शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
न्युयोर्क – सभासद् तथा काँग्रेसका बरिष्ठ नेता पत्नी डा. आरजु राणा देउवाको नाममा अमेरिकामा नेपाली आप्रवासीहरुलाई ठगेको अभियोग एक नेपाली महिलालाई पक्राउ गरिएको छ । न्युयोर्क काउन्टीको डिस्ट्रिक एर्टनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा ४४ बर्षीया हित श्रेष्ठलाई पक्राउ गरिएको र उनी विरुद्व कानुन विपरित ठगी र झुठ्ठा आश्वासन दिएको अभियोगमा काउन्टी अदालतमा मुद्दा दर्ता गरेको डिस्ट्रिक एर्टनी साईरस आर भान्सले सो जनाएका छन् ।
न्युयोर्कको नेपाली बस्ती क्षेत्रमा बसोबास गर्दै आएकी श्रेष्ठले आप्रवासी नेपालीहरुसँग उनीहरुका आफन्तलाई नेपालबाट अमेरिका ल्याईदिने आश्वासनमा हजारौं डलर असुलेको विज्ञप्तीमा उल्लेखछ ।
आरोपी श्रेष्ठले देउवा आफनो नातेदार भएको र उनको माध्यमबाट मानिसहरु भिसा लगाएर अमेरिकामा ल्याउने भन्दै प्रतिब्यक्ति तीन देखि सात हजार अमेरिकी डलर पीडित पक्षबाट असुलेकी थिईन् । श्रेष्ठले सभासद् देउवाको भ्रमणदल चाँडै अमेरिका आउने र भ्रमणदलमा समावेश भएर मानिसहरु यहाँ आईपुग्ने भन्दै डेटलाईन दिएकी थिईन् । तर,  डेटलाईन गुज्रेपछि पीडितहरुले रकम फिर्ता मागेपनि श्रेष्ठले उल्टै कानुनी बाटो खोजे  डिर्पोटेशन गरिदिने धम्की दिंदै आएकी थिईन् ।
भर्खरै नेपालबाट आएका र अमेरिका बसाईको कानुनी वैधानिकता नभएकाहरुलाई श्रेष्ठले फसाएको न्युयोर्क काउन्टीको डिस्ट्रिक एर्टनीको विज्ञप्तिमा उल्लेख छ । नवआगन्तुकहरुलाई श्रेष्ठले सहयोग गर्ने, खाना खुवाउने, सँगै बसाउने समेत गर्दै आएकी थिईन् । श्रेष्ठले केही ब्यक्तिहरुसँग आफनो नाम नितु राणा भएको र डा. देउवाको सहोदर बहिनी उल्लेख गर्दै फर्जी काम गर्न सफल भएकी थिईन् ।
यसअघि सभासद डा. देउवाले यस सम्बन्धमा सार्वजनिक विज्ञप्ति निकाली निज श्रेष्ठसँग आफनो कुनै चिनजान र सम्बन्ध नरहेको उल्लेख गर्दै ध्यानाकर्षण सहित कारवाहीका लागि अमेरिकी दुतावासलाई आग्रह गरेकी थिईन् । यस बिषयमा न्युयोर्कस्थित अधिकार नामक गैरसामाजिक संस्थाले श्रेष्ठको पक्राउको लागि भुमिका खेलेको थियो ।

तपाईको प्रतिक्रिया