मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं– शान्ति प्रक्रियामा सहमति गर्न रातभर भएको छलफल र शीर्ष नेताबीच भएको छलफललाई लिपिबद्ध गरेर यसैसाता घोषणा गरिने छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण अघि नै शान्ति प्रक्रियामा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप बिहीबार बिहान बसेको प्रमुख तीन दलको बैठकले भारत भ्रमणबाट फर्के लगत्तै  पुनः तीन दलको बैठक बसेर प्याकेजमा सहमति गरी घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकपछि कार्यदलका सदस्य नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले केही विषयमा छलफल गर्न बाँकी रहेको र समयाभावका कारण सहमति हुन नसके पनि सहमतिको नजिक पुगेको जानकारी सञ्चारककर्मीलाई दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका अवधिमा पनि कार्यदलले छलफल जारी राख्ने भएको छ ।
यस्तै नेकपा (एमाले) का नेता भीम रावलले शान्तिप्रक्रियाका सम्बन्धमा रहेका कतिपय मतभेदलाई हाल आन्तरिक छलफलमै राख्ने र प्रधानमन्त्रीको भारत भ्रमण सकिएलगत्तै सहमति जुटाइने बताउनुभयो ।
कार्यदलका अर्का सदस्य माओवादीका नेता तथा अर्थमन्त्री वर्षमान पुनले आन्तरिक छलफलमा भएका विषयलाई आ–आफ्नो ढङ्गले बाहिर नलैजाने र बाहिर सामूहिक रुपमा गम्भीरताका साथ प्रस्तुत हुने सहमति भएको बताउनुभयो ।
उहाँले शान्तिप्रक्रियाजस्तो गम्भीर विषयमा सहमति हुनुपूर्व त्यसका मस्यौदाहरु बाहिर सार्वजनिक हुने तथा दलहरुले सम्बन्धित निकायभन्दा बाहिरबाट प्रस्ताव लैजाने गर्नाले शान्तिप्रक्रिया बिथोलिने र आपसी शङ्का बढ्ने हुंदा अबदेखि त्यस्तो नगरिने सहमति भएको पनि उल्लेख गर्नुभयो ।
यसैबिच सेना समायोजन बिशेष समितिले  मुख्य सात शिबिरमा रहेको लडाकुको अध्याबधिक गर्न प्राबिधिक टोलीलाई पठाउने निर्णय गरेको छ ।
प्रमुख तीन दलको शिर्ष बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बिशेष समितिको बैठकले यस्तो निर्णय गरेको हो   । टोलीलाई शिबिरमा रहेका लडाकुको सख्या र स्थितिको बारेमा बिबरण तयार गर्न झण्डै एक साताको समय दिइएको समिति सदस्य डा.  रामशरण महतले जानकारी दिनु भयो । ***
तपाईको प्रतिक्रिया