बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
वीरगन्ज- नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मधेसविरोधी कुरा गर्नेलाई गोली ठोक्ने खुला चेतावनी दिएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्षसमेत रहेका यादवले मंगलबार वीरगन्जमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
गत १२ जेठमा भएको सर्वदलीय बैठकमा मुलुकको ठूलो पार्टीका राष्ट्रिय अध्यक्षले मधेसविरोधी अभिव्यक्ति दिएको उनले बताए । ‘बैठकमा ठूला पार्टीका ती ठूला नेताले मधेस प्रदेश लिनका लागिआधा मधेसी नै मर्नुपर्छ भने,’ यादवले औँला घुमाउँदै भने, ‘मैले पनि तत्कालै जवाफ दिएँ, तिमीले मधसीलाई के मार्छौ ? मधेसीलाई मार्ने कुरा त परै जाओस्, यदि तिमीले मधेसीतर्फ आँखा तरेर हेर्‍यौ भने म यहीँनिर तिमीलाई गोली ठोकेर मारिदिन्छु । मैले ठीक यसैगरी भनेको हुँ ।’ उनले ती नेताको नाम भने खुलाएनन् ।
सञ्चारमन्त्री यादवले आफूले बोलेका कुराको अडियो रेकर्ड अझै पनि सुरक्षित रहेको जिकिर गरे । ‘मैले त्यति भनेपछि वार्ता नै भंग भयो,’ उनले थपे, ‘अनि, मलाई अनुशासनहीन मन्त्रीको आरोप लगाइयो ।’ त्यही दिन राति आफूलाई शक्तिशाली मुलुकको दूतावासबाट टेलिफोन आएको पनि उनको दाबी छ । दूतावासबाट फोन गर्नेलाई पनि आफूले ‘मधेसविरोधी कुरा गरे गोली ठोक्ने’ भनाइ दोहोर्‍याएको यादवले बताए ।
‘मैले त्यस बेला मात्रै होइन, अहिले पनि भन्दै छु, यदि कसैले मधेसविरोधी कुरा गर्छ भने म गोली ठोक्न तयार छु । चाहे त्यो कुनै ठूलो नेता किन नहोस्,’ उनले दोहोर्‍याए । १३ जेठमा त्यही दूतावासले आफूलाई काठमाडौंस्थित एक पाँचतारे होटलमा निम्तो गरेर भोज खुवाएको पनि यादवले बताए । ‘होटलको भोजमा मलाई ती राजदूतले तिमीले जे गर्‍यौ, त्यो ठिकै गर्‍यौ भनेर थप्थपाए,’ उनले थपे ।
सञ्चारमन्त्री यादवले कांग्रेस र एमालेका कारण मुलुक अहिलेको दुरवस्थामा पुगेको आरोप लगाए । मुलुकमा अहिले यथास्थितिवादी र परिवर्तनकामी शक्तिबीच संघर्ष चलिरहेको बताउँदै यादवले भने ‘यथास्थितिवादीको नेतृत्व कांग्रेसले र परिवर्तनकामी शक्तिको नेतृत्व मधेसी मोर्चा र एमाओवादीले गरिरहेको छ ।’ उनले अन्तत: जित परिवर्तनकामी शक्तिकै हुने जिकिर गरे ।
यादवले अगाडि भने, ‘स्वर्गजस्तो मुलुकलाई कांग्रेसले नरकजस्तो बनाइदियो । अब उनीहरूका दिन सकिनै लागेका छन् ।’ पार्टीका बहुमत केन्द्रीय सदस्य आफ्नो साथमा रहेकाले यो महाधिवेशन अवैधानिक भएको प्रचार झुठो भएको दाबी पनि उनले गर । यादवले आफ्नो पार्टी जातिवादको वकालत गर्ने नभएर जातीय विभेदको विरोध गर्ने पार्टी भएको प्रस्ट पारे ।
उद्घाटन सभालाई मधेसी जनअधिकार फोरम नेपालका महासचिव जितेन्द्र देव, संघीय सद्भावना पार्टीका सहमहासचिव शिव पटेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, तमलोपा नेपालका वरिष्ठ उपाध्यक्ष रामचन्द्र कुशवाहा, सद्भावना पार्टीका केन्द्रीय सदस्य नेजामुद्दिन समानीलगायत नेताले पनि सम्बोधन गरेका थिए । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री बाबुराम भट्टराई र मधेसवादी दलका अध्यक्षहरूले पनि सम्बोधन गर्ने भनेर फोरम गणतान्त्रिकले पर्चा पम्प्लेटमार्फत प्रचार गरे पनि उनीहरू कोही आएनन् । २३ कात्तिकसम्म चल्ने फोरम गाणतान्त्रिकको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनबाट पार्टीको विधान संशोधन, केन्द्रीय कार्यसमिति सदस्य संख्या ३१ बाट थपेर ५१ पुर्‍याउनेलगायत विषयमा पनि छलफल हुनेछ । महाधिवेशनमार्फत यादवले पार्टी नेतृत्व वैधानिक रूपमै आफ्नो हात पार्ने तयारी गरेका छन् । हाल कारावासमा रहेका जयप्रकाश गुप्ता मुक्त हुन एक महिना पनि बाँकी नहुँदा यादवले हतारहतार महाधिवेशन आयोजना गरेर आफूलाई पार्टी अध्यक्ष घोषित गराउन लागेका हुन् । जयप्रकाश गुप्ता पक्षधर फोरम गणतान्त्रिकका नेता नन्दन दत्तले सञ्चारमन्त्री यादवले केन्द्रीय सदस्यहरूलाई पैसाको प्रलोभनमा पारेर महाधिवेशनमा बहुमत जुटाउने तयारी गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया