शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ?’ उहाँले भन्नुभयो, चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से आया हुँ, मिलन चोक जाना है ।’

धोतीकुर्तामा ठाँटिएका उहाँले  चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुने लगायत समस्या देखाएर चलाएन । उहाँले चुपचाप बस्नुभयो । चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्‍यायो ।

सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोध्नुभयो । चालकले नौ सय माग्यो । ‘ए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला,’ उहाँले नेपालीमा भन्नुभयो ।

चालक अबचाहिँ डरायो र भन्यो, ‘होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ ।’ सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाउनुभएको हो  ।

सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन् । नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ । पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर जानुभयो । तर दोस्रो चालकले पनि मानेन ।

उहाँले क्षुब्ध हुँदै ‘ट्राफिक कन्ट्रोललाई फोन गरिदिऊँ ?’ भन्नुभयो । चालक किन पो गल्थ्यो र ! उसले आफ्नै मोबाइल तेर्स्याउँदै जवाफ दियो, ‘हुन्छ, ल मेरैबाट गर्नोस् न !’

‘हामी हतारमा थियौं । केही गर्न सकेनौं । हामीजस्ताले त निरीह बन्नुपर्छ भने सर्वसाधारणको हविगत के होला !’ सांसद मगरले भन्नुभयो ।

यस्तै, रोचक कथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनकुमार शाहीले सुनाउनुभयो । एयरपोर्टमा ट्याक्सीको अवस्था बुझ्न पर्यटक बनेर गरेको अनुगमनको अनुभव उहाँसँग रहेछ । ‘मैले त्यहाँको अवस्था हेरिसकेपछि नीतिगत सुधारलगायत विषयमा निर्देशन दिएँ । त्यति गर्दा ट्याक्सी चालकमध्येको एउटा बुज्रुकले भनेको सुनें– यो मन्त्री कुन पार्टीको हो ? यसको सरुवा गर्दिनुपर्‍यो । अब बुझ्नुहोस् उनीहरूको दबदबा कति छ भनेर ।’

तपाईको प्रतिक्रिया