शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – दसैँमा विशेषगरी मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन छ । तर सानो लापरबाहीले गर्दा आफू, परिवार वा दसैँ मनाउन आएका पाहुनाहरू बिमारी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउन सक्छ । दसैँमा मासुका परिकारहरुको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।

मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । यी तत्वहरू हाम्रो शरीरको लागि अति आवश्यक हो । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ। तर मासु सही र सन्तुलित ढंगले प्रयोग नगरेको खण्डमा ति तत्व सही रुपमा प्राप्त हुँदैन ।   तपाईं-हामीले सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने, सर्ने खतरा रहन्छ ।

विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूको अध्ययन निष्कर्षअनुसार रातो मासुको अत्याधिक प्रयोगले संवेदनशील अंग मुटुमा असर पार्ने जोखिम उच्च हुनुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ । सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरीरका बलिया हड्डीहरू कमजोर हुने खतरा रहन्छ। आर्थाइटिस (हाडजोर्नीसम्बन्धी रोग)को सम्भावना अत्याधिक हुन्छ, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला-पुरुष दुवैमा कोलेष्ट्रोलको मात्रा बढ्न जान्छ। जसका कारण इच्छाएको परिकार खानबाट सधै बञ्चित हुनुपर्ने अवस्था आउन सक्छ ।

सही ढंगले मासुका परिकार नपकाउँदा, त्यसलाई स्वस्थकर ढंगले नराख्दा विषाक्तता बढी हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अजीर्ण तथा अपच भइ तत्कालै पेट फुल्नेलगायतका लक्षणहरू देखिन थाल्छ । यस्तो भएमा घरमै उपचार गर्नुका सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थाहरुमा जानुपर्छ ।

स्वस्थ मासु कसरी छान्ने ?
– मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका, तराजु सफा छ कि छैन हेर्नु पर्दछ।
– मासु हलुका गुलाबी रंगको हुनु हुँदैन
– मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ।
– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ
– मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु हुँदैन।
– मासु फ्रिजमा अलग–अलग गरी छोपेर राखेको हुनुपर्छ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा

– सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने
– दैनिक मासु मात्रै खाने बानी नगर्ने
– मासु खानेवित्तिकै आइसक्रिम, दही, दूध, क्रिमका परिकार नखाने
– दैनिक व्यायाम गर्ने
– आफूलाई स्वस्थ भएको महसुुस नभएमा माछा–मासुको प्रयोग गर्दै नगर्ने
– सुरक्षित उपायहरु अपनाएर भण्डारण गरे–नगरेको एकीन गरेर मात्रै खाने।
– आफूले मासुसम्बन्धी जानेको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने

कस्तो मासु नखाने ?

–धेरै दिनसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ।
– बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने
– काँचो मासु वा कुनै भाग नपकाइ खानु हुँदैन। किनभने काँचो मासु नै रोगको भण्डार हो। काँचो मासुबाट रोग सर्ने सम्भावना अत्याधिक रहन्छ।
– पोलेको मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो। मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्याधिक हुन्छ।
– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने
– मसला तथा तेलको अत्याधिक प्रयोग नगर्ने
– बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

तपाईको प्रतिक्रिया