शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानले गत साता अकल्पनीय निधन भएका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहाल र पूर्व सभासद समेत रहेका जनवादी गायक खुशीराम पाख्रिनको स्मृतिमा टोकियोमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

पूर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र पुत्र प्रकाशको गत साता हृदयघातबाट निधन भएको थियो भने जनबादी गायक पाख्रिन प्रकाशको चितवनमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुँदैगर्दा अचानक ढलेको र हृदयघातकै कारण उपचारको क्रममा निधन भएको थियो ।
दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभामा १ मिनेट मौन धारण गरिएको थियो भने उपस्थित सबैले स्वर्गिय दाहाल र गायक पाख्रिनको तस्वीरमा माल्यार्पण गरी श्रद्धासुमन व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली सभामा शोक मन्तब्य ब्यक्त गर्दै जनप्रगतिशील मञ्चका सल्लाहकार डा. भूपालमान श्रेष्ठले आफ्नो व्यक्तिगत सुखसयलको वास्ता नगरी सानै उमेरदेखि पार्टी र राष्ट्रप्रति आफ्नो जीवन समर्पण गर्ने प्रकाशको निधनले सिंगो पार्टी र राष्ट्रले कुशल नेतृत्व गुमाउनुपरेको बिचार ब्यक्त गर्नुभयो । यसैगरी जनवादी गीत संगीतका माध्यमबाट जनतालाई सुसूचित गर्दै परिवर्तनका लागि जागरण ल्याउने जनवादी गायक पाख्रिनले कुनै व्यक्तिगत स्वार्थ नराखी आफ्नो जीवन नै परिवर्तनका लागि समर्पण गर्नुभएको स्मरण गर्दै अहिलेको पुस्ताले उहाँबाट सिक्नुपर्ने बताउनुभयो ।

यसैगरी नेकपा एमालेको भात्तृसंगठन प्रवासी नेपाली मञ्चका उपाध्यक्ष सिध्दार्थ श्रेष्ठले वाम गठबन्धनलाई बलियो बनाई मुलुकलाई समाजवाद स्थापनातर्फ लैजान सकियो भने मात्र स्वर्गिय प्रकाश र पाख्रिनको सपना साकार हुने बताउनुभयो ।
एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले दाहाल र पाख्रिनको निधनले सम्पूर्ण देशबासी जनता शोकमा डुबेकोले त्यसलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो ।

नयाँ शक्ति पार्टी नेपालको भात्तृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयोजक पदम ठगुन्ना, चितवन समाजका अध्यक्ष राजन श्रेष्ठ लगायतले जनप्रगतिशील साहित्य र संगीतमा पाख्रिनको योगदान र युवा पंक्तिको नेतृत्वमा प्रकाशको भूमिका एवं योगदान बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा मञ्चका अध्यक्ष हवलचन्द्र लामाले आफ्नो पीडालाई कुशलतापूर्वक ब्यवस्थापन गरी राष्ट्रका निम्ति खटिने पार्टी अध्यक्ष प्रचण्डबाट सबैले सिक्नुपर्ने विचार ब्यक्त गर्नुभयो । लामाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभा मञ्चका महासचिव श्यामहरि पाण्डेले सञ्चालन गर्नुभएको थियो ।***

तपाईको प्रतिक्रिया