काठमाडौं- दिवंगत राजा वीरेन्द्रको नाममा रहेको घर तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो दिएको पुष्टि भएको छ । छाउनीस्थित सो घर वीरेन्द्रको सम्पत्तिको रूपमा नेपाल ट्रस्टले आफ्नो नाममा सारेको छ । तर, प्रेरणाले छाड्न पाँच करोड मागेकी छिन् ।
झन्डै १५ रोपनी परिसरको सो भवन महेन्द्रका भाइ हिमालयविक्रम शाहको थियो । उनी निःसन्तान भएकाले अपुतालीको रूपमा घर राजा वीरेन्द्रले पाएका थिए । अपुतालीमा परेकोे घर र जग्गाको लालपुर्जामा धनीको नाम ‘श्री ५ महाराजाधिराज’ उल्लेख थियो ।
वीेरेन्द्रको वंश विनाशपछि सो घर महाराजाधिराजको रूपमा ज्ञानेन्द्रको भयो, यही वेला उनले छोरी प्रेरणालाई दाइजो दिए । तर, वीरेन्द्र्रको नाममा रहेका सारा सम्पत्ति नेपाल ट्रस्टमा राख्ने सरकारी निर्णयपछि छाउनीको घर पनि कानुनी रूपमा प्रेरणाबाट खोसिएको छ । घरको लालपुर्जा अहिले नेपाल ट्रस्टको नाममा बनिसकेको छ ।
पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको जग्गा खोजबिन गर्ने क्रममा नेपाल ट्रस्टले प्रेरणा बस्ने घर र जग्गा पनि वीरेन्द्रकै भएको फेला पारेको हो । स्रोतका अनुसार घर र जग्गाको स्वामित्व लिएपछि खाली गराउन ट्रस्टका कर्मचारीहरूले घरमै गएर प्रेरणालाई भेटेका थिए ।
तर दाइजोमा पाएको घर छाड्न पे्रेरणाले ट्रस्टसँग पाँच करोड मागेकी छिन् । ‘दाइजोमा घर पाएपछि मर्मत गर्दा पाँच करोड खर्च भएको उहाँको दाबी छ,’ नेपाल ट्रस्टका एक कर्मचारीले भने, ‘त्यो रकम पाए घर छाड्ने भन्ने उहाँको सर्त छ, हामीले निर्णय गर्न सकेका छैनौँ ।’
प्रेरणाले पैसा मागेपछि त्यसपछि यस घरबारे नेपाल ट्रस्टका कर्मचारीले ताकेता गर्न छोडेका छन् । ‘पूर्वराजकुमारी प्रेरणा बस्ने गरेको छाउनीको १५ रोपनी १ आना १ दाम जग्गा र घर कानुनी रूपमा नेपाल ट्रस्टको स्वामित्वमा आएको छ,’ नेपाल ट्रस्टका सचिव श्रीधर गौतमले नयाँ पत्रिकासँग भने, ‘यसबारे यस ट्रस्टका कर्मचारीले उहाँलाई जानकारी गराइसकेका छन् । अहिले हामीले यस विषयमा केही निर्णय गरेका छैनौँ ।’
महेन्द्रका दुई भाइ हिमालयशमशेर र बसुन्धरा निःसन्तान भएकाले उनीहरूको नाममा रहेको जग्गा वीरेन्द्र, ज्ञानेन्द्र र धीरन्द्रको नाममा अपुताली पर्न गएको थियो । भाग लगाउँदा दाजु वीरेन्द्रलाई अपुतालीमा परेको जग्गा ज्ञानेन्द्रले आफ्नी छोरीलाई दाइजो दिएका थिए । दाइजो दिए पनि कानुनी रूपमा जग्गामा स्वामित्व हस्तान्तरण गरिएको थिएन । जग्गाको लालपुर्जार्मा श्री ५ महाराजाधिराज नै राखिएको थियो ।
जग्गाको लालपुर्जामा श्री ५ महाराजाधिराज नै राखेपछि राजसंस्था रहँदासम्म कुनै किसिमको कर र राजस्व लाग्दैनथ्यो । यही कारण पनि उक्त जग्गामा स्वामित्व हस्तान्तरण गर्न कसैले चाहेनन् । तर, अहिले भने घरजग्गा नै गुमेको छ । कामनपा- १३ स्थित सात हजार ६ सय ६४ वर्गमिटर क्षेत्रफल ओगटेको जग्गा अब भने नेपाल ट्रस्टको लालपुर्जामा २५ नम्बर कित्ताका रूपमा दर्ता छ ।
०६० मंसिरमा प्रेरणाको बिहे भएपछि छाउनीको घरमा प्रेरणा र उनका पति राजबहादुर सिंह बस्दै आएका छन् । ०६४ मा नेपाल ट्रस्ट निर्माण भएपछि यसले वीरेन्द्र र उनको परिवारको नाममा रहेको जग्गा खोजबिन गर्न सुरु गरेको हो । वीरेन्द्र र उनको परिवारको नाममा रहेको जग्गा खोजबिन गरी आफ्नो स्वामित्वमा राख्ने अख्तियारी ट्रस्टले पाएको छ ।