कुनैपनि पेशाको आफ्नो पेशागत जिम्मेवारी, मर्यादा र आदर्श हुन्छ । एउटा चिकित्सकको पेशागत जिम्मेवारी मुख्य रुपमा बिरामीको रोगको परीक्षण, उपचार र सेवा गर्नु नै हो । चिकित्सा क्षेत्र बिरामी, रोग र पीडासँग जोडिएको अत्यन्त संवेदनशील र अत्यावश्यक विषय हो । तर्सथ, कुनैपनि चिकित्सकले आफ्नो पेशागत मर्यादा बहन गर्न बिरामीको उपचार एवं सेवामा अत्यन्त इमान्दार, जिम्मेवार एवं गम्भीर भएर समर्पित हुनुपर्छ ।
पछिल्ला केहि समय यता चिकित्सा क्षेत्रमा देखिएका समस्याहरु जस्तै चिकित्सक र बिरामी वीचको सम्बन्ध, उपचारमा हुने गरेका गल्ती, कमीकमजोरी, लापरबाही, चिकित्सा क्षेत्रमा देखिएको व्यापारीकरण, चिकित्सक आफ्नो पेशाप्रति इमान्दार नभएको भन्ने जस्ता विषयहरुले अलिक बढि नै चर्चा पाउन थालेका छन् । स्वास्थ्यकर्मी अझ विशेषगरी चिकित्सकको लापरबाही, त्रुटि वा कमीकमजोरीका कारण बिरामीले पर्याप्त सेवा, सुविधा पाउन नसकेको, रोग निको हुन नसकेको देखि लिएर ज्यानै गएका सम्म घटनाहरु बग्रेल्ती प्रकाशमा आएका छन् । केही समय अघि बिपी कोइराला मेमोरिअल क्यान्सर अस्पताल भरतपुरमा घाँटीको शल्यक्रिया गरिनुपर्ने बिरामीलाई पाठेघरको शल्यक्रिया गरिनु यसको एउटा ज्वलन्त उदाहरण हो । त्यसो त आफ्नो पेशा प्रति अत्यन्त इमान्दार, जिम्मेवार, कर्तव्यनिष्ठ र दक्ष चिकित्सकहरु पनि छन् । डा. भगवान कोइरालाको स्वास्थ्य सेवालाई मर्यादित पेशाको रुपमा विकास गर्न गरिएका सवै प्रयासहरु असफल बनाएर राजीनामा दिन बाध्य पार्ने बरिष्ठ चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरूको सन्दर्भले यो क्षेत्रमा कति हदसम्म मर्यादा विपरित काम गरिरहेका चिकित्सकहरु रहेछन् भन्ने सत्यतालाई पनि प्रष्ट्या्एको छ । डा. कोइराला जस्तै सबै इमान्दार चिकित्सक एवं स्वास्थ्यकर्मीहरु प्रति सम्मान प्रकट गर्दै चिकित्सा क्षेत्रमा भएका वा हुने गरेका र सुधारको खाँचो रहेका अन्य त्रुटि, कमीकमजोरी बारे चर्चा गर्नु अहिलेको सन्दर्भमा आवश्यकता पनि हो ।
चिकित्सा क्षेत्र भनेकै मानव सेवा, कल्याण र उपचारको पर्यायवाची हो । स्वास्थ्य मानव जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो ।यसर्थ, स्वास्थ्य क्षेत्रमा संलग्न चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरु सेवा, संवेदना र मानवीय भावनाले पूर्ण हुनुपर्छ । मानवीयता र कल्याणकारी भावना यस क्षेत्रमा लाग्न आवश्यक पर्ने पहिलो र अनिवार्य शर्तका रुपमा लिइनुपर्छ । तर अपशोच, कतिपय चिकित्सक एवं स्वस्थ्यकर्मीमा सेवा भन्दा व्यापारमुखी भावना बढी भएका कारण स्वास्थ्य क्षेत्र नै सेवामुखी भन्दा व्यापारमुखी हुन थालेको छ भन्दा अत्युक्ति नहोला । उदाहरणका लागि सरकारी अस्पतालमा कार्यरत चिकित्सकले बिरामीलाई पर्याप्त समय दिएर राम्रोसँग उपचार नगर्ने तर त्यही बिरामीलाई आफ्नो निजी अस्पतालमा समय दिएर राम्रोसँग जाँच गर्ने, सरकारी अस्पतालमा उपचार गर्दै गर्दा आफ्नो निजी अस्पतालमा आउन प्रेरित गर्ने जस्ता निकृष्ट व्यवहारहरु प्रशस्त भइरहेका छन् । यसैगरी स्वास्थ्य सेवा संचालन गर्न आवश्यक पर्ने प्रमाणपत्र (लाइसेन्स) विना प्राइभेट अस्पताल, नर्सिङ्ग होम संचालन गर्ने, लाइसेन्स विनाका नक्कली चिकित्सकहरुद्वारा उपचार गर्ने गरेको घटनाहरु पनि हुने गरेका छन् । युरोपियन युनियनको सहयोगमा मर्लिन नेपाल र सोलिड नेपालले सन् २११२ मा तयार परेको प्रतिवेदन नेपालमा स्वास्थ्यका लागि मानव संसाधनको व्यस्थापन र प्रभावकारी नीति कार्यन्वयनमा रहेका व्यवधानहरु’ अनुसार ४५ प्रतिशत स्वास्थ्यकर्मी नेपाल सरकारको पूर्व स्वीकृतिविना निजी क्लिनिकमा काम गर्छन ।
निजी अस्पतालहरुमा बिरामीको अवस्था सामान्य हुँदाहुँदै पनि विभिन्न थरी अनावश्यक परिक्षण गर्न लगाएर गरीव, दुःखी बिरामीको टाउको माथि आर्थिक बोझ थपिदिने र सो परीक्षण गर्न सिफारिश गरे वापत चिकित्सकले कमिशन लिने गरेको समेत पाइएको छ । अझ यति सम्म कि शल्यक्रिया गर्नै नपर्ने सामान्य औषधिले ठीक हुने बिरामीलाई समेत आर्थिक प्रलोभनमा परी शल्यक्रियाको सिफारिश गर्ने र शल्यक्रिया गर्ने नैतिकहीन र गैरजिम्मेवार चिकित्सकहरु समेत देखिएको छ । चिकित्सा जस्तो कल्याणकारी पेशामा संलग्न भएर पनि व्यापारमुखी भावनाले ग्रस्त चिकित्साकर्मीका कारण आम सर्वसाधारण बिरामीले सेवा भन्दा पनि दुःख, पीडा र हैरानी भोग्नु परेको छ ।
हामीकहाँ गरीव, दीनदुःखी, असहाय र दुर्गम स्थानका मानिसहरु आधारभूत स्वास्थ्य सेवाबाट समेत बन्चित रहेको अवस्था छ । सामान्य खालको रुघाखोकी, ज्वरो, टाइफाइड, झाडापखालाको औषधि समेत नपाएर सयौंको ज्यान जाने गरेको छ । ग्रामीण भेगमा असाध्य खतरनाक रोगबाट श्रृजित कहाली लाग्दो पीडा र व्यथा गरीवीका कारण बर्षौदेखि शरीरमा बोकी कारुणिक जीवन गुजारी रहन पर्नेहरुको संख्या उल्लेख्य छ । एकछिनका लागि झाडापखालाको औषधि समेत समयमा नपाएर जीवन गुमाउनु परेका वा गम्भीर प्रकृतिको रोग शरीरमा हुँदाहुँदै पैसाको अभावमा उपचार गर्न नसकेर अत्यन्त कष्टकर जीवन विताइरहेका ती व्यक्तिहरुको स्थानमा हामीलाई राखेर सोचौं त ! अवश्यनै त्यो क्रुर यथार्थता र पीडा सहन सक्ने सामर्थ्य हामीमा हुनेछैन । यस्तो अवस्थामा एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरेर चिकित्सक बन्ने लक्ष्य बोकेका कतिपय विद्द्यार्थीहरुद्वारा संचार माध्यममा अर्न्तर्वार्ताका क्रममा अब पढेर के बन्ने भनेर सोध्दा ‘असल डाक्टर बनेर गरीव र दीनदुःखी बिरामीहरुको सेवा गर्ने’ भन्ने ती डाक्टरहरुले खोइ कहाँ गएर गरीव र दीनदुःखीहरुको सेवा गरेका छन् अहिले ? वास्तविक दुःखी र गरीवलाइ सेवा प्रदान गर्न ग्रामीण र दुर्गम भेगमा गएर बिरामीहरुको सेवा गर्नु पर्नेमा चिकित्सक बनेपछि आफ्नै पुरानो प्रतिबद्दता र पेशाले बोकेको आदर्श विर्सी सुविधाभोगी र शहर केन्द्रित भएका छन् । दुर्गम स्थानका अस्पताल, स्वास्थ्य चौकी भएका ठाउँहरुमा समेत चिकित्साकर्मीको अभावमा बिरामीले स्वास्थ्य उपचार पाउन सकेका छैनन् ।काममा खटाइएका चिकित्साकर्मी दुर्गम स्थानमा नजाने र शहरमा रहेको निजी स्वास्थ्य संस्थामा अधिक लाभ लिएर काम गर्ने गरेको पाइन्छ।सकेसम्म सुविधा भोग्न खोज्नु, शहर केन्द्रित हुनु मानवीय स्वभावानुकुल स्वाभाविक पनि हुनसक्ला तर गरीव, असहाय बिरामीप्रति माया गरेर सक्दो सुविधा, सहुलियत प्रदान गर्न अलिकति पनि संवेदना नदेखाउनु अनि थोरै समय भएपनि ग्रामीण भेगमा गएर दीनःदुखीको सेवा गरूँ भन्ने भावना सम्म नदेखिनु चिकित्सक जस्तो जीवन रक्षकको पेशा अपनाउनेहरुका लागि स्वभाविक मान्न सकिंदैन ।
चिकित्सकले बिरामीसँग गर्ने वोलिवचन, व्यवहार बिरामी, चिकित्सक वीचको सम्बन्धको मुख्य आयाम हो । चिकित्सकले गर्ने मीठो वोलिवचन र राम्रो व्यवहारले बिरामीमा धेरै सकारात्मक प्रभाव पार्छ, आत्मबल जागृत हुन्छ, सकारात्मक सोचाई आइ रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन जान्छ । तर हामीकहाँ यस्ता कुराहरुमा चिकित्सकले त्यति ध्यान दिएको पाइदैन । चिकित्सकले बिरामीको रोगको बारेमा विस्तृत जानकारी लिने, धैर्यपूर्वक बिरामीको कुरा सुन्नेअनि समय दिएर रोगको बारेमा परीक्षण गर्ने प्रवृति धेरै नै कम छ । बिरामीबाट रोग सम्बन्धि पूर्ण जानकारी नलिइ हतार हतारमा परीक्षण गर्ने र ठम्याईका आधारमा भन्दा अनुमानका आधारमा औषधि लेखिदिने प्रवृति रहेको पाइन्छ । हाम्रो गलत सामाजिक संस्कारका कारण पनि हुनसक्छ एउटा व्यक्ति चिकित्सक हुने वित्तकै समाजका अरु सामान्य व्यक्ति भन्दा तथाकथित उच्च, जानेबुझेको व्यक्ति हुँ भन्ने भावनाले ग्रस्त हुन्छ । जसले गर्दा उक्त चिकित्सक बिरामीबाट बढि सम्मान र आदरको अपेक्षा गर्छ तर आफू बिरामीलाई त्यतिकै सम्मान र माया दिन भने अग्रसर हुँदैन । यसकारण बिरामीले धक फुकाएर आफ्नो रोगको बारेमा विस्तृत रुपमा जानकारी दिन असमर्थ हुन्छ । सामान्यतया चिकित्सकले रोगको बारेमा बिरामीसँग जानकारी लिएर परीक्षण गरेपछि रोग लाग्नुका कारण, रोग न्यूनिकरण गर्न औषधि सेवन लगायत ध्यान दिनुपर्ने अन्य कुराहरु बिरामीलाई जानकारी गराउनु पर्नेमा यस्ता कुरा केहि पनि नगरी औषधि लेखिदिएर ‘यो औषधि यति समय खाएर आउनुस’ भन्ने गरेको पाईन्छ । यसैगरी बिरामीको रोगको मानोवैज्ञानिक तवरले उपचार, रोगसँग लड्न बिरामीलाई आत्मबल प्रदान गर्ने जस्ता क्रियाकलाप पनि भएको पाइदैन । यसरी बिरामीको रोग, व्यथा र पीडामा पर्याप्त संवेदना नदेखाउने र बिरामीलाई रोगसँग लड्न आत्मबल प्रदान नगर्ने कोरा र अवैज्ञानिक उपचार पद्दतिका कारण बिरामीले गुणस्तरीय एवं प्रभावकारी उपचार सेवा प्राप्त गर्न सकेको छैन ।
स्वास्थ्य क्षेत्रमा हुने गरेको लापरबाही, हेलचेक्र्याइ र त्रुटिका कारण कतिपय चिकित्साकर्मी र स्वास्थ्य संस्थाप्रति आम मनिसको भरोसा टुटेको छ । गल्ती, कमीकमजोरी र त्रुटि मानवीय स्वभाव हो । त्यसकारण स्वास्थ्य क्षेत्रमा रहेका व्यक्तिहरुबाट पनि कहिलेकाही त्रुटि र गल्ती हुन सक्छ । तथापि स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा सानो गल्तीका कारण ठूलो दुर्घटना हुन सक्छ भन्ने कुरा हृदयंगम नगरी उच्च सतर्कताविना गरिएको कामले निम्त्याएको दुर्घटना क्षम्य हुन सक्दैन । बिरामीलाई गलत औषधि दिने, एक ठाउँको शल्यक्रिया गर्नु पर्नेमा अर्को ठाउँको गर्ने, दिन नहुने वा नपर्ने इन्जेक्सन दिने, शल्यक्रिया गर्नु नपर्ने बिरामीलाई शल्यक्रिया गर्ने, शल्यक्रिया गरिएको ठाउँमा भएका शल्यक्रिया गर्न प्रयोग गरिएको उपकरण राम्रोसँग नझिकी घाउ सिलाई दिने जस्ता लापरबाहीका कारण विरामीको स्वास्थ्यमा प्रतिकुल असर परि मृत्युसम्म भएका घटनाहरु प्रशस्त छन् । कतिपय अवस्थामा चिकित्सकले गर्नुपर्ने परीक्षण वा उपचार अन्य सहयोगी स्वास्थ्यकर्मीले गर्दा दुर्घटना निम्तिने गरेको पनि पाइन्छ । यसरी स्वास्थ्यकर्मीमा देखिएको लापरबाहीका कारण रोग निवारणको अन्तिम विकल्पका रुपमा रहेको स्वास्थ्य संस्थाहरुमा जाँदा बिरामीले आफ्नो रोगको उपचार राम्रोसँग हुन्छ भनेर निश्चिन्त हुने अवस्था छैन ।
स्वास्थ्य मानिसको जन्मसिद्द अधिकार हो । कल्याणकारी राज्य व्यवस्था भएका मुलुकहरु जस्तै स्विडेन, फिनल्यान्ड, डेनमार्क, नर्वे जस्ता मुलुकहरुमा प्रत्येक नागरिकको स्वास्थ्य उपचारको जिम्मा निःशुल्क रुपमा सरकारले गर्ने गर्छ । जनताप्रति उत्तरदायी सरकार, जनप्रतिनिधि र राज्य निर्माण हुन नसकेको हाम्रो परिवेशमा राज्यबाट सबै अपेक्षा गर्नु निरर्थक हुन जान्छ । यस्तो अवस्थामा निजी स्वास्थ्य संस्थाहरुले जनता र राष्ट्रको सेवामा अझै सशक्त ढंगले समर्पित हुन ‘संस्थागत सामाजिक दायित्व’ को जिम्मेवारी बहन गर्नुपर्छ । यसका लागि अत्यन्त गरीव, असहाय र उपचार गर्ने हैसियत नभएका बिरामीलाई उपचारमा विशेष छुट वा निःशुल्क गरिदिने व्यस्था मिलाउनु पर्छ । निजी स्वास्थ्य संस्थाहरु जस्तै क्लिनिक, नर्सिङ्ग होम आदिको उपचार तथा परीक्षण शुल्क अत्यन्त महँगो भएको, सेवा भन्दा व्यापार गर्ने उद्देश्यले स्थापना भएको भन्ने जनगुनासाका सन्दर्भमा यस्ता संस्थाहरुले उपचार शुल्क सस्तो, सुलभ बनाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्छ।
यसकारण बिरामीको दुःख, पीडा र आँसुसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा पेशामा प्रवेश गर्ने चिकित्सक मानवीय संवेदना र करुणा युक्त हुनैपर्छ । चिकित्सा जस्तो कल्याणकारी पेशामा रहेर मानव सेवा भन्दा पैसा कमाउने, सुख सुविधा मात्र खोज्ने आकांक्षा राख्ने हो भने त्यस्ता चिकित्सकबाट बिरामीले उचित सेवा र गुणस्तरीय उपचार प्राप्त गर्न सक्दैन । अतः कुनैपनि चिकित्सकले आफ्नो पेशाप्रतिको मर्यादा कायम राख्न विशुद्द मानव कल्याण भावका साथ बिरामीको उपचार र सेवामा समर्पित हुनुपर्छ ।
(लेखक माधव रेग्मी एनआरएन कोशिन्नेचु शाखा जापानका उपाध्यक्ष हुनुहुन्छ ।)