Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

education ministerलण्डन–शिक्षामन्त्री दीनानाथ शर्माले अमलाचौर अल्मुनाई एशोसिएसनको विधिवत उद्घाटन गर्नुभएको छ । वर्ड एजुकेशन फोरमको सम्मेलनमा भाग लिन लण्डन आएका शर्माले एनआरएन युकेको आयोजनामा भएको एक कार्यक्रमकावीच अल्मुनाईको उद्घाटन गर्नुभएको हो । बागलुङको अमलाचौर गाविसमा रहेको पृथ्वी उच्चमाध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको अल्मुनाईको उद्घाटन गर्दै शिक्षामन्त्री शर्माले आफुले पढेको स्कुलप्रति पूर्व विद्यार्थीहरुले देखाएको सद्भावको प्रसंशा गर्नुभयो । मन्त्री शर्मा स्वयंले पृथ्वी उच्चमाध्यमिक विद्यालय स्थापना गर्न ठूलो भूमिका खेल्नुभएको थियो ।

उहाँले समाज विकासका लागि अगुवाइ गर्ने मानिसहरुको अभाव देखिएको समयमा देश बाहिरै भएर पनि देश तथा आफ्नो समाजप्रति विद्यार्थीहरुले देखाएको सद्भावले शिक्षाको विकासका लागि टेवा पुग्ने धारणा राख्नुभयो । उहाँले देशको राजनीतिक अस्थिरताका कारण आफु शिक्षामन्त्री भए पनि सोचे जस्तो काम गर्न नपाएको भन्दै दुःख समेत व्यक्त गर्नुभयो । शिक्षामन्त्री शर्माले आफु व्यक्तिगतरुपमा शैक्षिक विकासका लागि संधै लागि परेको स्मरण गर्दै सबैको सदभाव रहेमा देशको शैक्षिक स्तर माथि उठाउनका लागि सहज हुने धारणा राख्नुभयो ।
एनआरएन आइसीसी प्रवक्ता डाक्टर हेमराज शर्माले नेपालबाट बाहिर आएर बस्नेहरुको पनि समाजप्रति उत्तिकै दायित्व हुने बताउँदै समाज विकासका लागि आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा बेलायतका लागि नेपालका राजदुत डाक्टर सुरेशचन्द्र चालिसे तथा वरिष्ठ समाजसेवी डाक्टर राघव धिताल लगायतले समेत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकै बीच शिक्षामन्त्री शर्माले अल्मुनाईको वेवसाइटको समेत उद्घाटन गर्नु भएको थियो । आसा नेपाल नामक उक्त बेवसाइटमा अल्मुनाईले गर्ने सबै गतिविधीहरुलाई राखिने बताइएको छ । पृथ्वी मावि अमलाचौरमा पढेका पूर्व विद्यार्थीहरुले देशविदेशमा जहाँ बसेको भएपनि आफ्नो स्कुलका लागि सहयोग गर्ने प्रतिवद्धता यसअघि नै जनाइसकेका छन् ।
एनआरएन युकेमा उपाध्यक्ष महेन्द्र कंडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डासु पाण्डेले स्वागत मन्तब्य दिएका थिए भने विनोद न्यौपानेले कार्यक्रम संचालन गरे । कार्यक्रममा नेपाली टिभीका निर्दैशक मोहन गुरुंग, ब्यवसायीद्धय यादव भण्डारी र नरेन्द्र कंडेल लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया