लहान- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमति नभए वर्तमान सरकार २० वर्षसम्म पनि जान सक्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ सिरहाद्वारा शनिबार बिहान लहानमा आयोजित पत्रकारसम्मेलनमा उहाँले सहमति पनि नहुने र निर्वाचन पनि नभएको अवस्थामा वर्तमान सरकारले निरन्तरता पाइरहने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो-“नेपाली कांग्रेसका नेताहरुले मुलुकलाई २०१७ सालको अवस्थामा पुर्याउन खोजिरहेका छन् । उनीहरुको त्यो सपना कहिले पूरा हुँदैन ।” कांग्रेस र एमालेले काम चलाउ प्रधानमन्त्रीको राजीनामा माग्दै सडकबाट आन्दोलन गर्नु हास्यास्पद भएको टिप्पणी गर्दै अध्यक्ष दाहालले देशलाई राजनीतिक निकास दिनका लागि आफूले जोखिम मोलेर लडाकुलाई समायोजना गरेको बताउनुभयो ।
नेपाली कांग्रेस र एमालेसँग भएको पाँचबुँदे सहमति पालना भएमा मात्र नेपाली कांग्रेसको नेतृत्वमा सहमतीय सरकार निर्माण हुन सक्ने उहाँको भनाइ थियो ।
नेपाली कांग्रेस र एमालेको सङ्घीयता विरोधी गतिविधिका कारण नै संविधानसभा विघटन भएको आरोप लगाउँदै उहाँले आफ्नो पार्टी जनआन्दोलनबाट प्राप्त उपलब्धि स्थापित गराउन क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा कसैको विरुद्ध नभई देशलाई राजनीतिक निकास दिन गठन भएको स्पष्ट पार्दै जातीय पहिचानसहितको सङ्घीयता निर्माण, जनताको अग्रगामी अधिकार स्थापना एवम् आगामी संविधानसभा निर्वाचनमा संयुक्तरूपले जाने सम्बन्धमा मोर्चामा सहमति कायम भएको बताउनुभयो ।
राष्ट्रपतिबाट सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी अध्यादेश फिर्ता सम्बन्धमा उहाँले आफूले यसबारे राम्ररी बुझ्न नसकेको बताउनुभयो । ***