मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- ‘गएराति ८ बजेसम्म मैले उहाँसंग फोनमा कुरा गरेको रेकर्ड  छ । जुन बेला उहाँ पूर्ण  स्वस्थ्य र खुशी हुनुहुन्थ्यो । एक प्रकारले भन्ने हो भने उहाँमा कुनै पनि टेन्सनको भाव थिएन ।’ कलाकार लव शर्माले पशुपति आर्यघाटमा दीपक रायमाझीको पछिल्लो गतिविधि बारेमा फिल्मीखबरलाई दिएको जानकारी हो ।
कलाकार शर्मा स्वर्गीय रायमाझीको सवैभन्दा निकट रहेका कलाकार हुन जो संग दीपकले हरेक प्रोजेक्टमा हात हाल्नु अघि सल्लाह लिने गर्थे । तर एकाएक विहान रायमाझीको निधनको खबर सुनेपछी उनी छांगाबाट झरेजस्तो भए । र उनले आशंका ब्यक्त गर्दै भने ‘उहाँको मृत्यु रहस्यमय छ ।’  उनको भनाईलाई आधार मान्ने हो भने निधन भएका रायमाझीको देब्रे पट्टीको गालाको भाग कपडाले छोपिएको थियो भने नाकका दुई छेउ र ओठको तल पट्टी भागमा  घाउको दाग थियो ।
मदिरा प्रेमी रायमाझी मध्यरातमा नशाको सुरमा घरको दुई तला माथिको बालकोनीबाट झरेको बताईएको छ तर उनको पारिवारिक पृष्ठभूमिलाई केलाउने क्रममा उनको परिवारमा केही दिन देखि झगडा परेको बुझिएको छ । कारण उनको रसियन जेठी श्रीमती ३० बर्ष पश्चात नेपाल आएकाले रायमाझीको घरमा केही विवाद उत्पन्न भएको हो  । तर विवादको चुरो कुरो के थियो भन्ने कुरा थाहा हुन सकेको छैन । उनको जेठी श्रीमतीको एक छोरा पनि छन् ।  रायमाझीको जेठी श्रीमती आजै बेलुकीको फलाईटबाट रूस प्रस्थान गर्ने टिकट बुकिंग रहेको बुझिएको छ । उनी लाजिम्पाटमा रहेका होटल एम्बसडरमा बस्दै आएको  तर नाम भने खुलेको छैन ।
यस्तै स्वर्गीय रायमाझीको  कान्छी श्रीमती ज्योतिको तर्फबाट  दुई छोरी छन् ।   दुई  छोरी मध्ये एकको पहिले नै विवाह भएको थियो भने अर्की छोरीको तीन महिना  अघि मात्र अमेरिकामा बस्ने नेपाली युवकसंग कोर्ट म्यारिज भएको बताईएको छ  । हाल उनका दुवै छोरी अमेरिकामा छन् । कान्छी छोरीको कोर्टम्यारिज सेलिब्रेशनका लागि  रायमाझीले नोभेम्बर १६ तारिख  (कात्तिक ३० गते) का  लागि अमेरिका प्रस्थान गर्ने र जनवरी दुई तारिखका दिन नेपाल फ़र्कने टिकट पनि बुकिङ गरिसकेको बुझिएको छ । जुन टिकट बुकिङको बन्दोबस्त लव शर्माले गरिदिएका थिए ।
यस्तै रायमाझीले अमेरिकन एम्बेसीबाट ५ बर्षका लागि भिसा  समेत पाएको कलाकार शर्माले जानकारी दिएका छन् ।  यस्तै परिवारका सदस्य पनि उनको निधनबाट मौन भएको छ । उनको लाशलाई परिवारका कुनै सदस्यले दागबत्ती दिएनन् । जवकी उनका दुई भाई राजुजंग रायमाझी र दीलिप रायमाझी आर्यघाटमा उपस्थित थिए । चर्चित ब्यक्तिको निधन हुंदा उनको दाहसंस्कार हतार गरी गरिनुले पनि केही रहस्य लुकाएको विभिन्न चलचित्रकर्मीहरूको आशंका छ ।
यस्तै आर्यघाटमा स्वर्गीय निर्देशक रायमाझीको ९० बर्षे पिता केशरजंग रायमाझी पनि अस्वस्थताका बाबजुद पनि उपस्थित भएका थिए । तर परिवारका अन्य सदस्य र उनीहरूको आफन्त भन्नेहरू कोही पनि  आर्यघाटमा देखिएका थिएनन् । एक समयमा प्रखर वाम नेता समेत रहेका केशरजंगले ५८ बर्षअघि पाल्पाको भैरवस्थानमा दीपक रायमाझीलाई पहिलो सन्तान स्वरूप प्राप्त गरेका थिए ।
रायमाझीले करिब २४ बर्षे फिल्मी करिअरमा दुई दर्जन बढी सिनेमा निर्माण गरेका थिए ।  उनले नै राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, मेलिना मानन्धर लगायतका कलाकारलाई रजतपटमा हिरो हिरोईनको रूपमा उभ्याएका हुन । दीपक रायमाझीसंग राजेश हमालको मामाको साईनो छ । आफ्ना मामाको निधन भएको खबर आजै बिहान हमालले पाएको उनका सहकर्मी चिरञ्जीवी आचार्यले जानकारी दिए । महानायक हमाल एक महिना यता अमेरिकामा छन् ।
करिब २४ बर्षअघि चलचित्र ‘भाग्य रेखा’  पहिलो पटक निर्देशन गरेयता हालसम्म  सक्रिय रहेका रायमाझीले सन् १९८० मा रूसबाट चलचित्र निर्देशनमा स्नाकोत्तर गरेका थिए । उनी माया पिरतीको चलचित्र बनाउन बढी रूचाउने निर्देशक थिए  ।  उनले   युग देखि युग सम्म, कसम, प्रियसी, पराईघर, हाम्रो मिलन कहिले हुन्छ लगायतका दुई दर्जन भन्दा बढी सिनेमा निर्देशन गरेका छन् । यस्तै उनीद्वारा निर्देशित चलचित्र डेष्टीनेशन काठमाण्डूको क्लाईमेक्स सिन र एक गीत अझै छायाकंन गर्न बांकी छ भने ‘लभस्टोरी २०६६’  र ‘चाडै आऊ है’ प्रदर्शनको तयारीमा छन्  ।
मंगलबार बेलुकीसम्म स्वस्थ्य रहेका रायमाझी अत्याधिक मदिरा पिउंथे जसका कारण पनि उनको निधन भएको एक प्रमुख कारण हुनसक्छ । तर स्रोतका अनुसार उनले हिजो राति मदिरा पिएका थिएनन रे.. जसका कारण अढाइ तल्ले बार्दलीबाट उनी कसरी तल झरे भन्ने रहस्य खुलिसकेको छैन ।
फिल्मीखबरबाट
तपाईको प्रतिक्रिया