दुवई-शान्तिको नारा सहित विश्व साइकल यात्रामा निस्केका सापलाखु-५, ताप्लेजुङका ५७ बर्षीय ढाकेश्वर क्षेत्रीलाई दुवईमा रहेका नेपालीहरुले सम्मानका साथ आर्थिक सहयोग गरेका छन् । यूएईको मुटु मानिने दुवई शहरमा नेपाली परिकारका स्वादहरु पस्कँदै आइरहेका सिल्भर स्पून नेपाली रेष्टुरेण्ट तथा नेपालीको सगरमाथा रेष्टुरेण्टले नेपालको राष्ट्रिय झण्डा र नेपालीको पहिचानलाई विदेशमा चिनाएको भन्दै सम्मान तथा आर्थिक सहयोग गरेको हो ।
गत १२ मार्च मंगलबारका दिन एक कार्यक्रमको आयोजना गरी साइकल यात्री क्षेत्रीलाई सम्मान तथा आर्थिक सहयोग गरेको थियो । अहालिया एक्सचेन्जका नेपाल कोर्डिनेटर बेनी ढकालको प्रमुख आतिथ्यता, सिल्भर स्पून नेपाली रेष्टुरेण्टकी संचालिका दिपा पाण्डेको अध्यक्षता र चर्चित मोडल तथा कलाकार आशिष पुरुषको संचालनमा भएको सम्मान कार्यक्रममा दिपा पाण्डेले खादा ओर्ढाई सम्मान-पत्रका साथ नगद रकम हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी गत १३ मार्च बुधबारका दिन दुवईस्थित संचालनमा रहेको नेपालीको सगरमाथा रेष्टुरेण्टले पनि एक कार्यक्रमको आयोजना गरी सम्मानका साथ आर्थिक सहयोग गरेको छ । कार्यक्रममा नेपालीको सगरमाथा रेष्टुरेण्टका संचालक इश्वरीप्रसाद उपाध्यायले साइकल यात्री क्षेत्रीलाई पैसाको माला लगाई सम्मान गर्नुभएको थियो । रेष्टुरेण्टकी सहसंचालिका मंजु गौली पौडेलले विश्वमा शान्तिको सन्देश फैलाउन विश्व साइकलको भ्रमणमा निस्केका क्षेत्रीलाई शुभकामना समेत दिनुभयो ।
शुरुमा मेचीदेखि महाकालीसम्म साइकल यात्रा गर्दै अन्तराष्ट्रिय क्षेत्रमा भारत, बंगलादेश र भुटान हुँदै जर्मनी, स्वीट्जरल्याण्ड, स्वीडेन, अष्ट्रलिया, वर्मा, थाइल्याण्ड, जापान र हङकङ्ग गरी ५८ देशमा भ्रमण गरिसक्नु भएको यात्रीले ५९ औ देशको साइकल यात्रामा दुवईबाट कतारतिर प्रस्थान गर्ने कुराको जानकारी गराइएको थियो ।
विश्व साइकल यात्राको क्रममा दुवई आउँदा यूएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको माया र सहयोग पाएर साइकल यात्री क्षेत्री निकै हौसिएका थिए । आगामी शुक्रबारका दिन यूएईमा क्रियाशील रहेका विभिन्न सामाजिक संघ संस्थाहरुद्धारा पनि सम्मान गरिने कार्यक्रम रहेको छ ।***