काठमाडौं– बर्डफ्लुप्रति सतर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महाशाखा निर्देशक डा जी.डी. ठाकुरको संयोजकत्वमा पाँच सदस्यीय सर्भिस रेस्पोन्स टिम गठन गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र बर्डफ्लु देखिएपछि महाशाखाले उच्च सतर्कता अपनाउन हिजो विशेषज्ञसहितको टिम गठन गरेको हो । सो टिममा विश्व स्वास्थ्य सङ्घका डा रविकिरण काफ्ले र डा प्रमोद खनाल, महाशाखाका जनस्वास्थ्य निरीक्षक कुमारप्रसाद दाहाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य निरीक्षक रणबहादुर घर्ती रहनुभएको छ ।
महाशाखाले ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास प्रश्वासमा समस्या आएमा केन्द्रबाट आवश्यक जनशक्ति गई सङ्क्रमित व्यक्तिलाई केन्द्रमा ल्याएर उपचार गर्न आइसोलेसन वार्ड र प्रयोगशाला तयारी अवस्थामा राखेएको सो टिमका जनस्वास्थ्य निरीक्षक कुमारप्रसाद दाहालले बताउनुभयो ।
उहाँले अहिलेसम्म सो रोगबाट मानिसमा सङ्क्रमण भने नभएको जानकारी दिनुभयो ।