महात्मा गान्धीको अमूल्य भनाई हो यो: “संसारमा तिमीले देख्न चाहेको परिवर्तन आफू नै बन” । जीवनका महत्वपूर्ण सत्यहरु मध्ये एक यो हो कि आँफु स्वयंले नचाहेमा अरु कसैले पनि कसैलाई बिगार्न या सुधार्न सक्दैन । हाम्रो भित्रि सत्तासम्म पुग्ने साँचो केवल हामीसंग मात्र छ, अन्य कसैसंग छैन । हामी भित्रको स्व-सत्ता निपट निजी र व्यक्तिगत अस्तित्व हो । यसकारणले, अरुलाई सुधार्न या बिगार्न खोज्नु एक असफल प्रयास मात्र हो । यो सम्पूर्ण जगतमा सचेतन रुपमा चाहेमा केवल एक व्यक्तिलाई सुधार्न सक्छौं र त्यो हामी आफैं हौं। अरुमा समस्या देख्ने बानीले हाम्रो दृष्टि समस्याको केन्द्रविन्दुबाट धेरै पर हट्छ । यदि समस्या कतै छ भने त्यो आफैभित्र नै छ, र सारा जगत आफ्नो मनको प्रतिबिम्ब मात्र हो ।
आज राष्ट्रमा हामीले चाहे जति शान्ति छैन त्यहि नै कारण हो जो राष्ट्रका अगुवाई छन् उनीहरु स्वयं आफूलाई शान्त राख्न सकेका छैनन् | उनीहरु स्वयंको सोचाई सकारात्मक बन्न सकेको छैन | एकले गरेको काम गर्न खोजेको काममा अर्कोको सकारात्मक सोचाई छैन अनि जताततै समस्या नै समस्या, नकारात्मक सोच फैलिरहेको छ | नकारात्मक पनि हामीले लगाएको अर्थ हो, त्यहि नकारात्मकतामा सकारात्मकता देख्ने खुबी (सोच ) पनि हामी संगै छ | किनभने नकारात्मक सोचको वृद्धि हुदै जादा हरेक कुरामा नकारात्मक देख्ने बानी भैसकेको हुन्छ | नकारात्मकता अरु केहि होइन सकारात्मकता को अभाव हो | यदी हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन |
हाम्रो दैनिक दिन चर्या हेर्ने हो भने हामीले हाम्रो दिन शुरु गरेका हुन्छौं देशमा शान्ति छैन | व्यापार/ब्यबसामा सोचे जति फाइदा छैन | आफ्नो शिक्षा, धन, परिवारको सहयोग चाहे जति पाउन सकिएन जस्ता सिकायत भाव मात्र बढी हुन्छ हामीमा | दुख ब्यक्त गर्न आतुर हुन्छौं हामी | आफ्नो सफलताको बारेमा खुसी भएर सबै समक्ष भावना साटासाट गर्ने मित्रहरु कमै भेटिन्छ| सर्वप्रथम त प्रत्येक व्यक्ति हामी स्वयम् शान्त हुनु जरुरी छ | म किन शान्त छैन, म मा किन सकारात्मक सोचको बिकास हुन सकेको छैन ? भन्ने प्रश्न को जवाफ आफैसंग खोज्नु जरुरी छ । हामी शान्त भयौं भने हाम्रो परिवार शान्त हुन्छ, परिवार शान्त भयो भने छिमेक शान्त हुन्छ , छिमेक शान्त भयो भने मात्र राष्ट्र शान्त हुन्छ ।
हाम्रो मस्तिस्कको आकार हेर्दा कति सानो छ, तर यसको सोच्ने शक्ति, विचार अथाह छ किनभने मानिस जन्मजात चेतनशील, विवेकशील प्राणी हो । सोच्ने र विचार गर्ने सक्ने शक्ति अरु प्राणीमा भन्दा बढी छ मानिसमा । हाम्रो समग्र जीवन कर्मले ओगटेको छ । जन्मदेखि मृत्युसम्म हामी एकपछि अर्को कर्म गर्छौं । दैनिक आवश्यकताको पूर्तिको साथ-साथ आफ्नो धन, मान, मर्यादा, सफलता, असफलता सबैमा हाम्रो कर्मको सीधा हात रहन्छ । कर्मले नै हाम्रो जीवनको दिशा निर्धारण गरेको हुन्छ । केहि आफ्नो कर्मको कारणले सुखी छन् त केहि कर्मकै कारणले दुःखी । कसैले अरुको खुशियाली बढाउने कर्म गर्छ भने कसैले अरुको दुःख बढाउने । कतिले आफ्नो जीवन अरुलाई दान दिनुलाई आफ्नो कर्म बनाएका छन् भने कतिले अरुको जीवन लिनुलाई आफ्नो कर्म ।
हामी संधैं मैले त राम्रै गरेको थिएँ, राम्रै गर्छु तर अरु नराम्रो भएकोले मैले समेत नराम्रो भोग्नु पर्यो भनेर सजिलै दोष अरुमाथि थोपर्छौ | हामी हिलो माथि फुल्ने कमल जस्तो बन्नुपर्छ, बन्न सक्छौं | कमल हिलोमैं फुल्छ तर हिलो छोएको हुदैन, हिलोबाट माथि उठेर आफ्नो पहिचान दिएको हुन्छ ।
