बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – ऊर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो । खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन् । नि:सन्देह हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कसरी रहने त ? यी ७ तरिका जिन्दगीलाई खुसी राख्न काफी छन् ।

मुस्कान
मुस्कानले मानिसलाई खुसी बनाउँछ । सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ । मिचिगन विश्वविद्यालयको अध्ययन अनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ । मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। ‘मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ। हाम्रो सोच्ने शक्तिमा वृद्धि गराउँछ,’ मनोविद् जोन इटल भन्छन् । जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ ।

व्यायाम
व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो । व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ? जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ । यसको परीक्षणका लागि वितृष्णाका रोगीलाई दुई तरिकाले उपचार गराइयो।  एउटालाई औषधि दिएर, अर्कोलाई व्यायाम गराएर र एकलाई दुवै विधिले । परिणाम आश्चर्यजनक देखियो । ‘सहभागीमध्ये व्यायाम गर्नेहरुमा वितृष्णा निकै कम थियो,’ साउन एकरले द एडभान्टेज अफ ह्याप्पीनेस पुस्तकमा उल्लेख गरेका छन् ।

व्यायामले मानिसलाई आनन्दित बनाउँछ । स्मरण शक्ति बढाउँछ । स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ ।

मस्त सुताइ
मस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ । मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञ अस्ले मेरिम्यान बताउँछन् । कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ । उनीहरुमा रिसाउने र झर्किने स्वभाव बढी हुने गरेको पाइएको छ ।

परिवार र साथीसँग रमाउने
घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुसी हुने गरेका छन् । ‘साथीभाइ, इष्टमित्रसँगको जमघटबाट प्राप्त हुने खुसी निकै पृथक् खालको छ, जब हामी जमघट गर्छौं  सबै पीडा भुलेर बडो आनन्द महसुस हुन थाल्छ,’ विज्ञ डेनियल भन्छन् ।

साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ। आपतविपतमा सहजै सहयोग पाइन्छ र दु:खी हुनुपर्ने अवस्था आउँदैन । ‘सामाजिक सम्बन्ध बलियो भएको मानिसले सबैको साथ र सहयोग पाउँछ । उसले एक्लो महसुस गर्नुप र्ने अवस्था नआएपछि खुसी स्वत: प्राप्त हुन्छ,’ डेनियल थप्छन् ।

यात्रा
अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको छ । स्वच्छ हावामा घुम्दा सकरात्मक ऊर्जा प्राप्त हुन्छ । भ्रमणले पनि खुसी प्राप्ति हुने सान एकरले आफ्नो पुस्तक ‘द एडभान्टेज अफ ह्याप्पिनेस’मा उल्लेख गरेका छन् । स्वच्छ हावामा घुम्न निस्कँदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुने उनको भनाइ छ । ‘स्वच्छ हावामा २० मिनेट मात्रै घुम्दा पनि सकरात्मक ऊर्जा प्राप्त हुन्छ,’ एकर आफ्नो पुस्तकमा लेख्छन् ।

अरुलाई सहयोग
अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ । सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो । ‘कन्सर्ट, घडी, जुत्ता लगायतका वस्तुमा खर्च गर्ने मानिस र सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी थिए,’ द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ ।

ध्यान
ध्यानले एकाग्रता बढाउँछ । तनाव कम गराउँछ । मानिसलाई शान्त बनाउँछ । ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्।  ‘ध्यानले दिमाग स्वच्छ हुन्छ र तनाव पनि घटाउँछ,’ साउन एकर पुस्तक द एडभान्टेज अफ ह्याप्पिनेसमा लेख्छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया