विराटनगर– मोरङ जिल्लाको इन्द्रपुर गाविसको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय(पूविवि)को स्वामित्वमा रहेको १३ बिघाभन्दा बढी जग्गा विभिन्न जातीय सङ्गठनले कब्जा गर्ने क्रम तीव्र बनेको छ ।
पूविविले केन्द्रीय कार्यालय गोठगाउँमा सारेर आफ्नो शैक्षिक गतिविधि सञ्चालन गर्न नसक्दाको परिणाम जग्गा कब्जा भएको छ ।
रु चालीस करोडभन्दा बढीको लगानीमा २०५७ सालमा स्थापित विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित ३०० श्ययाको चिकित्सालयलगायत एमबिबिएस कक्षासमेत सञ्चालनमा ल्याई स्थानीयवासीको मागलाई सम्बोधन गर्न नसक्दा विश्वविद्यालयको स्वामित्वमा रहेको जमिन क्रमशः कब्जा गर्ने होडबाजी नै चलेको हो ।
विश्वविद्यालय प्रशासनको बेवास्ताका कारण दिन प्रतिदिन भग्नावशेष बन्दै गएपछि यसको स्वामित्वमा रहेका जग्गा जातीय समूहले कब्जा हुन थालेको हो । एक सातायता विश्वविद्यालयको स्वामित्वमा रहेको ८०५ बिघामध्ये झन्डै १३ बिघा जग्गा १४ विभिन्न जातीय सङ्घसंस्थासम्बद्ध आदिवासी जनजाति महासङ्घको अगुवाइमा कब्जा गरिएका हुन् ।