“परिवर्तन हुनुपर्छ शिक्षानीति”  

dr-govinda-updhayaहिजो एकजना विद्यार्थीसंग मैले गंगेश उपाध्याय को हुन् भनेर सोधें तर जवाफ दिन सकेनन् । सुकरात को हुन् भनेर सोध्न भ्याएको थिइन कि जवाफ आयो – ग्रीकेली दार्शनिक हुन् । पुन: मैले सोधें – भाष्कर भट्ट को हुन् ? कसैबाट जवाफ आएन तर न्यूटन को हुन् भनेर सोध्दा धेरैको हात ठडियो । हाम्रो दूर्भाग्य यही लुकेको छ । हाम्रो शिक्षानीतिमा यो भन्दा ठूलो दुर्भाग्य केही छैन । हाम्रो शिक्षाले हामीलाई आफ्नो मौलिकता बाहेक सबै कुरा बुझाएको छ । हाम्रो शिक्षा नीतिमा “रेडीमेड” को रोग लागेको छ । जुनसुकै कुरा पश्चिमाहरूले बोले, लेखे र भने त्यो कुरा हामीले तुरुन्त उठाएर ल्याउछौं ।

पसलमा गएर रेडिमेड कमेज किनेझैँ हामीले विदेशबाट रेडिमेड शिक्षणशास्त्रका सिद्धान्तहरू, व्यवहारहरू थपक्क टिपेर नेपाल भित्र्याएका छौँ । हो, विदेशले बनाएका, खोजेका असल विषयहरू ल्याउनु नै पर्छ तर आफ्ना पूर्वजहरूले गरेका योगदानहरूको इतिहास शिक्षामा बोलेको हुनुपर्छ । एउटा मिथिलामा हुर्केको नवयुवकले सुकरातको विषयमा जानकारी राख्नु कदापि अनुचित होइन तर गंगेश उपाध्यायको विषयमा नजान्नु आत्मघाति शिक्षानीतिको परिणाम हो । कुरा यत्ति हो कि हाम्रा शिक्षा नीति बनाउनेहरूले आफ्नो इतिहास, पहिचान र गौरव सधैंको लागि समाप्त पार्ने काम गरिरहेका छन् र हामी जानीजानी आफ्नो बालबालिकालाई तिनको मतियार बनाउन बाध्य छौँ । मिथिला क्षेत्रमा बग्ने कमला नदीको काखमा रहेको करिओन (जनकपुर) गाउँमा जन्मेका महान् दार्शनिक गंगेश उपाध्याय नेपाली समाजका गौरव हुन् । उनले नब्यन्यायको विकास र प्रवर्धनमा पुर्याएको योगदान नेपाल मात्र होइन बङ्गालको नदीयाका विश्वनाथ चक्रवर्ती आदिले पनि अनुसरण गरेका छन् । न्युटनले जसरी गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरेका छन् त्यसरी बाणभट्टले गरेका छैनन् तर गुरुत्वाकर्षण, ग्रहणक विषयमा तिनको महान पुस्तक “भामति” का विषयमा एकशब्द पनि कोर्न नसक्ने शिक्षानीति बनाउनेहरूको दरिद्रता क्षमायोग्य छैन । दोषी यी विद्यार्थी होइनन्, शिक्षानीति कोर्ने विदेशी रेडिमेडको चस्को परेका कायरहरूको हो ।

हाम्रा प्राचीन ऋषिमुनि वा लेखकहरूले लेखेका असंख्य कृतिहरूमा आधुनिक पश्चिमा विद्वानहरूले खोज गरेका विषयहरू समेटिएको पाइन्छ । हो, यी शास्त्रीय विषयहरू आधुनिक विज्ञानसम्मत नहोलान् तर रामायणमा महर्षि बाल्मिकीले हवाईजहाजको परिकल्पना गरेको, वेदले इन्द्रलाई विद्युत बाहकक रुपमा उभ्याएको, ऋषिवेद ब्यासको कृपाले संजयले दुरदर्शक (TV) का माध्यमबाट युद्धको वर्णन गरेको आदिका कल्पनाहरूको उल्लेख गर्नुपर्छ कि पर्दैन इतिहासमा ? सन् १८५३ सम्म हवार्ड विश्वविद्यालयमा श्रुति-विभाग थियो र अहिले त्यो मानवशास्त्रको एउटा प्रोजेक्टका रुपमा छंदै छ । यो विभागले पश्चिमा जीवन शैलीमा रहेका विभिन्न लोककथा, मान्यता, चलनआदि सुनेर लेख्ने काम गर्थ्यो । होमर, इलियाडआदि महाकाब्यहरू र सुकरात, प्लेटोआदिका चिन्तनहरू यसरी नै संग्रह भएका हुन् ।

