शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो-प्रगतिशील गीत संगीतमार्फत जनतालाई सूसुचित गर्दै न्यायिक आन्दोलनमा सहभागिताका लागि निरन्तर जागरण पैदा गर्ने जनवादी गायक तथा वरिष्ठ संगीतकार चेतन सापकोटाले शनिबार जापानमा एकल साँझमार्फत आफ्नो प्रस्तुति दिएका छन् ।
नेपाली प्रवासी मञ्च जापान र नेपाली जनप्रगतिशील मञ्च, जापानको संयुक्त आयोजनामा भएको उक्त एकल साँझमा सापकोटाले क्रान्तिकारी तथा अन्य आफ्नो संगीतमा रहेका दर्जनौ चर्चित गीतहरु प्रस्तुत गरेका थिए । जापानमा यस खालका कार्यक्रम कम मात्रामा हुने हुदाँ दर्शकहरू सांगेतिक माहौलमा राम्रैसँग झुमेका थिए ।

गीत संगीतमार्फत जनतामा सचेतना फैलाउन सहज र सरल हुने भएकाले आफूले यस माध्यमलाई रोजेको बताउने सापकोटाले जापानमा यस खालको कार्यक्रम सफलतापूर्वक आयोजना हुनु एउटा संगीतकारको निम्ति ठूलो गर्वको कुरा भएको बताउनु भयो ।
सो कार्यक्रममा प्रवासी मञ्च जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ र जनप्रगतिशील मञ्चका अध्यक्ष हवलचन्द्र लामा गैर आवासीय नेपाली संघ जापानका कार्यवाहक अध्यक्ष शिबप्रसाद पौडेल , गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी , गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापा लगाएत विभिन्न राजनीतिक तथा सामाजिक संघ संस्थाको प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

वामगठबन्धनलाई तार्किक निष्कर्षमा पुरयाइ पार्टी एकिकरणलाई बल पुर्याउने उदेश्यका साथ आयोजना गरिएको सो कार्यक्रमको व्यवस्थापनको लागि प्रवासी मञ्च जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ र जनप्रगतिशील मञ्च जापानका उप–महासचिब बाबुराम पौडेल रहेको कार्यदल गठन गरिएको थियो । सिद्धार्थ श्रेष्ठको सभापतित्व र बाबुराम पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया