेशीहरुसँग बिप्पा संझौताहरु गरेको छ । बिदेशीहरुलाई खुट्टा धोएर लागानी गर्न आह्वान गरिएको छ । तर बिडम्बना देशमा आर्थिक र ब्यबसायीक लगानीको उचित वातावरण नहुनाले आफ्नै नेपालीहरुको अर्बौ अर्बको पूँजी बिदेशका गल्लीहरुमा अलपत्र परेका छन्, यदी देशमै लगानी सुरक्षा ग्यारेण्टी राज्यले गर्ने अवस्था भएमा थुप्रै नेपाली लगानी देश भित्रने ठूलो सम्भावनाहरु छन् । जसको लागी राज्यसँग स्पष्ट एन आर एन हरुको लगानी बिशेष सुरक्षा-संरक्षण नीति बनाउनु र कार्यन्वयनमा लैजानु जरुरी छ । एनआरएनहरुको सानो वा ठूलो आर्थिक लगानीको लागि आह्वान गरेर राज्यले अभिभावकीय नेतृत्व प्रदान गर्दै कर्मचारी संचयकोष जस्तै गरेर कोष खडा गरी देशको भौतिक विकास-परियोजनाहरुमा लगानी गराई दिने नेतृत्वदायी ईमान्दार भूमिकाको माध्यमवाट व्यवसायिक मुनाफा पनि शेयरको आधारमा बितरण ग्यारेण्टी गर्ने विश्वासनीय संरचना स्थापना गर्ने नीति र योजना हुने हो भने बिदेशका गल्लीहरुमा अलपत्र नेपाली पूँजी सजिलै देशमा भित्राउन सकिन्छ। जीवनको जवानीमा बल रहुन्जेल बिदेशमा पसिना बगाउने अनि बुढ्यौली काट्न स्वदेश फर्कनु पर्ने नेपालीको बाध्यता र नियती नै भैसकेको छ तर माथि उल्लेखित नीति र योजना राज्यसंग हुने हो भने एनआरएनको सहकार्यमा बिदेशमा बगाएको पसिनाको केही भाग नेपालमै लगानी गर्ने ग्यारेण्टी हुने हो भने प्रबासमा बगाएको पसिना प्रत्यक्ष देशको लागि पनि उपयोगी नै हुनेछ । बलिया छउन्जेल त पाखुरा बिदेशमा बजार्ने अनि कमज़ोर भएपछि खाली हात नेपालमा हुऩे हुँदा कमसेकम त्यसरी सरकारी योजनामा संचय गरेको लागानीले बुढ्यौलीमा बाँचुन्जेल सानो पेन्सनको बलियो आधार बन्यो भने बुढ्यौली जीवन पनि सरल हुनेछ भने अर्कोतिर देशको आर्थिक विकासमा प्रत्यक्ष टेवा पुग्नेछ त्यसको लागि राज्य र हामी एनआरएनहरुसँग दीर्घकालीन योजना, नीति र प्रतिबद्धता हुनु जरुरी छ । लथालिंग मातृभूमिको अवस्थालाइ सरापेर मात्र हामी प्रवासीहरू पनि उम्किन पाउने छैनौँ । लथालिंग मातृभूमि प्रतिको कर्तब्य हाम्रो पनि हुन्छ । त्यसैले सम्पूर्ण प्रवासी नेपालीहरुको साझा अन्तरराष्ट्रिय ब्यापी संस्था एनआरएनको नेतृत्वले नेपाली राज्यसँग लथालिंग मातृभूमिको विकास र व्यवस्थापनमा आफ्नो अधिकार र कर्तव्य किटान गर्दै समग्र आप्रबासी नेपालीहरुको कर्तब्य र अधिकारको नेतृत्वकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ !!
सुन्दर नेपालको लागि तपाई हामीले सोच्ने र मनन गर्ने बेला आएको छ । आउनुस सुन्दर कुरा अनि उपलब्धिमूलक काम मात्र गरौ । भोलिको स्वतन्त्र स्वाधीन र विकसित नेपालको सम्भव उडन्ते गफबाट होइन कामवाट पुस्टी गरौँ, मातृभूमि प्रतिको आफ्नो कर्तब्य आफै किटान गरौँ र आ-आफ्नो ठाउँबाट जागौँ !! हाम्रो स्वर्ग जस्तो मातृभूमि साँच्चिकै स्वर्ग हुनेछ जय नेपाल, जय एन आर एन !
(लेखक एन आर एन कान्साईका सचिब हुनुहुन्छ ।)