शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं  – आज वरिष्ठ संगीतकार अम्बर गुरुङको स्मृति दिवस । दार्जिलिङमा १९९४ साल फागुन १४ गते उजिरसिंह गुरुङ र रेनुका देवीको कोखबाट जन्मिएका अम्बर गुरुङको गएको वर्ष जेठ २५ गते काठमाडौंमा निधन भएको थियो ।

झण्डै एक हजार गीतमा संगीत

राष्ट्रिय गानका संगीतकारसमेत रहनु भएका संगीतकार गुरुङले ९ सय ९४ गीतमा संगीत दिनुभएको छ । २०१८ सालमा अगम सिंह गिरीको शब्दमा ‘नौलाख तारा उदाए’ बोलको गीत आफ्नै संगीतमा गाएर उहाँले सांगीतिक यात्रा सुरु गर्नुभएको थियो ।

यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियाले प्रतिबन्ध लगाएको थियो । २०२४ सालमा दार्जिलिङबाट नेपाल आउनुभएका संगीतकार गुरुङले काठमाडौंमा रुपरेखा साँझ नामको सांगीतिक कार्यक्रम गुर्नभएको थियो ।

नेपाल आएलगतै उहाँलाई तत्कालीन राजा मेहन्द्रले राजकीय प्रज्ञाप्रतिष्ठानमा संगीत निर्देशकको रुपमा नियुक्त गर्नुभएको थियो ।

उहाँका चर्चित गीतमा स्वरसम्राट नारायण गोपालले गाएको मेरो आँखालाई राख्ने फूलबारी छैन, पोखिएर घामको झुल्का, अरुणा लामाले गाएको पोहोसाल खुसी फाट्यो, प्रेमध्वज प्रधानले गाएको हाँस्ने रहरहरु सहितका छन् । उहाँ आफैले गायको उकाली चड्दा पसिना पुछ्ने, म दूर भएर के भयो सहितका गीत पनि चर्चित छन् । उहाँले रातो र चन्द्र सूर्यमा पनि संगीत दिनुभएको छ ।

नाटक र चलचित्र

उहाँले चलचित्रमा मनको बाँधमा पृष्ठ संगीत, जीवन रेखामा पाश्र्व संगीत तथा गीति नाटक मालती मंगले, मुना मदन, कुन्जिनी तथा नाटक फर्केर हेर्दा, जब घाम लाग्छमा पनि संगीत गर्नुभएको थियो । उहाँकै संगीतमा अरुणा लामा तथा रुद्रमणि गरुङले पहिलो पटक गीत गायका थिए ।

उहाँ गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, शान्ति ठटालका गुरु हुनुहुन्छ । संगीतकार गुरुङले २०५४ सालमा नेपालमा क्वायर संगीतिक प्रस्तुति गर्नुभएको थियो । कहिले लहर कहिले तरंग तथा दोभान उहाँका चर्चित एल्बम हुन् ।

पुरस्कार र सम्मान

वि.सं २०५४ सालको जगदम्बाश्री पुरस्कार, २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार गुरुङलाई प्रदान गरिएको थियो । नेपाली सेनाको सैनिक गीतमा संगीत दिनुभएका गुरुङलाई सेनाले ‘मानार्थ महासेनानी’को उपाधि दिएको छ ।

अम्बर गुरुङलाई सन् २०१४ हङकङमा हिमालयन् टोन्स म्युजिक एकेडेमीले ‘महासंगीतकार’ को उपाधि पाउनुभएको थियो । त्यस्तै, सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलीङबाट सम्मानित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया