शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

पाँचथर – जिल्ला अस्पतालका चिकित्सकको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया गरेको छ । डा पवनकुमार साह नेतृत्वको टोलीले पाठेघरमा रहनुपर्ने गर्भ ट्युबमा रहेकी २२ वर्षीयासहित अत्याधिक रक्तश्राव हुनाका साथै भित्रै साल उप्किएकी ३६ वर्षीया अर्काे एक महिलालाई पुनर्जीवन दिएका हुन् ।

डा साहका अनुसार साविक पञ्चमी–१ गोपेटार घर भएकी २२ वर्षीया यशोदा राईको पाठेघरमा रहनुपर्ने गर्भ बाहिर बसेको थियो । दुई महिनाको गर्भ रहेकी उनी अत्यधिक पेट दुखेपछि गत वैशाख ३१ गते पाँचथर जिल्ला अस्पताल आइपुगेकी थिइन् । भिडियो एक्स–रे गर्दा उनको दायाँ भागको डिम्बाशय वरिपरि कालो दाग देखिएपछि तत्काल आफन्तको अनुमति लिएर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

उहाँका अनुसार अस्पताल आउँदा नै अत्यन्तै संवेदशील अवस्थामा पुगेकी राईको शल्यक्रिया थाल्नुपूर्व नै गर्भ रहेको अन्डा फुटेर रक्तश्राव हुन थालेपछि चुनौती थपिएको थियो । ढिला गरी अस्पताल आएकी उनको शरीरमा हेमोग्लोबिनको मात्रा पनि सात मात्रै थियो । उहाँका अनुसार सामान्य अवस्थामा हेमोग्लोबिनको मात्रा १२ हुनुपर्छ ।

शल्यक्रियापूर्व उनलाई तीन पिन्ट रगत दिइएको थियो । उहाँले भन्नुभयो, “एक घन्टा मात्रै ढिला गरी अस्पताल आइपुगेको वा आइपुगेपछि तुरुन्तै निर्णय नलिइएको भए ज्यान तलमाथि पनि हुन सक्थ्यो ।” पाठेघरभन्दा बाहिर गर्भ रहनुलाई चिकित्सकको भाषामा इप्टोपिक प्रिग्नान्सी भनिन्छ ।

यस्तै तीन दिनदेखि सुत्केरी व्यथा लागेर घरैमा नवजात जन्माउने प्रयत्न गर्दा सम्भव नभएपछि अन्तिम अवस्थामा ल्याइएकी पाँचथरकै कुम्मायक–३ की ३६ वर्षीया हरिमाया माझीको पनि सफल शल्यक्रिया गरिएको छ । यसअघि नै पाँच शिशु जन्माइसकेकी माझीलाई सुत्केरी व्यथा लागेको तीन दिनसम्म जन्माउन नसकेपछि अत्याधिक रक्तश्राव भएर गम्भीर अवस्थामा पुगेपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याई पु¥याउँदा अत्याधिक रक्तश्राव भइरहेकी उनको भिडियो एक्स–रे गर्दा भित्र साल उप्किएको तथा उल्टो अवस्थामा रहेको नवजात पनि तेर्सिएकाले आमा र शिशु दुवैको ज्यान जोखिममा देखिएको थियो । उनको पनि तुरुन्तै शल्यक्रिया गरी ज्यान जोगाइएको छ । डा साहले भन्नुभयो, “शल्यक्रिया गर्ने बेलासम्म उनको पाठेघर नै फुट्ने अवस्थामा पुगेको थियोे, जोखिम मोलेरै शल्यक्रिया गर्याैं । सफल भइयो ।”

तपाईको प्रतिक्रिया