सोच र दृष्टिकोणमा फरक छ, सोच ‘हाम्रो विचार’ हो भने दृष्टिकोण ‘हाम्रो हेराई’ | कसैको सकारात्मक सोच छ भने पनि हामी त्यसमा हाम्रो दृष्टि ‘हेराई’ लगाउछौं र आफ्नो तर्फबाट मुल्यांकन गर्छौं | हरेक कुरा ,हरेक अवस्थालाई जे छ त्यहि रुपमा (Witness) भएर हेर्ने बानी छैन हाम्रो त्यसमा आफ्नो कथा, व्यथा जोडछौं र आफ्नै अर्थ लगाउछौ | सकारात्मक प्रसंसा गर्ने बानी भयो भने हाम्रो सोचाई सकारात्मक बन्छ । कसैको उन्नति प्रगति र असल ब्यबहारको सम्यक प्रसंसा गर्ने बानीले आफ्नो पनि विकास हुन्छ । अरुको प्रगति र असल व्यवहारलाइ घमण्डको संज्ञा दिन हामी पछि पर्दैनौं, यसले हाम्रो अन्तर विकास पक्कै गर्दैन । सबैको भलो होस्, सबैको राम्रो होस्, जताततै राम्रो देख्न पाइयोस भन्ने सकारात्मक भावना राख्ने हो भने त्यहि नै देख्न पाइन्छ । भगवान बुद्धले सधैं भन्ने गर्नुहुन्थ्यो -‘भवतु सव मङ्गलम ‘ यहि कुरा सिकाउनु भएको हो हामीलाई | सबैको भलो चितायौ भने तिम्रो भलो अवस्य हुनेछ । सकारात्मक बिचारको बिउ रोपेमा सकारात्मक फल फल्छ, नकारात्मक बिचारको बिउ रोपे नकारात्मक फल आफैले भोग्नुपर्ने हुन्छ | त्यसैले सकारात्मक सोच राखेर राम प्रवृतिले चलेका छौँ कि नकारात्मक सोचाइले रावण प्रवृतिमा जीवन बिताई राखेका छौं यो हाम्रै सोचमा भर पर्छ ।
आफ्नो शरीरप्रति होस् राख्ने र यो सुन्दर जीवन पाएकोमा अहोभाव (Gratitude) ले भरिने | दैनिक आधा घण्टा मात्र भए ध्यान र योगाभ्यास गर्ने, प्रसस्त पानी पिउने गर्नाले हाम्रो शरीर र मन स्वस्थ हुन्छ, स्वस्थ शरीर र स्वस्थ मन भएपछि विचार पनि सकारात्मक हुन्छन | दैनिक जीवनको भाग-दौडले हाम्रो चित्त बहिर्मुखी भएर हामी आफ्नो स्व-केन्द्रबाट धेरै टाढा पुग्छौं । मनमा उठ्ने कामना, वासना र विचारले चित्तलाई आन्दोलित र बिस्तारै अशान्त बनाउँछ । ध्यानले हामीलाई स्व-केन्द्रमा फर्काई मन र ह्दयलाई स्थायीरुपमा शान्त र सहज बनाउँछ । ध्यान हाम्रो सहज आन्तरिक स्थिति हो जहाँ शरीर, मन र ह्दय एक गहन विश्रामपूर्ण, सरल र स्वभाविक अवस्थामा रहन्छन् । ध्यानस्थ अवस्थामा हामी आफैभित्र लुकेको अनन्त शान्ति, ज्ञान, सत्य, प्रेम, सम्पन्नता, सौन्दर्य र रहस्यमा डुब्ने र एकाकार भई स्वस्थ, सफल र मस्त जीवन जिउने सूत्र प्राप्त गर्दछौं । ध्यानले व्यक्तिगत, पारिवारिक र कर्म जीवनमा हामीलाई सहयोग पुरयाउँछ । एउटा ध्यानी व्यक्ति प्रेमले भरिपूर्ण, आफ्नो कर्मप्रति निष्ठावान र व्यवहार कुशल पनि हुन्छ ।
जसरी हामी हाम्रो धन व्यापार ब्यबसायमा लगानी गर्छौं त्यसै गरी हाम्रा बिचारहरु, हाम्रा सोचाईलाई सकारात्मकतातिर लगानी गर्नु जरूरी छ | हाम्रो विचार हामी जता लगाउछौं त्यतै लाग्छ ,त्यसैले हामीले राम्रो सोच राखेर राम्रो कर्म गरयौ भने कहिल्यै पछुताउनुपर्दैन | हाम्रो मन, मस्तिस्कलाई सधै सकारात्मक कुराहरुमा लगाउने, असल आचार ब्यबहार गर्ने, प्रेमपूर्ण हुने, अरुको प्रसंसा गर्ने, आफूभन्दा आदरणीय व्यक्तिलाई आदर गर्ने, जहाँ जस्तो परिस्थितिमा पनि सकारात्मक अभिव्यक्ति दिने बानी गर्ने, अरुको सहयोग प्रति, जीवनमा जसले पनि हामीलाई सानो कुरामा भने पनि मदत गरेको छ भने पनि अहोभाव (Gratitude),ब्यक्त गर्ने बानी नै सकारात्मक सोच बढाउने उपाय हुन् | संसारमा खुशी राख्ने एक मात्र तरिका यहि हो । यहीनै हो आफ्नो जीवनमा आनन्दको खजाना खोज्ने विधि र यहि नै हो पृथ्वीलाई स्वर्ग वनाउने सुनौलो कला ।
– अनुसन्धानकर्ता (इबाराकी युनिवर्सिटी) डा. पाण्डे एनआरएनए आइसीसीका लागि जापानबाट महिला प्रतिनिधि हुनुहुन्छ |