शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम एकता नजिक पुगेका छन । स्थानीय चुनाव अघि नै पार्टी एकता गर्न डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच लगातार सम्वाद भइरहेको छ ।

नयाँ शक्तिको केन्द्रीय परिषद्को बैठकमा वार्ता टोलीका संयोजक रामचन्द्र झाले वैशाख १ गते पार्टी कार्याकर्तालाई नयाँ वर्षको उपहारका रुपमा संघीय समाजवादीसँग पार्टी एकता हुने बताउनुभयो । झाले चुनाव अघि नै पार्टी एकता हुनेबारे ८० प्रतिशत कुरा मिलिसकेको दाबी गर्नुभएको छ । संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे वार्ता गर्न नयाँ शक्तिले झाको नेतृत्वमा गंगानारायण श्रेष्ठ र खिमलाल देवकोटा रहेको वार्ता टोली नै बनाएको छ ।

यता संघीय समाजवादी फोरम नेपालका नेताहरुले पनि नयाँ शक्तिसँग एकता वार्ता भइरहेको स्वीकार गरेका छन् । फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी पनि एकीकरणको पक्षमा रहेको बताउनुभयो । तर, दुई पार्टीबीच एकता हुनु अघिका धेरै प्रक्रियाहरु पुरा हुन बाँकी रहेको भन्दै उहाँले अहिले नै फलानो मितिमा पार्टी एकता हुने भयो भन्न नसकिने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया