Deneme Bonusu Veren Siteler
आइतबार, पौष २१, २०८१
Sunday, January 5, 2025
२०६८ सालमा विश्वका थुप्रै प्रभावशाली व्यक्तिका प्रतिष्ठा यौन काण्डका कारण धुलोपिठो भयो। अन्तर्राष्ट्रिय मुद्रा कोषका तत्कालीन प्रमुख डोमिनिक स्ट्राउस कानदेखि इटलीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनी, अभिनेताबाट नेता बनेका आर्नोल्ड स्वार्जनेगर, बेलायती फुटबल खेलाडी र्यान गिग्ससम्मलाई यौन काण्डले रुवायो। संसदभित्र ब्लु फिल्म हेर्दै गर्दा इन्डोनेसिया र भारतमा सांसद्हरू पक्राउ परे। उनीहरूले राजीनामै दिनुपर्‍यो।
विवादसँग पुरानो नाता
यो वर्षको सबैभन्दा चर्चित यौन काण्ड हो- अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख डोमिनिक स्ट्राउस कानको यौन चर्तिकला। आफ्नो यौन जीवनलाई ‘एड्भेन्चरस’ मान्ने कानलाई न्युयोर्कस्थित एक होटलकी वेट्रेसले लगाएको यौन दुर्व्यवहारको आरोप निकै महँगो साबित भयो।
आरोपको कारण कोष प्रमुखको पदबाट राजीनामा मात्रै दिनुपरेन कानले, फ्रान्सेली राष्ट्रपति निर्वाचनबाटै हट्नुपर्‍यो। विभिन्न मत सर्वेक्षणले वैशाखमा हुने चुनावमा कान राष्ट्रपतिमा निर्वाचित हुने प्रबल संभावना देखाएका थिए। फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीले कानका यौन काण्डलाई कानका विरुद्ध गतिलो हतियार बनाए। राष्ट्रपति चुनावमा कानलाई ङ्याक्नकै लागि मानिस खटाएर सार्कोजीले उनको यौन जीवनको बारेमा अनुसन्धान गर्न लगाए। स्थिति कस्तोसम्म भयो भने सन् २००९ मा कानले सार्कोजीलाई त्यसो गर्न नरोके अदालतमा उभ्याउने चेतावनी दिनुपर्‍यो।
वेट्रेसलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी केही दिन न्युयोर्कस्थित रकरआइल्यान्ड जेल र घरमै पनि नजरबन्दमा बसे। सरकारी वकिलले आरोपी महिला विश्वसनीय नभएको भन्दै आरोप फिर्ता लिए पनि मुद्दा अझै सकिएको छैन। ती वेट्रेसले कोठा सफा गर्न पसेका बेला कानले यौन दुराचार गरेको आरोप लगाएकी थिइन्। तर कान भने वेट्रेससँग सहमतिमा सहवास गरेको र पछि उनलाई फसाएको दाबी गर्दै आएका छन्।
एक फ्रान्सेली महिला पत्रकारले पनि कानमाथि बलात्कारको प्रयास गरेको आरोप लगाइन्। अन्तर्वार्ता लिन सन् २००२ मा कानको घर गएका बेला बलात्कार प्रयास गरेको बताइन्। जबर्जस्ती ब्रा खुस्काएर जिन्स खोल्न खोजेपछि उनले कानलाई लात्ताले हिर्काएर भागेको उनको भनाइ छ।
अहिले फेरि कानमाथि अर्को यौनकाण्डको अनुसन्धान भइरहेको छ। उनलाई सामूहिक यौन पार्टी गर्ने एउटा समूहमा आबद्ध भएको आरोप लागेको छ। ‘चार्ल्टन अफेयर्स’को नामबाट कुख्यात सो समूहले फ्रान्सेली शहर लिलस्थित चार्ल्टन होटललाई यौन गतिविधिको केन्द्र बनाएको थियो। कानले आफू त्यस्ता पार्टीमा सामेल भएको स्विकारे पनि त्यहाँ उपस्थित महिला वेश्या भएको थाहा नपाएको बताए। एक अन्तर्वार्तामा उनले भने, ‘नांगा महिलामा को वेश्या हो र को होइन, म छुट्याउन सक्दिन।’ फ्रान्समा वेश्यागमन अवैधानिक छैन। तर, कम्पनीको रकमबाट वेश्यालाई भुक्तानी दिनु गैरकानुनी मानिन्छ। यसो गरेको प्रमाणित भएमा कानलाई २० वर्षसम्मको जेल सजाय हुनसक्छ। कान कोषमै हुँदा त्यहीँकी एक महिला अर्थशास्त्रीसँग यौन सम्बन्ध रहेको बाहिर आएको थियो। ती अर्थशास्त्रीले पदबाट राजीनामा दिइन् भने कानले लिखित माफी मागेका थिए।
बुंगा बुंगाका नायक
एकपछि अर्को गर्दै यौनकाण्डमा मुछिएका इटलीका सिल्भियो बर्लुस्कोनी सन् २०११ मा निकै चर्चित रहे। तीन पटक प्रधानमन्त्री बनेका उनको राजनीतिक जीवन पनि यौन काण्डसँगै समाप्त भएको छ। सन् २०१० देखि नै उनीमाथि नाबालिग केटीसँग यौनसम्पर्क राखेको आरोप लाग्दै आएको छ। यौन पार्टीका लागि उनले मिलान नजिकैको आफ्नो भिलामा धेरै केटीलाई राखेका थिए। तर, सहवासका लागि कहिल्यै रकम नतिरेको उनको जिकिर छ। उनको यौन पार्टीमा महिला सांसद्देखि यौनकर्मीसमेत संलग्न हुन्थे। यौन पार्टीका लागि केटी ल्याउन एक जर्मन महिलासहित सात जना नियुक्त थिए। अहिले पनि त्यस विषयमा अनुसन्धान भइरहेको छ। ‘बुंगा बुंगा पार्टी’मा कम उमेरमै बर्लुस्कोनीसँग सम्भोग गरेको मोरोक्केली ब्याले डान्सरले सञ्चार माध्यमलाई जानकारी दिएकी थिइन्।
उनको ‘बुंगा बुंगा’ पार्टीमा लिबियाका शासक कर्णेल गद्दाफीदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेतले सम्भोगको मजा लिने गरेका थिए।
यौनबिनाको यौनकाण्ड
यौनकाण्डको कारण अमेरिकी सांसद् एन्थोनी वाइजनरले पद त्याग्नुपर्‍यो। वासिङ्टनकी एक २१ वर्षिया युवतीलाई उनले सोसल नेटवर्किङ साइटमा कट्टुमात्रै लगाएको फोटो पठाएपछि विवाद सुरु भएको हो। उनले सञ्चारमाध्यममा गलत समाचार आएको भन्दै आएका थिए। आफ्नो एकाउन्ट ह्याक भएको उनको जिकिर थियो । तर विवाहभन्दा अघि र पछि पनि महिलालाई अश्लील फोटो तथा सन्देश पठाउने गरेको उनले हालै स्वीकार गरे।
विवाद चर्कँदै गएपछि उनले सांसद पद छाडे। सन् १९९९ देखि सांसदमा नियमित निर्वाचित हुँदै आएका वाइजनरलाई संभावनायुक्त नेता मानिन्थ्यो। उनी माइकल ब्लुमबर्गपछि न्युयोर्कको मेयर हुन सक्षम व्यक्ति मानिन्थे।
पिज्जा किङको अवसान
अमेरिकी ‘पिज्जा किङ’ हर्मन केन रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बन्ने आकांक्षी थिए। विभिन्न महिलासँगको यौन सम्बन्ध र दुर्व्यवहारका घटना सार्वजनिक भएपछि प्रत्याशीको दौड बीचमै छाडेका छन्। उनीमाथि एक महिलाले १३ वर्षदेखि विवाहेतर सम्बन्ध रहेको र अर्की महिलाले नोकरी माग्न जाँदा केनले उनीसँग अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।
संसदमा ब्लु फिल्म
भारत र इन्डोनेसियामा संसद भवनभित्रै ब्लु फिल्म हेरेको काण्डले ठूलै रडाको मच्चियो। भारतको कर्नाटक विधानसभामा तीन मन्त्रीले मोबाइलमा ब्लु फिल्म हेरेको दृष्य स्थानीय टेलिभिजनबाट प्रशारण भएपछि पदबाट राजीनामा दिए। त्यसैगरी इन्डोनेसियामा ब्लु फिल्म हेर्दै गरेका सांसद् पक्राउ परेपछि उनले पनि पदबाट राजीनामा दिए।
सिक्रेट अफ टर्मिनेटर
अभिनेताबाट नेता बनेका आर्नोल्ड स्वार्जनेगरको एक्स्ट्रा म्यारिटल अफेयर रहेको खुलासा भयो। सो सम्बन्धबाट उनको १४ वर्षे छोरासमेत रहेको बाहिर आयो। घरेलु कामदार महिलासँग आर्नोल्डको सम्बन्ध खुलेपछि उनकी पत्नी मारिया स्राइभरले ‘टर्मिनेटर’ हिरोसँग २५ वर्षे वैवाहिक सम्बन्ध तोडिन्। उनले प्रेमिका तथा छोरालाई लुकाइछिपाई आर्थिक सहयोग गर्दै आएका थिए।
र्यानको ह्याट्रिक 
इङलिस प्रिमियर लिग खेल्ने धेरै फुटबलरको चरित्र प्लेब्वाई हुनु नयाँ कुरा होइन। तर म्यानचेस्टर युनाइटेडका खेलाडी र्यान गिग्सको सम्बन्धले भने गत वर्ष धेरैलाई आश्चर्यचकित पार्‍यो। मोडल इमोजन थोमस र गिग्सको सम्बन्धका बारेमा सबैभन्दा पहिले खुलासा भएको थियो। भाइबुहारी नतासाले नै र्यानसँग शारीरिक सम्बन्ध रहेको बताएपछि भने सबै स्तब्ध भए। नतासाले गिग्ससँग आठ वर्षदेखि नियमित सम्बन्ध रहेको बताए पनि र्यानले अस्वीकार गरेका छन्। अर्की महिलाले पनि र्यानसँग यौनसम्बन्ध रहेको दाबी गरेपछि बेलायती सञ्चार माध्यमले र्यानलाई ‘बेलायती टाइगरउड’ उपनाम दिएका छन्।
तपाईको प्रतिक्रिया