सर्वप्रथम त यो रमितेको रमास्कार । जापानमा रमितेले केही साल अघिदेखि थुप्रै रमिताहरु देख्दै भोग्दै आईरहेको छ । आफूले देखेका भोगेका अनि अनुभव गरेका केही कुराहरुले कहिलेकाहीं यो रमितेलाई रमिता-रमिताको कुराहरु पनि फुर्ने गर्दछ । हालैका दिनहरुमा जापानमा नेपालीहरुको संख्यामा आएको वृद्धिसँगै अनि विशेष चाडवाडको अवसर पारेर आयोजना गरिएको नेपाली कार्यक्रमस्थलमा हुने नेपाली ठिटाहरुको कुस्ताकुस्तीले यो रमितेलाई रमिताको आइडिया फुरेको हो । रमितेको रहर भनेको जापानमा ठोकठाक प्रतियोगिताको आयोजना गरे हुन्थ्यो भन्ने हो । दुई चार वटा कार्यक्रमहरुमा रमिता हेर्न जाँदा यो रमितेले अर्को रमिता पनि हेर्ने मौका मिल्यो । कस्तो रमिता भन्नुहोला भने वीर गोर्खालीहरुको कुस्ताकुस्ती रमिता । जुन देखेर रमिते रमायो कि रनभुल्लमा पर्यो त्यो रमिते स्वयंमलाइ नै थाहा भएन । तर रमितेलेलाई एउटा रमिताको आइडिया फुर्यो त्यो हो कुस्ती अर्थात ठोकठाक प्रतियोगिताको आयोजना गर्ने । जुन प्रतियोगिताले गर्दा विभिन्न चार्डपर्वहरुमा आयोजित कार्यक्रमहरुमा हुने मुक्काकुक्की केही न्यूनिकरण हुन्थ्यो कि भन्ने हो । किन गर्नु पर्यो त यस्ता खाले प्रतियोगिता भन्नु होला भने तपाईले स्कूलमा इतिहास पढ्नु भएकै रहेनछ । विर्सनु भएको हो भने आउनुहोस् सँगै स्मरण गरौं । हामी नेपालीहरू वीर गोर्खालीको सन्तान । वीर गोर्खालीहरुले नालापानीको किल्लामा पानी पनि नखाई ७० दिनसम्म लडेको लडाई र सिरुपाते खुकुरी चम्काउँदै शत्रुमाथि धावा वोलेका विजयको इतिहासलाई बचाई राख्नु हामी सारा नेपालीहरुको हक, अधिकार, कर्तव्य (जे भने पनि हुन्छ) हो । हामी नेपाली र हाम्रो नेपाली गौरव, हाम्रो इतिहास अनि हाम्रो पहिचानलाई नामेट हुन नदिनको लागि हालैका दिनहरुमा यो ठोकठाक प्रतियोगिताको आयोजना जापानमा पनि गर्नु अति अपरिहार्य रमितेले देखेको छ । किन भने विदेशमा भएका नेपालीहरुलाई आफ्नो देश र संस्कृतिको झल्को मेटाउन विभिन्न कार्यक्रमहरु गरिन्छ तर त्यसमा वीर गोर्खाली योद्दाहरूको मुक्कामुक्की नभएको भने एक दमै कम पाईन्छ । त्यसैलाई मध्यनजर गरेर जापानमा पनि ठोकठाक प्रतियोगिताको आयोजना गर्न आवश्यक हो झैं भान रमितेलाई भएको हो । आनुहोस् अब एकै छिन यदि यो खेलको आयोजना भै हाल्यो भने नियम कानून पनि त बनाउनु पर्यो । त्यसैले ठोकठाक प्रतियोगिता र यसका नियमहरुको बारेमा एकैछिन चर्चा गरौं । यस सम्बन्धमा पनि यो रमितेले रमिताकै आईडिया सोचेको छ । तपाइको पनि केही आइडिया छ भने मिसाउन नभुल्नुहोला ।
कसकसले भाग लिन सक्नेछन् त?
जापानमा रहेका जो कुनै नेपालीले पनि सहभागीता जनाउन सक्नेछन् ।
उमेरको हदवन्दी होला कि नहोला ?
नेपालीको रगतै तातो उमेर ढल्कोर के भो त ? मुक्कामुक्की गर्न सक्ने भए हुन्छ । त्यसैले यसमा उमेरको कुनै हदवन्दी नहोला ।
खेलाडीले कस्ता तयारीहरु गर्नु पर्ला ?
रमितेको विचारमा खासै केही तयारी गर्नु पर्दैन । साधारणतया जापानमा आफूले गरिराखेकै काम गर्दा पनि हुन्छ । यसको लागि खासै कुनै तयारी, अभ्यास गरिरहनु नपर्ने भएकोले रातभरी नसुतीकन काम गरे पनि प्रतियोगितामा भने हाजिर हुन सक्ने यसको मतलव बुझिसक्नु भएको होला । साधारणतया अरु खेलाडिहरुले झैं विहान विहानै दौडिने, जिम तथा स्पोर्टस् सेन्टरमा गएर अभ्यास गर्ने गरिहरनु पर्दैन । तर कतिपय चाडवाडमा नेपालीहरुद्वारा आयोजना गरिने कार्यक्रमहरुमा अनिवार्य उपस्थित हुनु पर्नेछ । किन भने अभ्यास तथा प्रतियोगिता हुने ठाउँ भनेकै त्यस्तै ठाउँहरुमा हो (रमितेले देखेको अहिले सम्मको गतिविधीहरुलाई हेर्दा) ।
खेलाडी र खेल प्रतियोगिता भनेपछि त खानपानमा पनि ध्यान दिनुपर्नेहोला ?
पर्दैन, साविक बमोजिमको दालभात तरकारी, जापानमा भएकोले पाउरोटी, ओनिगिरी जे भए पनि हुने तर पिउने कुरामा भने दैनिक ५ प्रतिशत भन्दा बढी अल्कोहल भएको वियर तथा मादक पदार्थको सेवन गरेको भए अझ राम्रो । धुम्रपानको बानी भएको हुनुपर्नेछ । किनकी कार्यक्रमहरु भएको ठाउँको लवीमा उस्तैपरे हलमा पनि चुरोट सल्लाउन सक्नेलाई प्राथमिकता (रमितेले देखेको रमितामा आधारित)
प्रतियोगिता स्थलको बारेमा ?
विशेषत तोकिएको छैन । विशेषगरी जापानमा ठाउँको अभावले गर्दा समयसमयमा नेपाली संघसंस्था तथा समाजहरुले आयोजना गरेको कार्यक्रमहरुलाई नै प्रतियोगिता स्थल बनाईनेछ । कार्यक्रम भएको हलदेखि ५०० मिटर वरपरसम्मको बाटोलाई पनि प्रयोग गर्न सकिनेछ किनकी सँधैजसो नेपाली कार्यक्रम हेर्न जापानिजहरुको त्यति धेरै सहभागीता रहँदैन त्यसैले जापानिजहरुले नेपालीहरुको वहादुरीताको वारेमा ज्ञान हासिल गरोस् भनेर ५०० मिटर सम्मको दुरीमा कुस्ती क्रियाकलाप देखाउन सकिनेछ । यसलाई समय र परिस्थिति अनुसार बढाउन पनि सकिनेछ ।
वाञ्छनिय योग्यता केही हुनु पर्ने हो कि ?
विशेषगरी पहिल्यै हात हाल्न सक्ने भनाईको मतलव पहिल्यै ठोक्न सक्ने । आफ्नो अर्का कोही छुट्याउन नसक्ने । कुर्सी भाँच्ने, साथी होस् कि जो सुकै होस्, वियरको वोतलले टाउकोमा सोझ्याउन सक्ने, शिसा फुटाउने कलामा निपूण भएको । साथीहरुले छुट्याउन खोज्यो भने अर्थात जापानिजहरुले हेरेर हाँस्यो भने त्यसलाई हौसलाको रुपमा लिएर अझ वाइल्ड (उनीहरुकै भाषामा) हुन सक्ने खुवी भएको । आफ्नो वास्तविक पृष्ठभूमि के हो ? म के गर्नको लागि जापानमा आएको हुँ ? अर्काको ठाउँमा आएपछि के कस्ता कुराहरुमा सावधानी अपनाउनु पर्ने हो ? नेपालको छवी ढुलमुल हुन नदिन के गर्नु पर्ने हो भन्ने कुराहरु सबै विर्सेको भए सुनमा सुगन्ध हुनेछ । शान्तिका अग्रदूत गौतम वुद्ध जन्मेको नेपालमा हामीजस्तो वाइल्डहरु पनि जन्मेका छौ, संसारको अग्लो शिखर सगरमाथा भन्दा अग्लो हाम्रो विरता र तातो रगत छ भनेर यत्रतत्र सन्देश फिंजिने खालको व्यवहार देखाउन सक्ने । किनकी हामी नेपालीले कहिल्यै हारेको इतिहास छैन । यो रमितेले स्कूल पढ्ने बेलामा लाइनमा बसेर “हटने होइन डटी लड्ने नेपालीको वानी हुन्छ, कहिल्यै नझुक्ने शिर उठेको अनि के जाति के जाति, त्यहाँ सिंगो कुन्नी के जाति हुन्छ …” भनेर दिनदिनै ठूलोठूलो स्वरमा कण्ठस्थ भनेको अझै विर्सेको छैन । त्यसैले त्यही हाम्रो पूर्खाको, विरताको, अनि सारा नेपालीको इतिहास जोगाउनको लागि यो ठोकठाक प्रतियोगिताको विषयमा रमितेले सोचेको हो । अन्यथा नलिनु होला । मन पर्यो भने एक पटक लाइक ठोकी शेयर गर्नुहोला । एक पटक मुस्कुराउनु पनि होला । अनि दुइपटक सोच्नुहोला । जय ठोकठाक प्रतियोगिता, जय रमिते ।।।