काठमाडौं- पूर्व सहमति अनुसार तीन दलबीच सहमति भए सरकारले सोमबार राज्यपुनर्संरचना आयोग गठन गर्दैछ ।
कस्तो बन्दैछ त राज्य पुनर्संरचना आयोग ? कांग्रेस सचेतक लक्ष्मणप्रसाद घिमिरे भन्छन्- ‘मधेसी मोर्चा र ठूला हरेक दलले एक एक जना र स्वतन्त्र विज्ञ तीन जनाको आयोग बन्छ ।’ सकभर स्वतन्त्र व्यक्तिलाई आयोग संयोजक बनाइनेछ ।
आयोग संयोजकमा गणेश गुरुङ, पिताम्बर शर्मा, तिर्थराम डंगोल, डा. भोजराज पोखरेलको नाम चर्चामा छ ।
सोमबार बिहान बस्ने तीन दलको बैठकमा आयोगको कार्य क्षेत्र र विज्ञहरुको नाममा सहमति भए सोमबार नै बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनको निर्णय गर्नेछ ।
अन्तरिम संविधानको ११ औं संशोधन गर्ने सरकारको प्रस्ताव असफल भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख दलहरुबीच शुक्रबार राति तीन दिनभित्र आयोग गठन गर्ने सहमति भएको थियो । यद्यपी आयोगमा रहने सदस्यहरुको भने अझै टुंगो लाग्न सकेको छैन ।
राज्य पुनर्संरचना आयोगमा रहने सदस्यहरुकाबारे टुंगो लगाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख तीन दलको बैठक बस्दैछ । सिंहदरबारमा रहेको शान्ति मन्त्रालयमा बस्ने बैठकमा राज्य पुनर्संरचना आयोगको संयोजक तथा सदस्यहरुको नियुक्तिकाबारे छलफल हुने नेताहरुले बताएका छन् ।
आइतबार बसेको तीन दलको बैठकमा सोमबार आयोग गठन गर्ने सहमति भए पनि मोर्चाका प्रतिनिधिको उपस्थिती नभएपछि मोर्चाको सहभागितामा आइतबार बैठक बोलाइएको हो ।
मोर्चा र प्रमुख तीनदलबीच भएको २ बुँदे सहमतिमा तीन दिनभित्र आयोग गठन गर्ने र २ महिनाभित्र गठित आयोगले राज्य पुनर्संरचनाबारेमा सुझाव सहितको प्रतिवेदन पेश गर्ने उल्लेख छ ।