शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले काँग्रेस–माओवादी गठबन्धनले आन्दोलनरत संघीय गठबन्धनले उठाएका माग पूरा पर्ने लिखित प्रतिवद्धता व्यक्त नगरेसम्म सरकारमा सहभागी नहुने ठोकुवा गर्नुभएको छ ।

laxmanlal-Karna

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भन्नुभयो,‘हामीले अघि सारेका माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता नआएसम्म हामी सरकारमा सहभागी हुँदैनौं, नयाँ प्रधानमन्त्री चयन गर्दा भोट पनि हाल्दैनौं।’ उहाँले काँग्रेस–माओवादी केन्द्रबीच बनेको नयाँ गठबन्धनले आफूहरुले उठाएका जायज मागबारे अहिलेसम्म वचनवद्धता मात्रै व्यक्त भएकाले पर्ख र हेरको नीति मोर्चाले लिएको स्पष्ट पार्नुभयो ।

कर्णले काँग्रेस र माओवादी पनि दुधले धोएका पार्टी नभएको टिप्पणी गर्दै भन्नुभयो,‘काँग्रेस र माओवादी केन्द्रले प्रायश्चित गरेर आएका छन्, अब हाम्रा माग पूरा गर्न गम्भीर बन्नुभयो भने हामी सहयोग गर्छौं, तर यसपटक हामी निशर्तः सहयोग गर्ने पक्षमा छैनौं, हामीसँग लिखित सहमति हुनुपर्छ।’

आफूहरु अहिले मिसनमा भएकाले सरकारमा जाने कुरा त्यति महत्वपूर्ण नभएको तर्क गर्दै अब बन्ने नयाँ सरकारले मोर्चाले अघि सारेका महत्वपूर्ण माग, आन्दोलनमा घाइते भएकालाई औषधी उपचार गर्ने, मुद्धा फिर्ता लिने, बन्दीलाई तत्काल रिहाई गर्ने, सहिद घोषणा गर्ने र निष्पक्ष न्यायीक छानविन आयोग गठन गर्ने लगायतका माग पूरा गर्ने लिखित प्रतिवद्धता आएमात्रै सरकारमा जानेबारे निर्णय गर्ने कर्णले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार राजीनामा दिएको उपलक्ष्यमा मधेशमा दिपावली भएको समेत कर्णले बताउनुभयो ।

तपाईको प्रतिक्रिया