शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
काठमाडौं/नयाँदिल्ली- राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य अतिकम विकसित, भूपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि राष्ट्रसंघीय उपमहासचिव र उच्च प्रतिनिधिमा नियुक्त भएका छन् । उक्त तहको पदमा पुग्ने आचार्य पहिलो नेपाली नागरिक हुन् । राष्ट्रसंघका महासचिव बान कि मुनले आचार्यलाई मंगलबार नियुक्त गरेका हुन् । आचार्य उक्त पदमा नियुक्त भएको जनाउँदै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उनको नियुक्ति गौरवको विषय भएको बताए । ‘अबका दिनमा उनले नेपालजस्ता विकासोन्मुख र अल्पविकसित मुलुकका पक्षमा काम गरेर देखाउनुपर्नेछ,’ उनले भने ।
स्थायी प्रतिनिधिका रूपमा अझै दुई वर्ष पदावधि रहेको अवस्थामा आचार्य उपमहासचिव भएपछि नेपाल सरकारको कूटनीतिक पद रिक्त हुने भएको छ । राष्ट्रसंघीय नियोगमा भने अब सेवा अधिकारी लम्सालले कार्यवाहक स्थायी प्रतिनिधिको जिम्मेवारी लिनेछिन् ।
दुई सातादेखि रिक्त उपमहासचिव पदमा यसअघि माली राष्ट्रका चेइक सिदी दायरा कार्यरत थिए । चार वर्षे पदावधि रहने उपमहासचिव पदका लागि यस पटक नेपाल, पपुवा न्युगिनी र जमैकाका न्युयोर्कस्थित राष्ट्रसंघीय प्रतिनिधिले आवेदन दिएका थिए । राष्ट्रसंघकै प्रशासनिक तीनजना कर्मचारीसमेतको आवेदन थियो । कार्यदक्षता र पालोक्रममा यो पदपूर्ति गर्ने सर्वाधिकार राष्ट्रसंघीय महासचिव बान कि मुनलाई थियो ।
यसअघिका विशेष प्रतिनिधि दायरालाई न्युयोर्कमा आयोजित एक समारोहमाझ गत साउन १२ मा औपचारिक बिदाइ गरिएपछि यो पद रिक्त रहिआएको थियो ।
‘राष्ट्रसंघीय पद्धतिमा एउटा नेपाली प्रतिनिधि पुग्न सकेको सबैभन्दा ठूलो पद यही हो,’ न्युयोर्क नियोगका एक पूर्वस्थायी प्रतिनिधिले भने, ‘कार्यदक्षता र अनुभवका आधारमा हाम्रा प्रतिनिधिले यो पद पाउनु स्वाभाविक हो, यसमा महासचिव मुनको निर्णय एकदमै सराहनीय छ ।’ पूर्वपरराष्ट्र सचिवसमेत रहेका ५२ वषर्ीय आचार्य निर्णय र कार्यदक्षताका आधारमा परराष्ट्र वृत्तमा चिनिएका छन् ।
 हाल राष्ट्रसंघमा कम विकसित मुलुकहरूको अध्यक्षता गरिरहेको नेपाल र स्थायी प्रतिनिधि आचार्यले दाता परिचालनसहितका काममा देखाएको प्रभावकारी भूमिकाका कारण उपमहासचिव पदमा उनको नियुक्तिको सम्भावना बलियो रहिआएको थियो । ‘तुलनात्मक रूपमा राष्ट्रसंघमा नेपालको निकै राम्रो छवि छ,’ परराष्ट्रमा राष्ट्रसंघ महाशाखाका अधिकारीले भने, ‘त्यसमा पनि केही कठिनाइ वा समस्यामाथि छलफल गर्नुपरेमा महासचिव मुनसँग सीधै संवाद गर्न सक्ने क्षमता स्थायी प्रतिनिधि आचार्यमा भएकाले पनि आचार्यको पहुँचलाई विशेष रूपमा लिइएको हो ।’
ब्राजिलमा हालै सम्पन्न रियो प्लस सम्मेलन तथा सहस्राब्दी लक्ष्यका राष्ट्रसंघीय कार्यक्रममा निकट रहेर प्रभावकारी भूमिका निर्वाह गरेका कारण पनि आचार्यको मूल्यांकन विशिष्ट रूपमा भएको राष्ट्रसंघ मुख्यालयका प्रवक्ताले जनाएका छन् । कूटनीतिक सेवाको २९ वर्षे कार्यकालमा द्वैपक्षीय, क्षेत्रीय र ग्लोबल तहमा आचार्यले पुर्‍याएको योगदानलाई राष्ट्रसंघले सराहना गर्दै कम विकसित, भूपरिवेष्ठित र साना टापुहरूको समूहमा रहेको स्रोत साधन समस्याको संवेदनशीलतालाई उनले राम्ररी आत्मसात गर्न सकेको राष्ट्रसंघीय महासचिवका प्रवक्ताको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । जेनेभास्थित नियोगमा समेत स्थायी प्रमुख रहिसकेका
आचार्यले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । आचार्य सन् २००७ देखि २००९ सम्म परराष्ट्र सचिव थिए ।

तपाईको प्रतिक्रिया