शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – चर्चित फोटोब्लगिङ वेबसाइट तथा एप इन्स्टाग्रामले लाइभ स्ट्रिमिङ फिचर सुरुवात गरेको अझै एकवर्ष पुगिसकेको छैन । यसबीचमा कम्पनीले लाइभ फिचरलाई धेरैपटक अपडेट गरिसकेको छ ।

गत जुन महिनामा उसले प्रयोगकर्तालाई आफ्नो लाइभ भिडियोपछि शेभ गरेर २४ घन्टाभित्रमा शेयर गर्नसक्ने फिचर उपलब्ध गराएको थियो । र, अहिले फेरि इन्स्टाग्रामले एक कदम अघि बढ्दै प्रयोगकर्ताले आफ्ना साथीहरुसँग सँगै लाइभ स्ट्रिम गर्न सक्ने फिचर थप गरेको छ ।

यस फिचरको नाम Going Live with a friend  रहेको छ । यो फिचर एन्ड्रोइड तथा आइओएसमा इन्स्टाग्राम एपको भर्सन २० मा रहेको छ । एप स्टोरमा इन्स्टाग्रामको यो अपडेट भर्सन उपलब्ध छ । इन्स्टाग्रामले एक ब्लगमार्फत यस फिचरका बारेमा प्रष्ट पार्दै लेखेको छ: लाइभ भिडियोको सहयोगले तपाइँ बिल्कुलै नयाँ तरिकाले सामाग्रीहरु शेयर गर्न सक्नुहुनेछ ।

अब आफ्नो लाइभ ब्रोडकास्टमा कुनैपनि गेष्टलाई जोड्न सहज हुनेछ । दायाँतर्फ तल रहेको आइकन ट्याप गर्नुहोस् र भिडियो हेरिरहेको कुनैपनि व्यक्तिलाई इन्भाइट गर्नुहोस् । प्रयोगकर्ताले इन्स्टाग्राममा लाइभ स्ट्रिमिङ सुरु गरेसँगै उक्त लाइभ हेरिरहेका कुनैपनि दर्शकलाई लाइभमा जोडिन निम्तो पठाउन सक्नेछन् । ती व्यक्तिले निम्तो स्विकार गरेसँगै स्क्रिन दुई भागमा विभाजन हुनेछ र साथीको लाइभ स्क्रिनको अर्को हिस्सामा सुरु हुनेछ ।

प्रयोगकर्ताले कुनैपनि समयमा आफ्नो गेष्टलाई हटाउन सक्नेछन् र अर्को व्यक्तिलाई जोड्न सक्नेछन् । साथै आफैपनि लाइभ प्रशारणबाट बाहिरिन सक्नेछन् । लाइभ सकिएसँगै आफ्नो लाइभ भिडियोलाई स्टोरीमा पनि शेयर गर्न सकिनेछ । लाइभ भिडियोलाई पछि शेयर गर्न नचाहेमा शेयर नगर्ने विकल्प पनि रहनेछ । एजेन्सी

 

तपाईको प्रतिक्रिया