बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

Moter Batoम्याग्दी – आफ्नो गाउँको विकास गर्नका लागि गाउँभन्दा निकै टाढा रहेर पनि उल्लेख्य योगदान पुरयाउन सकिन्छ भन्ने कुराको गतिलो उदाहरण जिल्लाको देबिस्थान गाविसबाट बिभिन्न कामका सिलसिलामा बेलायत बसोबास गर्नेहरुले प्रस्तुत गरेका छन् । देबिस्थान गाविसमा मोटरबाटो पुरयाउनका लागि देबिस्थानमा जन्मिएर बेलायत बसोबास गर्नेहरुको योगदान वास्तवमै अनुसरणीय भएको कुरा अहिले पुष्टी भएको छ ।

देबिस्थान गाविसमा जन्मिएर युकेमा रोजगार तथा व्यवसाय गर्दै आएकाहरुले गाउँसम्म पुरयाउनका लागि शुरुआत गरेको मोटरबाटो निर्माण कार्य सम्पन्न गर्नका लगि त्यहाँ अभियान नै सञ्चालन गरेका छन् । अभियानका क्रममा दरबाङदेखि करिव तिन घण्टाको पैदल दुरीमा रहेको गाउँसम्म मोटरबाटो पुरयाउनका लागि सात लाख ६० हजार रुपैयाँ संकलन गरि मोटरबाटो निर्माण समितिलाई हस्तान्तरण गरिसकेका छन् ।

गतसाता देबिस्थान गाविसको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच मोटरबाटो निर्माण समितिका अध्यक्ष दलबहादुर पुनलाई काठमाण्डौ युके सम्पर्क समितिका प्रतिनिधि कविन्द्र फगामीले युके निबासी देविस्थानेहरुबाट संकलन भएको उक्त रकमको चेक हस्तान्तरण गरे । युकेमा बसोबास गर्नेहरुले देबिस्थानसम्म मोटर जुनसुकै हालतमा पनि यसै आर्थिक वर्ष सम्ममा पुरयाउनुपर्ने र त्यसका लागि आफूँहरुले जतिसुकै रकम पनि संकलन गर्न तयार भएको पनि खबर पठाएको फगामीले बताए ।

युके निबासीहरुले यसै आर्थिक वर्षमा तिन किस्ता गरि रकम पठाउने प्रतिवद्धता जनाएकोमा पहिलो किस्ता बापतको रकम पठाइसकेको र बाँकी दोस्रो किस्ता आउँदो माघसम्म पठाउने र बाँकी तेस्रो किस्ता असार मसान्तसम्म पठाइने पनि कार्यक्रममा जानकारी गराइएको थियो । अहिलेसम्म दरबाङदेखि तिन किलोमिटरको दुरीसम्म ट्रयाक खोल्ने काम मात्रै सम्पन्न भएको र उक्त काममा ५६ लाख रुपैयाँ खर्च भइसकेको निर्माण समितिका अध्यक्ष दलबहादुरले जानकारी गराए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँविकास समितिका सचिव लेखनाथ रेग्मीले आफ्नो गाउँको विकासका लागि अरुको मुख ताक्ने प्रबृत्तिको अन्त्य स्थानीयबाटै हुनुपर्नेमा त्यसको सुरुआत देबिस्थानबासीले गरिसकेको बताए । उनले देबिस्थानबाट युकेमा गएकाहरु जिल्लामै नमुना नागरिकका रुपमा प्रस्तुत भएको आफूँले महसुस गरेको बताए । यस्ता काम नै दीगो र चिरस्थायी हुने उनको तर्क थियो । कार्यक्रममा भीम माविका प्रअ डम्मरबहादुर घर्ती, देविस्थान कृषि संजालकी अध्यक्ष लक्ष्मी मल्ल, नेपाली कांग्रेस गाउँइकाइ समितिका अध्यक्ष अमलाल फगामी, स्थानीय दिलबहादुर पुन लगायतले मन्तव्य राखेका थिए । गतवर्ष देखि निर्माण शुरु भएको उक्त सडकमा गत आर्थिक वर्षमा गाविसबाट चार लाख तथा जिविसबाट समेत सहयोग भएको थियो । यो वर्ष पनि उक्त सडक गाविस तथा जिविसको प्राथमिकतामा गरेको सचिव रेग्मीले जानकारी दिएका छन् ।

प्रवासमा रहेर पनि आफ़्नो गाउंठाउंका लागि संभव भएसम्मका सहयोग जुटाउन बेलायतमा रहेका देविस्थानबासीहरु संगठित भएर रहेका छन भने बर्षभरि कुनै न कुनै कार्यक्रममार्फ़त एकत्रित हुदै आएका छन।  म्याग्दी देबिस्थान जुग्जा निवासी क्याप्टेन रेशम  शेरचनको अगुवाईमा बेलायतमा रहेका देबिस्थानबासीहरुको संगठन क्रियाशील छ । ***

***

तपाईको प्रतिक्रिया