शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

भोजपुर  – भोजपुरको षडानन्द नगरपालिका–१३ भीरथाप्लामा बम विस्फोट हुँदा घाइते भएका विक्रम राईलाई थप उपचारका लागि धरान लगिएको छ । भोजपुर अस्पतालमा उपचार हुन नसकेपछि राईलाई शनिबार राति धरान लगिएको हो ।

शनिबार नचिनेका मानिसको समूहले राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको र त्यसक्रममा ट्याम्के मैयुङ गाउँपालिका–७ कोटका विक्रम राई घाइते हुनुभएको हो ।

उहाँ एमाले गाउँ कमिटि कोटका सचिव हुनुहुन्छ भने युवा संघ भोजपुरका सचिवालय सदस्य समेत रहनुभएको छ । बमको छर्राले उहाँको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । बमको छर्रा लागेर दुईजना प्रहरी पनि घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक उमेश मेहेता र प्रहरी जवान देवनारायण चौधरी घाइते भएका हुन् ।

शनिबार बिहान दुई युवाले बम राखेका थिए । बम राख्दै गरेको स्थानीय युवाले देखेपछि अरुलाई खबर गरेका थिए । खबर पछि नजिकै रहेको सुन्तले प्रहरी चौकीबाट प्रहरी घट्नास्थल पुगेका थिए । प्रहरीले गाडी रोकेर सुरक्षा दिइरहेको बेला बम पड्किएको थियो ।

बम पड्किएपछि बम राख्ने समूहले वाटो माथिबाट गोली समेत चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख गित नारायण चौधरीले बताउनुभयो ।

बम विस्फोट भएको ठाउँमा दोहोरो भिडन्त समेत भएको प्रहरीले बताएको छ । प्रहरीले जवाफी कारबाहीमा १९ राउन्ड गोली चलाएको थियो । बम राख्ने र गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया