शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो-थकाली सेवा समिति जापानले  थकाली जातिको महान चाड “तोरन्ल्ह” को उपलक्ष्यमा  विधीपूर्वक थकाली देवताको पुजाआजा तथा परम्परागत धनुष खेल प्रतियोगिता  हालै सम्पन्न गरेको छ ।

कानागावा प्रिफेक्चरस्थित तोचुका आर्चरी खेल मैदानमा बिहानको १० बजे देखी बेलुका ४ बजे सम्म भएको उक्त कार्यक्रममा  गौचन, शेरचन, तुलाचन र भट्टचनबिचको अन्तरचन धनुषखेल प्रतियोगिता अति नै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको थियो । सम्भवतः उक्त धनुष खेल प्रतियोगिता जापानमै पहिलो भएको अनुमान गरिएको छ ।

कार्यक्रमको शुरूमा थकालीको भेषभुषा नोकोनचोलोले सजिएका दिदिवहिनीहरुद्धारा थकालीको चार देवता र ईष्ट देवी नरिझ्यवको विधिपूर्वक पूजा गरिएको थियो । कार्यक्रममा बाण हान्ने खोलमा पुजापाठ गरी समितिका अध्यक्ष शरद कुमार गौचनले उद्घाटन गर्नु भएको थियो ।  थकाली भाषा बिज्ञ अनिल भट्टचन, राजकुमार शेरचन र बिनोद भट्टचनले तोरन्ल्हको थकाली गीत गाउँदै कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

मन्तब्यको क्रममा अध्यक्ष गौचनले धनुषबाण हानेर शिकार गर्ने पुख्यौली संस्कार हामी थकालीको चिनारी हो भन्दै सात समुद्रपारि जापानमा आफ्नो संस्कृति र संस्कारलाई निरन्तरता दिन पाउँदा ज्यादै खुशी लागेको कुरा व्यक्त गर्नु भयो ।

त्यसैगरी कार्यक्रमका संयोजक तथा सचिब हेमन्त कुमार शेरचनले हाम्रो आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने मुल लक्ष्य रहेको यस धनुषखेल प्रतियोगितामा सहभागी सबैलाई भरपूर  मनोरञ्जन लिन अनुरोध गर्नुभएको थियो । साथै आयोजित कार्यक्रमको बारेमा छोटो मन्तब्य पनि दिनु भएको थियो ।

धनुषखेल प्रतियोगितामा प्रत्येक चनको टिमबाट ५, ५ जना खेलाडि दर्ता सहित २० जना खेलाडि सहभागिवीच पहिलो चरणको प्रतिस्पर्धामा गौचन टिमले १ सय ५० अंक, तुलाचन टिमले १ सय ३० अंक,  भट्टचन टिमले ८० अंक  र शेरचन टिमले ७० अंक हासिल गरी क्रमश: प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडीहरूमा शेरचन टिमका टिम क्याप्टेन (ढाँपन) हेमन्त कुमार शेरचन, तुलाचन टिमका टिम क्याप्टेन (ढाँपन) किशन तुलाचन र शेरचन टिमकै अर्का खेलाडि राजकुमार शेरचनले हुनुभएको थियो ।

थकालीहरुको तोरन्ल्ह पर्वमा गरिने चलन बमोजिम बिजयी तथा उत्कृष्ट खेलाडिहरुलाई कन्या महिला चेलिहरुद्धारा शुभ-बढाई (केल्च्याङ)  अविरयात्रा  गरिएको थियो । खेलाडिहरुले त्यसको बदलामा महिला चेलीहरुलाई भेटि स्वरुप दानदक्षिणा प्रदान गर्ने कार्य समेत सम्पन्न भएको थियो ।

कार्यक्रमलाई अति नै ब्यबस्थितका साथ संचालन गर्दै उपाध्यक्ष अनिल भट्टचनले थकालीहरुको एकमात्र महान चाड तोरन्ल्हको बारेमा ज्यादै सरल भाषामा तोरन्ल्ह पर्वको महत्वको बारेमा समेत स्पष्ट पार्नु  भएको थियो । कार्यक्रमको अन्तमा समितिका अध्यक्षले सम्पुर्ण उपस्थिति तथा सहयोगीहरूलाई हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।***

1 2 3 4 5 6 7 9 10 12 15 16 19 20 24

तपाईको प्रतिक्रिया