पश्चिमाहरूले आफ्नो इतिहास खोज्न ठूलो मेहनत तथा लगानी गरेका छन् । आफ्नो इतिहासभित्र लुकेका सम्भावनाहरूलाई महत्व दिंदा नै पश्चिमा त्यति विध्न विकसित भएको हो । उनीहरूले आफ्नो इतिहासका आधारमा सिद्धान्त निर्माण गरे र ती सिद्धान्तका आधारमा मानवशास्त्र, विज्ञान, चिकित्साशास्त्रहरूको लागि पूर्वाधार तयार गरे । उनीहरूले सबैभन्दा पहिले आफ्नो जग बलियो बनाए । उनीहरूले तयार परेको त्यो जग उनीहरूका लागि सबैभन्दा उत्तम छ । उनीहरूले गरेको प्रगति नै उनीहरूले खोजेका सिद्धान्तहरू ठीक भएको प्रमाण हुन् । ती सिद्धान्तहरू हाम्रो सामाजिक, धार्मिक तथा मनोबैज्ञानिक संरचनाका लागि उपयुक्त हुन्छन् भनेर केवल बज्रमूर्ख वा दासताको मन भएकाहरूले मात्र ,मान्न सक्छन् । मेरो विचारमा, नेपाल वा भारतको वर्तमान शिक्षानीति पश्चिमाहरूले लादेका होइनन् । यो शिक्षानीति हाम्रो समाजमा कि पश्चिमा चाटुकारहरूले थोपरेका हुन् अथवा आफ्नो इतिहासको गौरव खोज्न जाँगर नभएका अल्झीहरूको फौजले त परिश्रमबाट जोगिन “रेडिमेड” ल्याएर हामी उपर थोपरेका हुन् । मैथिली भाषी यादव थरका ती विद्यार्थीले बताए “भारतमा बोलिने मैथिलीमा विहारी मिसिएको छ । विहारीहरू शुद्ध मैथिली बोल्न सक्दैनन् | शुद्ध मैथिली बोल्ने र लेख्नेहरू त नेपाली नै हुन्छन् ।” मलाई थाहा छ, मैथिला प्रदेश कुनै बेला विद्याको लागि काशी नै थियो । मिथिलाले मैथिली बोलीको स्वामित्व खोज्नुपर्छ ।

हिन्दी लोकप्रिय भाषा हो, भारतको राष्ट्रिय सम्पर्कको माध्यम पनि हो । यसको विकासको लागि भारतले ठूलो लगानी गरेको छ । तर हाम्रा धूर्त नेताहरू हिन्दीलाई सम्पर्क भाषा बनाउन आन्दोलन गरिरहेका छन् । यो पनि “रेडिमेड” मानसिकता कै अंग हो । आफ्नो मौलिक तथा रैथाने भाषा तथा लिपीको विकास गर्ने परिश्रमबाट जोगिने एउटा धुर्त्याई हो । विश्वास गर्नुस्, हाम्रो मूल परिचय, जरोकिलो तथा इतिहास खाने हाम्रो शिक्षानीति हो । हामीले यसमा हन्ड्रेड प्रतिशत परिवर्तन गर्नुपर्छ । कार्लमार्क्सले भनेझैँ “यो शिक्षानीति टाउकोको बलमा उभिएको छ, हामीले खुट्टामा उभिने बनाउनुपर्छ ।” हाम्रो अवको पुस्ता रेडिमेड शिक्षामा होइन, आफ्नो जरोकिलोसंग जोडिएको विद्वान हुनुपर्छ । अन्वेषक हुनुपर्छ । पहिले आफ्नो इतिहास र जरोकिलो बुझ्नुपर्छ अनि अरूको बुझ्दा कुनै प्रकारको खती हुँदैन । या विद्या सा: विमुक्तये । जान्नुको अर्थ दासता होइन, स्वतन्त्रता हो, कर्तब्य पालन हो । (लेखक मनोविज्ञान तथा दर्शनशास्त्र विभाग त्रि-चन्द्र कलेजका प्राध्यापक हुन् ।) 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित