शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाले पालैपालो सरकारको नेतृत्व गर्दै दुई चरणमा स्थानीय तह, प्रदेश र संघको चुनाव गर्ने लगायतका सहमति भएको बताइएको छ । काँग्रेसमा माओवादीबीच भएको भित्री सहमतिबारे आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काँग्रेसले १३ र माओवादीले ९ मन्त्रालय राख्ने
काँग्रेस–माओवादी बिच गठबन्धन निर्माण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरूपलगायतका विषयमा भित्री सहमति भइसकेको छ । कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा अहिले छलफल चलिरहेको छ । त्यसको टुंगो लगाउने जिम्मा पाएका दुवै पार्टीका दोस्रो तहका नेताहरू अहिले छलफलमा छन् । स्रोतका अनुसार काँग्रेसले १३ र माओवादीले नौ मन्त्रालय राख्ने सहमति भएको छ । बाँकी मन्त्रालय गठबन्धनमा आउने अन्य दललाई दिने सहमति भएको छ ।

संविधान कार्यान्वयन सम्बन्धी सहमति
मधेसी, थारू लगायतका आन्दोलनकारीको मागलाई अधिकतम सम्बोधन गरी संविधान कार्यान्वयन कार्यमा लाग्ने सहमति काँग्रेस–माओवादीको छ । यद्यपि, त्यसका लागि सहमतिका आधारमा सीमांकनलगायतका विषय सम्बोधन गर्न संविधानमा आवश्यक संशोधन गर्न राजनीतिक सहमतिको वातावरण बनाउने सहमति छ । सकभर आन्दोलनरत मधेसी दललाई पनि सरकारमा सहभागी गराई मुद्दाहरूको पनि सम्बोधनको प्रयास गर्ने सहमति दुई दलबीच छ । prachanda-sherbahadur

ओलीले टुक्रयाएका मन्त्रालय जोड्ने
देउवा–प्रचण्डबीच नयाँ सरकारको समीकरण बनाउँदा मन्त्रालय टुक्रयाएर भागबन्डा नलगाउने सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारका क्रममा टुक्रयाएका मन्त्रालयलाई पनि एकै ठाउामा गाभ्ने सहमति दुई नेताले गरेका छन् । ओलीले कृषि मन्त्रालयलाई टुक्रयाएर कृषि र पशुपंक्षी, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्रयाएर वाणिज्य र आपूर्ति मन्त्रालय बनाउनुभएको थियो ।

दुई चरणमा तीन चुनाव
नयाँ संविधानको व्यवस्थाअनुसार आगामी ७ माघ ०७४ भित्र सरकारले तीनवटा निर्वाचन गराउनुपर्नेछ । स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्ने बाध्यात्मक अवस्था संविधानमै छ । काँग्रेस–माओवादीले दुई चरणमा तीनवटै निर्वाचन गराउने सहमति गरेका छन् । स्थानीय तहको एक चरणमा तथा प्रदेश र केन्द्रको एक चरणमा गरी दुई चरणमा निर्वाचन गराउने सहमति छ । एक चरणको निर्वाचन प्रचण्डले र अर्को चरणको देउवाले नेतृत्व गरेको सरकारले गर्ने सहमति दुई दलबीच भएको छ ।

शान्तिप्रक्रियासम्बन्धी सहमति
द्वन्द्वकालका मुद्दालाई संक्रमणकालीन न्यायको मान्यताका आधारमा सम्बोधन गर्ने काँग्रेस–माओवादी सहमति छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्तासम्बन्धी आयोगसाग सम्बन्धित कानुनमा आवश्यक संशोधन गरी लागु गर्ने सहमति दुई दलको छ । सशस्त्र संघर्षका क्रममा मारिएका मृतकका परिवार, बेपत्ता व्यक्तिका परिवार, अंगभंग भएका व्यक्ति र विस्थापित भएका व्यक्तिले पाउनुपर्ने बाँकी रहेको क्षतिपूर्ति रकम उपलब्ध गराउने, सशस्त्र संघर्षको अवधिका जग्गासम्बन्धी विवाद सहमतिका आधारमा समाधान गर्ने सहमति दुई दलले गरेका छन् ।

ओली सरकारले प्रस्ताव गरेको समयमा स्थानीय निर्वाचन नहुने
काँग्रेस–माओवादीबीचको सहमतिले ओली नेतृत्वको सरकारले आगामी मंसिरमा प्रस्ताव गरेको स्थानीय निकायको निर्वाचन नहुने लगभग निश्चित भएको छ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनपछि मात्र स्थानीय निकायको निर्वाचन गराउने विषयमा देउवा–प्रचण्डले सहमति जनाएका छन् ।

तीनवटै चुनावसम्म सत्ता साझेदारी
काँग्रेस–माओवादीले आगामी प्रतिनिधिसभाको निर्वाचनसम्म सत्ता सहकार्य गर्ने गरी सहमति गरेका छन् । त्यसका लागि आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको छ । स्थानीय तहको निर्वाचन गर्दासम्मको नौ महिनाको अवधिमा सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ । त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ । उहाँको नेतृत्वमा प्रदेश र संघको निर्वाचन एकैपटक गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया