शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं –  बाँच्न त सबै मानिस बाँचिरहेका हुन्छन् । सबै मानिसको बाँच्ने कौशल आ–आफ्नै हुन्छ । तर, साझा कुरा के भने सबै मानिस अरूलाई प्रभावित गर्न चाहन्छ । कसैलाई प्रभावित पार्नका लागि सबैभन्दा पहिला आफ्नो व्यक्तित्व सुधार गर्न आवश्यक छ ।

असल श्रोता
असल व्यक्तित्वका लागि श्रोता बन्न आवश्यक छ । एकतर्फी रटानले न केही कुरा सिक्न सकिन्छ, न त कसैलाई प्रभावित पार्न नै । असल श्रोता बन्न सकेमा साथी सर्कलबाट थुप्रै कुरा सिक्न सकिन्छ । त्यसैले उत्कृष्ट श्रोता पनि राम्रो कला हो । तपाईं कसैलाई सुन्दै हुनुहुन्छ भने उसले ठान्छ कि ‘मलाई महत्व दिएको छ ।’ जुन व्यवहारले आत्मीयताको पनि विकास गर्छ ।

प्रतिबद्धताप्रति प्रतिबद्ध
इमानदारी व्यक्तित्व विकासका लागि निकै महत्वपूर्ण कुरा हो । यदि तपाईंले कसैसँग वाचा गर्नुभएको छ भने त्यसलाई पूरा गर्न अत्यावश्यक हुन्छ । यस्तो व्यवहारले अरूबाट सम्मान र प्रशंसा आर्जन गर्न सकिन्छ । अरूभन्दा फरक देखाउनका लागि पनि यस्तो व्यवहारले मद्दत पुर्‍याउँछ ।

आन्तरिक क्षमता
इन्टरपर्सनल स्किल आर्थात् आन्तरिक क्षमता सफल जीवनका लागि महत्वपूर्ण पक्ष हो । यस्तो कौशलले दैनिक जीवनमा वा मानिसहरूसँग साक्षात्कार गर्दा उपयोगी साबित हुन्छ । यस्तो क्षमता भएका व्यक्तिलाई समूहले पनि आवश्यकता महसुस गर्छ । प्रोफेसनल जीवनमा मात्र नभएर व्यक्तित्व विकासमा पनि आन्तरिक क्षमताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

नेतृत्व विकास
सबै मानिसलाई आफ्नो क्षेत्रमा सफल हुन वा अरूभन्दा अब्बल देखिने चाहना हुन्छ । त्यसका लागि नेतृत्व क्षमताको विकास गर्न पनि अपरिहार्य हुन्छ ।

नयाँको संगत
धेरै मानिसको आ–आफ्नै समूह हुन्छ र दैनिक त्यही समूहका व्यक्तिसँग भेटिरहेका हुन्छन् । तर, व्यक्तित्वमा सुधारका लागि भने सधैँ नयाँ–नयाँ मानिसलाई भेट्ने प्रयास गर्नुपर्छ । फरक–फरक मानिससँग भेट्दा नयाँ–नयाँ अनुभव लिन र संस्कृति बुझ्न मद्दत पुर्‍याउँछ । यस्तो बानीले विचारको दायरा पनि फरक बन्न मद्दत गर्छ । त्यति मात्र नभएर जीवन सुधारका लागि प्रेरणा पनि मिल्न सक्छ ।

वक्तित्वकला
बढी ज्ञान लिनुको उद्देश्य हुन्छ कि बहसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु । हरेक मानिस आफ्नो कुरा सुनोस् भन्ने चाहन्छ । यसका लागि प्रभावशाली वक्ता बन्न आवश्यक हुन्छ । एउटै मानिसले यो ब्रह्माण्डबारे सबै जानकारी लिन सम्भव छैन । तर, यदि नियमित बहसमा भाग लिने गरेमा नयाँ–नयाँ कुरा सिक्ने अवसर पनि प्राप्त हुन्छ । जसले दिमागको दायरा फराकिलो पार्दै लैजान्छ ।

प्रस्तुतीकरण
यदि तपाईं आफ्नो सूचना धेरैभन्दा धेरै मानिसले थाहा पाओस् भन्ने चाहनुहुन्छ भने प्रस्तुतीकरणमा ध्यान दिन जरुरी हुन्छ । प्रस्तुतीकरणले धेरै मानिसलाई आकर्षित गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्तो क्षमता प्रायः सबै पेसामा आवश्यक छ । प्रस्तुतीकरणको क्षमता बढाउनका लागि नियमित बोल्ने, रचनात्मक सोच विकास गर्नेलगायतका गतिविधि गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया