शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
संखुवासभा– अन्नपूर्ण पोष्टका संखुवासभा समाचारदाता किशोर बुढाथोकीमाथि ज्यान लिने उद्येश्यले साङ्घातिक आक्रमण गर्ने दुई जनालाई आइतबार जिल्ला अदालत चैनपुरले पाँच बर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश शालिकराम कोइरालाको इजलासले पत्रकारमाथि आक्रमण गर्ने खाँदबारी नगरपालिका १० का २२ वर्षीय विकास राई र खाँदबारी १ का २४ वर्षीय रुपक राईलाई ५÷५ बर्ष कैदको फैसला सुनाएको हो । पत्रकार बुढाथोकीका मामा राजेन्द्र कार्कीले दर्ता गराएको ज्यान मार्ने उद्योगको मुद्धामा अदालतले दुवै जनालाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो ।
नेपाल पत्रकार महासंघ संखुवासभाका सहसचिव समेत रहेका बुढाथोकीलाई गत साउन २६ गते राती खाँदबारी नगरपालिका १० स्थित आफ्नै डेरामा सुतिरहेको बेला स्थानीय विकास र रुपकको समुहले अपहरणको शैलीमा एकान्त जंगलमा लगेर निर्घात कुटपिट गर्नुका साथै धारिलो हतियार खुकुरी, लाठी र साइकलको चेन समेतले प्रहार गरेका थिए । बुढाथोकी विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराएर तीन महिनापछि काममा फर्किएका छन् ।
बुढाथोकीका तर्फबाट जिल्ला न्यायाधिवक्ता कृष्णबटु भण्डारीले बहस गरेका थिए । लामो आइतबार भएको पेशीको अन्तिम सुनुवाईपछि ज्यान मार्ने मुद्धा अन्तर्गत उनीहरुलाई अदालतले ५÷५ बर्षका लागि कैदको फैसला गरेको अदालतका निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।
उनीहरुलाई मुलुकी ऐनको अदालती वन्दोवस्तीको ११८ को (२) वमोजिम पुर्पक्षको लागि थुनामा राखी मुद्धाको कारबाही चलाउन गत भदौ २६ गते अदालतले आदेश दिएको थियो ।
बुढाथोकीलाई आक्रमण गरेर फरार रहेका अभियुक्त तथा घटनाका मुख्य योजनाकार विकास राईलाई गत भदौ ८ गते राति संखुवासभाकै दिदिङ गाविस र उनका सहयोगी रुपक राईलाई भदौ २ गते याफु गाविसवाट पक्राउ गरेर प्रहरीले अदालतमा मुद्धा दायर गरेको थियो ।
अदालतको फैसलाको जिल्ला स्थित सञ्चारसँग सम्बद्ध विभिन्न संघ संस्थाहरुले स्वागत गरेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ समेतले अदालतको फैसलाको स्वागत गर्दै कानुनी राज्यको सम्मान गर्नु पर्नेमा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया