विराटनगर- राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले एकिकृत नेकपा माओवादीले सुनियोजीत ढंगमा मुलुकलाई विभाजनमा लगेर सत्ताकब्जाको रणनितिमा लागेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष भण्डारीले मुलुक सुन्यतामा जान्छ भन्ने जान्दाजान्दै माओवादीले संविधानसभा विघठन गराई राष्ट्रिय सहमती छोडेर केहि दललाई लिएर मोर्चावन्दी गर्नुले मुलुकलाई विभाजनमा लगी सत्ताकब्जाको षड्यन्त्र गरीरहेको दावी गर्नुभयो ।
उहांले एकिकृत माओवादी लगायतका केहि दलहरुले मोर्चा बनाएर संघियतावाट मुलुकको पुर्नसंरचना गर्ने विषयलाई सत्ता लम्ब्याएर कुर्सीको कवचको रुपमा प्रयोग गर्नु नहुने बताउनुभयो । नेता भण्डारीले अहिले मुलुकको निकास खोज्ने हो भने संविधानसभामा छलफल गरेर टुंगो नलागेका मुद्दाहरुमा सहमती खोज्ने, त्यसलाई कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने र उक्त सरकारले केहि समयका लागी संविधान निर्माणको काम गर्ने गरी संसदीय निर्वाचन गराउनु पर्ने जिकिर गर्नुभयो ।
कामचलाउ सरकारको राजिनामा माग्नुको औचित्य नभएको बताउंदै अध्यक्ष भण्डारीले संविधानसभाको पुनः निर्वाचन गर्ने घोषणा गरेर गराउन नसक्ने सरकार असक्षम घोषित भइसकेकोले नैतिक र राजनैतिक रुपले सरकार छोड्नुपर्ने धारणा राख्नु भयो ।