शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

चितवन – बाढीपछि रोगले ग्रस्त भएका चितवन राष्ट्रिय निकुञ्जका अर्नाको उपचार शुरु गरिएको छ ।

निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा रहेको प्रविधिज्ञको टोलीले कोशीबाट स्थानान्तरण गरी चितवन निकुञ्जमा ल्याएका अर्नाको आजदेखि उपचार शुरु गरेको हो । ‘बाढीपछि विभिन्न रोगको संक्रमण भएर अर्नाको अवस्था नाजुक देखियो,’ डा गैरेले भन्नुभयो – ‘केही दिनदेखि घाँसपात तथा दाना दिइरहेका थियौँ । आजदेखि औषधि चलाउन थालेका छौँ ।’

आज बिहान डा गैरेसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरीनरी प्राविधिक किरण रिजाल र अर्नाको रेखदेखकर्ता सुनिल कँडेल निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना राखेको खुला खोरमा पुग्नुभयो । उहाँहरुले जुका र नाम्ले नियन्त्रण गर्ने औषधि मिसाएर अर्नालाई दानामा राख्नुभएको छ । दश वटा अर्नाका लागि १० वटा बाटामा दानासँगै औषधि मिसाएर छाडिएको छ । समय अनुकूल भएपछि अर्नाले आएर दानासँगै औषधि खानेछ । बाढीले अर्ना राखेको घाँसे मैदानमा ठूलो क्षति पु¥याएको र साना घाँस डुबाएको तथा पुरेको छ ।

उसका लागि बनाइएको पोखरीसमेत पुरिएको छ जसका कारण अर्नाले राम्ररी घाँस खान पाएको थिएन । बाढीमा पानी र घाँस प्रदूषित हुँदा बाढीपछि यहाँ दुई वटा अर्ना मरेको छ भने बाँकी भएका अर्ना नाम्ले र जुका लागेर दुब्लाउँदै गएको छ । अर्ना बचाउन भदौ २७ देखि दाना र घाँस दिन थालिएकामा आजदेखि औषधि दिन थालिएको हो । साउन २८ गते आएको बाढीका कारण अन्य जनावरसहित अर्नामा विभिन्न रोग देखिएको चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीपछि भदौ २२ गते र भदौ २५ गते दुई वटा पोथी अर्ना मरेका थिए । यसअघि चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना वैशाख ५, जेठ ३ र असार ७ गते मरेका थिए । पन्ध्र वटा अर्ना स्थानान्तरण गरिएकामा अहिलेसम्म पाँच वटा अर्ना मरेका र अब १० वटा बाँकी रहेका छन् । बाँकी १० अर्नामा पनि विभिन्न रोगको संक्रमण देखिएकाले बचाउने प्रयास भइरहेको छ । सौराहास्थित निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोरमा राखिएका अर्नामा नाम्ले, माटे जुका र गोलो जुका देखिएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्जले दाना तथा घाँस दिने, आवश्यक अनुसन्धान गर्ने र रेखदेख गर्ने काम गरिरहेको जनाउनुभयो । अर्नालाई तौलअनुसारको डोज मिलाएर औषधि दिन थालिएको वरिष्ठ पशु चिकित्सक डा कमल गैरे बताउनुहुन्छ । यस्तै, अर्नाका लागि घाँसपात तथा पराल दिनका लागि अहिले खुला खोरभित्र गोठ बनाउन लागिएको छ । अर्ना बसेको क्षेत्रमा काँस, सिरु, पिरे र न्युरो मात्रै धेरै छ । उसलाई पर्याप्तमात्रामा घाँस नभएको डा गैरे बताउनुहुन्छ ।

घाँसकै अभावले दुब्लाएको भए एक हप्ताभित्र अर्ना तन्दुरुस्त हुने उहाँको दाबी छ । बाढीका कारण चितवन निकुञ्जका दुई गैँडासमेत मरेका थिए भने एक दर्जन जतिलाई बगाएको थियो । सात वटालाई भारतबाट र एउटालाई नेपाल–भारतको सीमाबाट गैँडा उद्धार गरिएको थियो । बाढीले वन्जयन्तुको बासस्थान नै खलबल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया