मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं- सेना समायोजन विशेष समितिले शनिबारदेखि माओवादी लडाकुको पुनःवर्गीकरण सुरु गरेको छ ।
त्यसका लागि सचिवालय संयोजक र सदस्यहरू नेतृत्वको सातवटै सर्भेक्षण टोली शिविरमा खटिएको छ । सचिवालय संयोजक बालानन्द शर्माका अनुसार शनिबार बिहान ८ बजेबाट इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा, सुर्खेत र कैलालीका सातवटै मुख्य शिविरबाट सर्भेक्षण प्रारम्भ भएको छ ।
सर्वेक्षणका लागि सहायक शिविरबाट पनि लडाकुलाई मुख्य शिविरमै ल्याएको शर्माले जानकारी दिए ।
यसरी हुन्छ सर्वेक्षण
प्रत्येक लडाकुलाई उसको व्यक्तिगत विवरणसम्बन्धी फाराम शुक्रबार नै वितरण गरिसकिएको छ, सर्भेक्षणका क्रममा लडाकुले आफूले रोज्ने विकल्प समायोजन, पुनःस्थापना र स्वैच्छिक अवकाशमध्ये एकको फाराम भर्नुपर्ने छ ।
सुरुमै कुन विकल्प रोज्ने भन्ने मनस्थिति बनाएका लडाकुले सीधै तीन विकल्पमध्ये एउटा र्फम भरी सम्बन्धित टेन्टमा खटिएका सर्भेक्षण टोलीलाई बुझाउने छन् । त्यसपछि तत्कालै समायोजनमा जानेलाई रातो, पुनःस्थापनामा जानेलाई नीलो र स्वैच्छिक अवकाशमा जानेलाई हरियो रङको परिचयपत्र वितरण गरिनेछ ।
पहिले नै कहाँ जाने तय नगरेका वा आफूले रोज्न चाहेकोबारे थप बुझ्न चाहनेका लागि विकल्पबारे सविस्तार व्याख्या गर्न छुट्टै टेन्टमा व्यवस्था गरिएको छ । जहाँ टोली सदस्यहरूले लडाकुको चित्तबुझ्ने गरी विकल्पबारे बुझाउनेछन् । कुनै लडाकुले घर अथवा बाहिर रहेका आफन्तसँग परामर्श गर्न चाहेमा सर्भेक्षण स्थलमै टेलिफोन र इन्टरनेट फोनको व्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया