काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गर्नुभएको राजनीतिक प्रस्तावमाथि हिजो पनि छलफल जारी रहृयो ।
पार्टी केन्द्रीय कार्यालय बिपीनगरमा पार्टी सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री सिटौलाले पेस गर्नुभएको राजनीतिक प्रस्तावमाथि पार्टी नौजना पदाधिकारी र सदस्यले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकको प्रारम्भमा पार्टी सभापति कोइरालाले तीन दलका शीर्षस्थ नेताहरूबीच भएको छलफलका बारेमा पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जानकारी गराउनुभएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।
राजनीतिक प्रस्तावमाथि उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. प्रकाशशरण महत, सुजाता कोइराला, पद्मनारायण चौधरी, मनमोहन भट्टर्राई, नवीन्द्रराज जोशी, अजयकुमार चौरसिया र पुष्पा भुसालले धारणा राख्दै सहमतिका लागि वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।
उहाँहरूले राजनीतिक सहमति भएमा संविधानसभा पुनःस्थापना गरी संविधानमा देखिएका विवादित मुद्दाको छिनोफानो लगाउनुपर्ने र सहमति हुन नसके ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने सुझाव पेश गर्नुभएको पनि प्रवक्ता बडुले बताउनुभयो ।
बैठकले नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा समाजसेवी डा. दुर्गादत्त पन्तको ८० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । ***