काठमाडौं – एकीकृत नेकपा-माओवादी)ले वर्तमान राजनीतिक संकटको समाधानका लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर संविधानसभा नयाँ निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।
मंगलबार राजधानीमा आयोजित एकताको सातौं राष्ट्रिय महाधिवेशन घोषणासभा तथा १८ औं जनयुद्ध दिवस कार्यक्रममा एमाओवादी शीर्ष नेताहरूले राजनीतिक संकटको समाधानका लागि आफ्नो पार्टीले राखेको प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव नै उपयुक्त रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर आगामी जेठ १५ गतेभित्र संविधानसभाको नयाँ निर्वाचन गरेर देशलाई समाधान दिनुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, दलहरूका बीचमा पछिल्ला दिनमा भएको वार्ता र सम्वादको स्तर हेर्दा केही दिनभित्रै सहमति बन्ने र सो सहमतिले देशलाई निकास दिने विश्वास पलाएको छ ।
जनताको भावना र परिवर्तनको चाहनालाई संस्थागत गर्न नदिइए आफ्नो पार्टी जनतालाई साथमा लिएर पुनः बिद्रोह गर्न बाध्य हुने खुलासा गर्दै एमाओवादी अध्यक्षले भन्नुभयो “हाम्रो पार्टी जनयुद्ध सुरु गर्दा उठाएको मुद्दालाई छाडेका छैनौँ, बाटो मात्र बदलेका छौँ, हामी शान्तिपूर्ण रूपमा जनताको चाहनालाई सम्बोधन गर्न चाहन्छौं, त्यसो गर्न नदिइए बिद्रोह गर्नुको विकल्प रहन्न ।”
हालै सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले विचार, कार्यनीति र संगठनमा नयाँपनको सुरुआत गरेको जानकारी दिँदै उहाँले नितान्त आर्थिक विषयलाई मात्रै नभई राजनीतिक नेतृत्वमा आर्थिक विकास तथा समृद्धिलाई अगाडि बढाउने कार्यनीति अगाडि सारेको बताउनुभयो ।
आफूलाई कम्युनिस्ट पार्टी बताउने केही समूह र घटकले एमाओवादीलाई संशोधनवादी र दक्षिणपन्थीको आरोप लगाएको प्रसंग जोड्दै अध्यक्ष दाहालले भन्नुभयो, क्रान्तिको नाममा सिन्को समेत नभाँच्नेले एमाओवादीलाई गाली गर्नाको कुनै तुक रहँदैन, हामीले क्रान्तिको बाटो छाडेका छैनौ, छाड्न पनि सक्दैनौँ ।
माओवादी जनयुद्धका कारण राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको, सङ्घीयता सुनिश्चित भएको, धर्मनिरपेक्षता कायम भएको बताउँदै अध्यक्षले जनयुद्धबाट केही पनि भएन भन्नु सोह्रै आना झुट हो भन्नुभयो । आर्थिक उन्नति र प्रगति नगर्दासम्म राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुन नसक्ने ठहरका साथ आफ्नो पार्टी राजनीतिक विचारको नेतृत्वमा आर्थिक क्रान्तिलाई अगाडि बढाएको उहाँको भनाइ छ ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले हेटौंडा महाधिवेशनले पार्टी सुदृढ एकता कायम गरेको र पार्टी नयाँ आधारमा एकताबद्ध भएको बताउनुभयो । एमाओवादीलाई कुनै पनि तागतले बढार्न नसक्ने तर्क गर्दै प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो, एमाओवादी विचारका आधारमा माझिएको छ, यसले योजनाका आधारमा नयाँपन दिएको छ, कार्यनीति पनि अरुभन्दा फरक ल्याएको छ, नेतृत्वमा सुदृढ एकता कायम भएको छ, त्यसकारण एमाओवादी हरेक षड्यन्त्रलाई परास्त गर्न सक्षम छ ।
पुँजीवादी जनवादी क्रान्तिलाई सम्पन्न गर्ने योजनाले नेपाली जनतामा नयाँ खालको उत्साह ल्याएको बताउँदै उहाँले एमाओवादीले जनयुद्ध सुरु गर्दा उठाएको कुनै पनि विषयलाई नछाडिएको र छाड्न पनि नसकिने बताउनुभयो । पछिल्लो राजनीतिक संकटको समाधानका लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर अगाडि जानु नै उपयुक्त विकल्प भएको र अन्तर्राष्ट्रिय प्रचलन पनि त्यस्तै रहेको उहाँको भनाइ थियो ।
कार्यपालिका र न्यायपालिका बीचको दूरी बढ्छ र एउटै व्यक्ति दुईवटा निकायको प्रमुख रहन नसक्ने तर्क गर्दैआएका केही कानुन व्यवसायीले राष्ट्रको गम्भीरतालाई नबुझेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, राष्ट्रलाई निकास दिन नखोज्ने प्रवृत्तिले आएको तर्क हदैसम्मको गैरजिम्मेवार तर्क हो ।
अन्तरिम संविधानको धारा १०६को उद्धरण गर्दै कानुनव्यवसायीले गरेको तर्क सोह्रै आना गलत भएको बताउँदै प्रधानमन्त्री डा भट्टराईले कुतर्क गर्ने कानुन व्यवसायीसँग आफू संविधानको दफा दफामा घन्टौँ छलफल गर्न तयार रहेको बताउनुभयो । विगतमा काँग्रेस, एमालेले अकुत भ्रष्टाचार गरेको प्रसंग जोड्दै प्रधानमन्त्री डा. भट्टराईले विगतका भ्रष्टाचारीले आफूलाई भ्रष्टाचारी भन्नु दिउँसै रात पार्ने काम हो भन्नुभयो । आफू राष्ट्रिय सहमतिको सरकारका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताउँदै उहाँले वर्तमान सरकार कसैको निगाहमा नभई नेपाली जनताको बलमा टिकेको बताउनुभयो ।
सरकारले अरु धेरै केही गर्न नसके पनि प्रतिक्रान्तिलाई रोक्न सकेकाले यसैमा सन्तोष मान्न समेत उहाँले आग्रह गर्नुभयो । जुन सरकारले निर्वाचन घोषणा गर्छ सोही सरकारले निर्वाचन गराउने अन्तर्राष्ट्रिय प्रचलनका विरुद्ध गएर आफूलाई लोकतन्त्रवादी बताउने काँग्रेस-एमालेले लोकतन्त्रको खिल्ली उडाएको उहाँको तर्क थियो ।
घोषणासभालाई सम्बोधन गर्दै एमाओवादीका अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी क्रान्तिको दिशाबाट कुनै पनि हालतमा विचलित नभएको बताउँदै जनयुद्ध र जनआन्दोलनले उठाएका सबै मागलाई सम्बोधन गर्न आफ्नो पार्टी प्रतिबध्द रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय स्वाधीनताको रक्षा र समाजवादी क्रान्तिका लागि महाधिवेशनले आधार तयार पारेको उहाँको भनाई थियो ।
सोही पार्टीका महासचिव पोष्टबहादुर बोगटीले महाधिवेशनबाट पारित कार्यदिशाले राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा तरंग पैदा गर्ने बताउँदै सो कार्यदिशाले ऐतिहासिक छलाङ मार्ने छ भन्नुभयो ।
कार्यक्रम अघि राजधानीका विभिन्न स्थानबाट एमाओवादी नेता तथा कार्यकर्ताहरूले जुलुस प्रदर्शन गरेका थिए ।
एमाओवादीको घोषणासभामा नेवारी, मधेसी, भोजपुरी र तामाङ समुदायको झाँकी तथा हुड्का, पञ्चेबाजालगायत एक दर्जनभन्दा बढी विभिन्न जातजातिले आआफ्नो झाँकी प्रस्तुत गरेका थिए ।
जनमोर्चा नेपालका केन्द्रीय सचिव राम लुइँटेल, कोषाध्यक्ष सहदेव कार्की, सहकोषाध्यक्ष मीनकुमारमा परियार, सचिवालय सदस्य गोपाल श्रेष्ठ, केन्द्रीय सदस्य विकास लोहार, सन्ध्या चाम्लिङलगायत २५भन्दा बढी नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीलाई एमाओवादी अध्यक्षलगायत शीर्ष नेताले रातो अबिर र माला लगाई पार्टी प्रवेश गराउनुभएको थियो ।
जनयुद्ध दिवसका अवसरमा एमाओवादीका नेता तथा कार्यकर्ताले एकापसमा टीका आदानप्रदान गर्दै शुभकामना दिएका थिए । जनयुद्ध दिवस तथा ११ औं जनमुक्ति सेना दिवसमा नेपाली क्रान्तिको बाँकी कार्यभार पूरा गर्न आ-आफ्नातर्फबाट प्रतिबद्ध भएर लाग्ने वाचा गरिएको वाइसिएलका केन्द्रीय संयोजक गणेशमान पुनले जानकारी दिनुभयो । ***