काठमाडौं– एकीकृत नेकपा माओवादीका मोहन वैद्य र महासचिव रामबहादुर थापा ‘बादल’ले सेना समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन माओवादी लडाकूलाई अपील गरेका छन् ।
मंगलबार संयुक्त वक्तव्य निकालेर वैद्य र बादलले सेना समायोजन सम्बन्धी सम्झौता आत्मसमर्पणवादी भन्दै समायोजनमा नजान लडाकूलाई अपील गर्नुभएको हो । सेना समायोजन सम्बन्धी सम्झौताले जनसेनाका लागि अपमानजनक र शान्ति विरोध भएको वक्तव्यमा उल्लेख छ ।
तर वैद्य र बादलले निकालेको वक्तव्यमा आफू निकट लडाकू वर्गीकरणमा सहभागी हुने नहुने भन्ने केही उल्लेख छैन् । यसैबीच वैद्य पक्षका माओवादी सचिव सीपी गजुरेलले सम्पूर्ण प्रक्रियाबाट अलग नभई समायोजनमा जानेका लागि भर्ति गर्न खोजिएकोले समायोजनमा नजान भनिएको स्पष्ट पार्नुभएको छ ।
विज्ञप्ति जस्ताको तस्तै
प्रेसवक्तव्य
२०६८ कर्तिक १५ गते गरिएको सात बुँदे सहमति पार्टीको निर्णय तथा जनताको भावना विपरित हुन गएको विषयबारे हामीले कार्तिक १६ गते सम्पन्न पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गरेको कुरा सर्वविदितै छ । विशेषतः सेना समायोजन संबन्धी सम्ताझौत सारतः जनमुक्ति सेनाको निम्ति अत्यन्तै अपमानजनक र शान्तिविरोधी समेत भएकोले हामी स्वाभिमानी जनमुक्ति सेनाका कमाण्डर सहित सम्पूर्ण योद्धाहरुलाई यस प्रकारको आत्मसमपर्णवादी प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन हार्दिक अपिल गर्दछौं ।
मितिः २९ कार्तिक २०६८
………………………. ……………………….
रामबहादुर थापा (बादल) मोहन वैद्य (किरण)
महासचिव उपाध्यक्ष
एनेकपा(माओवादी) एनेकपा(माओवादी)