काठमाडौं– पाँच वर्षदेखि मुलुकका २८ स्थानमा रहेका माओवादी लडाकुका शिविर आगामी १ पुसबाट खाली हुने भएका छन् ।
शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंग्याउन सुझाव दिन गठित प्रमुख तीन दल र मधेशी मोर्चा सम्मिलित कार्यदलले १ पुसबाट शिविर खाली गर्ने निर्णय गरेको हो ।
कार्यदलको वैठकमा ७ ठूला र २१ सहायक शिविरमा रहेका एकीकृत नेकपा माओवादीका लडाकु मध्ये स्वैच्छिक अवकाश रोज्नेलाई घर फिर्ता गर्ने र समायोजनमा जानेलाई १ पुसभित्रै सुरक्षा निकायमा प्रवेश गराई सक्ने गरी कार्यतालिका निर्माणको सहमति भएको हो ।
सहमतिको सो खाकालाई शीर्ष नेताको वैठकमा प्रस्तुत गरी अनुमोदन गरिने कार्यदलका एक सदस्यले बताए । उनका अनुसार वैठकले दलहरुबीच १५ कात्तिकमा भएको सात बुंदे सहमति बमोजिम कार्यान्वयन हुन बांकी सबै कार्य मंसीर मसान्तभित्र कार्यान्वयन गरिसक्ने निष्कर्ष निकालेको छ ।